✍️ पार्वती अधिकारी
प्राविधिक अधिकृत
राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र
स्वस्थ्य माटोको महत्व र माटोका स्रोतहरूको दिगो व्यवस्थापनका विभिन्न पक्षमा प्रकाश पार्नका लागि एक विशेष विषयवस्तुलाई महत्व दिई वकालत गर्ने माध्यमको रूपमा प्रत्येक वर्ष विश्व माटो दिवस डिसेम्बर ५ मा विश्वभर मनाउँदै आइएको छ । यसैनुरूप माटो र पानी : जीवनको थालनी भन्ने मूल नाराका साथ सन् २०२३ को विश्व माटो दिवस मनाइँदै छ । यस वर्षको माटो दिवसको मुख्य सन्देश पृथ्वीमा रहेका जीवहरूको अस्तित्व माटो र पानीबीचको बहुमूल्य अन्तर सम्बन्धमा निर्भर गर्दछ, जुन हाम्रो कृषि प्रणालीको मुख्य आधार स्तम्भ हो ।
विश्व माटो दिवस २०२३ ले दिगो र लचिलो कृषि खाद्य प्रणालीहरू प्राप्त गर्न माटो र पानीबीचको महत्व र सम्बन्धको बारेमा चेतना जगाउने उद्देश्य राखेको छ । माटोसँग सम्बन्धित मुद्दाहरूलाई सचेतना जगाउन र सम्बोधन गर्न विश्वव्यापी प्लेटफर्मको रूपमा यस दिवसले धेरै महत्व राख्दछ । मानव सभ्यतामा माटो र पानीको भूमिका गहिरो र बहुआयामिक छ । यी दुई तत्वहरूले कृषिको प्रारम्भदेखि नै महत्वपूर्ण भूमिका खेलेका छन् । माटो विभिन्न प्राकृतिक र जैविक तत्व मिलेर बनेको हुन्छ । माटो पृथ्वीको एक महत्वपूर्ण आधारभूत प्राकृतिक तत्व हो साथै माटो विशेषगरी कृषिको जग पनि हो । त्यसैगरी पानी सजीव वस्तुहरूका लागि प्राण हो ।
नेपाल कृषि प्रधान देश भएकाले पनि नेपालमा माटो र पानीको महत्व उच्च रहेको छ । यस वर्षको विश्व माटो दिवसको नाराले पनि माटो र पानीद्वारा नै जीवनको सुरुवात हुन्छ भन्ने मूल मर्मलाई लक्षित गरेको छ । यसै सन्दर्भमा माटो र पानी कृषिका लागि अपरिहार्य छ ।
माटो र पानी दुई तत्वहरूको वन, जंगल, बालीनाली, जलवायु, खनिज पदार्थ, जलस्रोत आदि बीच प्रत्यक्ष र एक अर्कामा अन्तरनिहित सम्बन्ध रहेको हुन्छ । नेपाल कृषि प्रधान देश भएकाले पनि नेपालमा माटो र पानीको महत्व उच्च रहेको छ । यस वर्षको विश्व माटो दिवसको नाराले पनि माटो र पानीद्वारा नै जीवनको सुरुवात हुन्छ भन्ने मूल मर्मलाई लक्षित गरेको छ । यसै सन्दर्भमा माटो र पानी कृषिका लागि अपरिहार्य छ भन्ने प्रसंगलाई विशेष प्राथमिकता दिएर यो लेख तयार गरिएको छ ।
यस वर्षको विश्व माटो दिवसले तल उल्लेख गरिएका विभिन्न सन्देशलाई विशेष प्राथमिकतामा राखेको छ । पृथ्वीमा माटो र पानी जीवनका लागि आवश्यक स्रोत हुन् । यी स्रोतहरू एक अर्कामा सम्बन्धित छन्, जसको एकीकृत व्यवस्थापन निकै आवश्यक पर्दछ । माटोको क्षरण, जैविक विविधता, उर्वरता र पानीको गुणस्तर र मात्रालाई अनुचित माटो र पानी व्यवस्थापनका अभ्यासहरूले असर गर्दछ । जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनमा माटो र पानीको संरक्षणले विशेष योगदान पुर्याउँछ ।
माटोले बिरुवाहरूका लागि बासस्थान र पोषक तत्वहरू उपलब्ध गराएर जीवनका लागि आधारको रूपमा काम गर्दछ । जुन खाद्य शृंखलाको मुख्य स्रोत पनि हो । यसले पानीलाई शोषण गरी भण्डारण गर्दछ र उक्त पानीलाई फिल्टर गरेर पानी चक्रलाई नियमित गर्न मद्धत गर्दछ । स्वस्थ्य र उर्वर माटो कृषि प्रणालीको लागि अति नै आवश्यक छ । बाली बिरुवाहरूको वृद्धि र विकासमा यसको विशेष भूमिका रहेको हुन्छ । पानी मानिस, बोटबिरुवा, जनावरदेखि सबै प्रकारका श्वास फेर्ने जीवन भएका सम्पूर्ण जीवहरू साथै अन्य क्षेत्र जस्तै कृषि, सरसफाइ, उद्योग, कलकारखाना, पारिस्थितिकीय प्रणाली सबैतिर असाध्यै महत्वपूर्ण छ । यो जल विज्ञानचक्रको अभिन्न अंग पनि हो ।
माटो र पानीले मानव सभ्यताको विकास र कृषि कर्ममा निर्णायक भूमिका खेलेको हुन्छ । कृषिको प्रारम्भदेखि हालसम्म यी दुई तत्वहरूको भूमिका उल्लेखनीय रहेको छ । हामीले एक्काईसौं शताब्दीका चुनौतीहरूको सामना गर्दा माटो र पानीले भविष्यमा ठूलो भूमिका खेल्ने कुरा स्पष्ट छ ।
माटो र पानी दुवैले मानव गतिविधि, जलवायु परिवर्तन र दिगो कृषि अभ्यासका कारण प्रदूषण, ह्रास, क्षरण जस्ता चुनौतीहरूको सामना गर्दछन् । यी दुवैको महत्व बुझेर दिगो व्यवस्थापनका अभ्यासहरू अपनाउनु वर्तमान र भावी पुस्ताका लागि अति नै आवश्यक भइसकेको छ । माटो र पानी एकअर्कामा गहिरो रूपमा अन्तरसम्बन्धित छन् । तिनीहरूको सम्बन्ध जीवन र पारिस्थितिकीय प्रणालीका लागि महत्वपूर्ण छ । पानी र माटोबीचको अन्तरसम्बन्धको कुरा गर्दा निम्न बुँदाहरू निकै महत्वपूर्ण छन् ।
- सामान्यतया माटोमा पानीको उपस्थिति वा अभावले माटोको भौतिक, रासायनिक र जैविक गुणहरूको निर्धारण गर्दछ ।
- पानी भण्डारण गर्न र बाढीपहिरोबाट माटोको क्षरण रोक्नका लागि पानी शोषण र फिल्टरेसन प्रक्रिया निकै महत्वपूर्ण छ । स्वस्थ्य माटोले पानीको लागि प्राकृतिक फिल्टरको रूपमा काम गरी प्रदूषणलाई नियन्त्रण गर्दछ ।
- पानीले माटोमार्फत बिरुवालाई पौष्टिक तत्व उपलब्ध गराउँछ । फलस्वरुप स्वस्थ्य विरुवाले माटोको संरचना कायम राख्न मद्दत गर्दछ र माटोको क्षरणलाई रोकी माटोमा पोषक तत्वहरू कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछ ।
- माटोको गुणस्तरले प्रत्यक्ष रूपमा पानीको गुणस्तरमा असर गर्दछ । माटोमा रहेका प्रदूषणहरूले पानीको गुणस्तर र पारिस्थितिकीय प्रणालीमा पनि प्रभाव पार्दछन् ।
- जलवायु नियमनमा माटो र पानी दुवैले महत्वपूर्ण भूमिका खेल्दछन् । माटोले कार्वन भण्डारण गरी जलवायु परिवर्तनलाई कम गर्न मद्धत गर्दछ । त्यसैगरी पानीका स्रोतहरूले बढ्दै गएको तापक्रमलाई शोषित गरी मौसमको ढाचालाई प्रभाव पार्दछन् ।
- माटो बिरुवाहरूका लागि पानीको भण्डारमात्र नभई यसले माटोमा भएका प्रदूषकलाई फिल्टर गरेर भूजल रिचार्जका लागि शुद्ध पानी उपलब्ध गराई विश्वव्यापी जलचत्रमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
- माटोको निर्माण हुने प्रक्रियामा पानी एक शक्तिशाली र महत्वपूर्ण शक्ति पनि हो ।
कृषिको समग्र विकासमा स्वस्थ्य माटो अनि जलस्रोत एक महत्वपूर्ण मुद्दा हो । माटोको कटान र क्षय, वन फँडानी आदि जस्ता कारणले गर्दा खेतीयोग्य जमिनको उत्पादकत्व र खाद्य सुरक्षालाई खतरामा पारेको छ । त्यस्तै पानीको अभाव र प्रदूषकले मानव स्वास्थ्य र आर्थिक विकासमा गम्भीर चुनौती खडा गरेको छ । दिगो खेतीसम्बन्धी अभ्यास, पानी संरक्षणका उपाय र नयाँ प्रविधिको विकासमार्फत यी समस्यालाई सम्बोधन गर्ने प्रयास भइरहेका छन् । यी प्रयास सफल भएमा हाम्रो जीवनमा माटो र पानीले खेल्ने महत्वपूर्ण भूमिकालाई बुझ्ने र यसको सम्मान गर्ने कार्यमा वृद्धि भई वातावरणीय सन्तुलन कायम राख्न थप मद्धत गर्दछ ।
अन्तमा माटो र पानीले मानव सभ्यताको विकास र कृषि कर्ममा निर्णायक भूमिका खेलेको हुन्छ । कृषिको प्रारम्भदेखि हालसम्म यी दुई तत्वहरूको भूमिका उल्लेखनीय रहेको छ । हामीले एक्काईसौं शताब्दीका चुनौतीहरूको सामना गर्दा माटो र पानीले भविष्यमा ठूलो भूमिका खेल्ने कुरा स्पष्ट छ । विश्व माटो दिवसले पृथ्वीमा भएका जीवात्माहरूको जीवन दिगो र सहज बनाउन माटोले खेल्ने अमूल्य भूमिकाको सम्झनाको रूपमा कार्य गर्दछ । हामीले स्वस्थ्य माटोको महत्व बुझी दिगो व्यवस्थापनका अभ्यास अपनाएर हाम्रो र भावी पुस्ताहरूका लागि अझ लचिलो र दिगो भविष्य सुनिश्चित गर्न सक्छौं । तसर्थ हामी सबैलाई जोगाउने यो बहुमूल्य स्रोतको संरक्षण र हेरचाह गर्ने प्रतिबद्धता गरेर विश्व माटो दिवस २०२३ भव्यताका साथ मनाऔं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच