हुम्ला । नेपालका पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्ला, डोल्पा, मुगु, मनाङ, बागलुङ, मुस्ताङ लगायतका जिल्लामा आइतबार रातिदेखि हिमपात भएको हो । हुम्लालगायत कर्णाली र बागलुङका उच्च भेगमा भने सोमबार पनि दिनभर हिमपात भएको हाम्रा जिल्ला संवाददाताहरूले जनाएका छन् । निरन्तर हिउँ परेकाले बालबालिका, वृद्धवृद्धा र ज्याला मजदुरी गर्ने मानिसहरू बढी प्रभावित भएका छन् । हिमपातले चिसो बढेपछि ठाउँठाउँमा मानिसहरू आगो बालेर ताप्न थालेका छन् । बजार क्षेत्रमा चहलपहल घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सोही प्रभावले उच्च भेगमा हिमपात र पहाडी जिल्लाहरूमा बर्षासमेत भइरहेको छ । काठमाडौं उपत्यकामा भने सोमबार दिनभर घाम नलाग्दा चिसो हृवात्तै बढेको छ । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ ।
यता, मौसम विभागले अझै केही दिन मौसममा सुधार नआउने जनाएको छ । विभागका अनुसार मंगलबार गण्डकी, कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
हुम्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका-६ को हल्जी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताउनुभयो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उहाँले बताउनुभयो । हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई सेवा पनि प्रभावित बनेको छ । जिल्लाबाहिर जाने यात्रुसमेत सोमबार सिमकोटमै रोकिएका थिए । हिउँ परेपछि यहाँका सरकारी कार्यालयहरू प्रभावित भएका छन् । यसैगरी, विद्यालयहरूमा बालबालिका आउन नसकेपछि पठनपाठन प्रभावित बन्न पुग्यो । उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएको छ ।
यस्तै, मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको छ । यहाँ सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । हिमपात भए पनि सोमबार कार्यालयहरू सञ्चालन भएको सुवेदीले बताउनुभयो । यता, हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले सोमबार साँझबाट लोकमार्ग अवरुद्ध भएको हो । हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौं चल्ने सवारीसाधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि साँझबाट पूर्णरूपमा बन्द भएको हो । हिमपातका कारण ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि सेताम्य बनेको छ ।
चिसोसँग लड्दै भूकम्पपीडित
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको बिजोग भएको छ । घर भत्किँदा त्रिपाल र स्थानीयको शरणमा बसेका पीडितहरू सोमबारको हिमपातसँगै चिसो बढ्दा थप पीडामा परेका हुन् । आगो बालेर रात कटाउन उनीहरू बाध्य छन् । सरकारले उचित व्यवस्थापन गर्न नसक्दा भूकम्पपीडित गत कात्तिक १७ गतेदेखि खुला आकाशमुनिको पालमा बस्न बाध्य छन् ।
त्रिपालमुनि बस्दै आएका जाजरकोट भूकम्पका २२ जना पीडितहरूको चिसोले मृत्यु भएको छ । सम्बन्धित वडा कार्यालयहरूले जनाएअनुसार सोमबारसम्म मात्रै चिसोले २२ जनाको मृत्यु भएको छ । बढ्दो चिसो र असुरक्षित त्रिपालमुनिको बासले वृद्धवृद्धा, सुत्केरी र बालबच्चामा बढी समस्या देखिन थालेको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूले जनाएका छन् । चिसो बढ्दै जाँदा दीर्घरोगीहरू थप पीडामा छन् । हालसम्म जाजरकोटका १९ जनाले ज्यान गुमाएका छन् । यस्तै, रुकुम पश्चिमका तीनजना भूकम्प प्रभावितले पनि चिसोकै कारण ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा एकवर्षे बालिकादेखि ८८ वर्ष सम्मका वृद्धवृद्धा छन् । गत कात्तिक १७ गतेको भूकम्पले घर बस्न योग्य नरहेपछि जाजरकोट भूकम्पका प्रभावितहरू पालमुनि बस्दै आएका छन् । अस्थायी आवास पर्याप्त मात्रामा बन्न नसक्दा भूकम्प पीडितहरूको त्रिपालमै मृत्यु हुने क्रम बढेको छ । भूकम्पले घर पूर्ण रूपमा क्षति भएपछि जिल्ला रेडक्रस सोसाइटी नेपालले दिएको त्रिपाल टाँगेर उनीहरूले त्यसैमा रात बिताइरहेका छन् । चिसोको कारण बालबालिका र वृद्धवृद्धा बढी बिरामी भएको पीडितहरू बताउँछन् ।
किसानमा खुसी
लामो समयपछिको हिमपातले किसानहरू भने खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी बाली र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका हुन् । जेठमा पाक्ने उवा, जौ र गौँ बालीलाई योपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने किसानहरू बताउँछन् । हुम्लाका किसान दल भण्डारीले हिमपात किसानका लागि सुनजस्तै भएको बताउनुभयो । उहाँले लामो समय खडेरी परेको कारण लगाएका विरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब विरुवा हुर्किन सहज भएको बताउनुभयो । हुम्लाकै किसान टक्क शाहीले कात्तिके बाली लगाउन कठिन भइरहेको बेला परेको हिमपातले बिउ छर्न, खनजोत गर्न सहज भएको बताउनुभयो । किसानहरू खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए ।
यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने मुस्ताङका कृषक इन्द्रमान गौचनले बताउनुभयो । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुन नसेकेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष पहिलोपटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था हो, यतिबेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।’ लामो समयको खडेरीपछि हिमपात हुँदा स्थानीय र बालबालिका हिउँमा रमाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच