काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सर्ने भएको छ । पटक-पटक सर्दै आएको बैठक यसपटक भने ‘पुसको जाडो’ कारण देखाएर सार्ने तयारी भइरहेको नेताहरूको भनाइ छ । पार्टी सभापति शेरबहादुर देउवाले बैठक सार्ने तयारीमा रहेको बताइएको छ । पार्टीका एक पदाधिकारीको दाबीअनुसार पार्टीको अघिल्लो केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नै सभापति देउवाले महासमिति बैठक सार्नुपर्ने धारणा राख्नुभएको थियो । गतसाता धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा पनि चिसोमा महासमिति सदस्यहरूलाई काठमाडौं आउन गाह्रो हुने भन्दै सभापति देउवाले बैठक सार्न प्रस्ताव गर्नुभएको थियो । बैठकमा सहभागी अधिकांश नेताहरू मौन देखिए पनि महामन्त्री गगन थापाले बैठक सार्न नहुने अडान राख्नुभएको थियो । अहिले बैठकको लागि गोदावरीमा हल बुक गरिसकेको अवस्थामा पार्टीभित्र बैठक सार्नेबारे छलफल भइरहेको स्वीकार गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, ‘पार्टी सभापतिसहित पार्टीका साथीहरूबाट पुसको चिसोमा बैठक नगरौँ भन्ने सुझाव आएका छन् । तर, त्यसबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।’ यसअघि आन्तरिक तयारी नपुगेको तथा जाजरकोट भूकम्पलाई कारण देखाएर बैठक सरेको थियो । यसअघि मंसिर १३ देखि १५, मंसिर २९ देखि पुस २ र पुस १६ देखि १९ सम्मका लागि गरी तीनपटक मिति तोकिएको थियो । तर, सभापति देउवाले जाडोको समयमा महासमिति बैठक नगरौँ भन्न थाल्नुभएको संस्थापनइतर एक नेताको दाबी छ । सभापति देउवाले माघको अन्त्य वा फागुनमा महासमिति बैठक गर्न चाहेको निकट नेताहरू नै बताउँछन् ।
पार्टी विधानअनुसार महाधिवेशन नभएको वर्षमा महासमिति बैठक गर्नुपर्छ । यसपटकको महासमिति बैठकलाई ‘नीति महाधिवेशन’का रूपमा गर्ने कांग्रेसले निर्णय गरिसकेको छ । महासमिति बैठकका लागि निर्वाचन समितिले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये २४ क्षेत्र बाहेकमा प्रतिनिधि छनोट गरेको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मंसिर २० गतेसम्म छनोट गर्ने अवधि तोकिए पनि त्यस समयभित्र २४ क्षेत्रमा प्रतिनिधि छनोट हुन नसकेको जानकारी दिँदै भन्नुभयो, ‘हामीलाई आएका नामहरू पार्टीलाई पठाइदिने हो ।
महासमिति प्रतिनिधि आएका ठाउँबाट नाम पठाइदिएका छौँ । प्रतिनिधि छनोट नभएकै कारणले महासमिति बैठक रोकिने अवस्था छैन ।’ महासमितिका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना सहभागी हुने व्यवस्था छ । महासमितिका लागि नीति प्रतिवेदन पेस गर्ने जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री गगन थापा र राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गर्ने तय गरिएको छ । प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएकाहरूबाट महासमिति सार्नुपर्ने कारण नरहेको नेताहरूको दाबी छ । तर, देउवाकै उदासीनताको कारणले महाधिवेशनपछि शक्तिशाली अंग मानिएको महासमितिको बैठक अन्योल परेको छ ।
मंसिर २९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक
पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो । बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । कांग्रेस विधानअनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ । सभापति देउवाले ३७ जनाको कार्यसम्पादन समिति बनाउनुभएको छ । महिनाको एकपटक बस्नुपर्ने कार्यसम्पादन समितिको बैठक विधानअनुसार भने बस्न सकेको छैन ।
अस्थायी आवास निर्माणको दोस्रो चरण आजबाट सुरु
सत्तारूढ दल नेपाली कांग्रेसले जाजरकोटका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउने अभियानअन्र्तगत आजबाट दोस्रो चरण सुरु गरेको छ । जसका लागि जाजरकोट र पश्चिम रुकुममा १० दिन आफ्ना कार्यकर्ता खटाउने भएको छ । अस्थायी आवास निर्माण अभियानको दोस्रो चरणका लागि टोली सम्बन्धित जिल्ला पुगिसकेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेसले अस्थायी घर टहरा निर्माणको दोस्रो चरण आजदेखि पुस ६ गतेसम्म रहने जनाएको छ । मुख्यसचिव पौडेलले भन्नुभयो, ‘यस अवधिमा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली रहनेछन् । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली खटिनेछन् ।’ लुम्बिनी प्रदेशका सबै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङको टोली अस्थायी घर टहरा निर्माणमा खटिने उहाँले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको तर्फबाट एक हजार अस्थायी घर टहरा निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न दोस्रो चरणमा कार्यकर्ता खटाउन लागिएको पौडेलको जिकिर छ । कांग्रेसले गत २२ गतेदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितलाई राहत अभियान थालेको थियो । पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई निःशुल्क निर्माणकार्य गर्ने पौडेलले बताउनुभयो ।
२४७ जनाले लिए समानुपातिक बन्दसूचीबाट नाम फिर्ता
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक बन्दसूचीबाट २४७ जनाले नाम फिर्ता लिएका छन् । ०७९ मा भएको निर्वाचन प्रयोजनका निम्ति बुझाइएको सूचीबाट २४७ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उनीहरूको नाम बन्दसूचीबाट हटाइसकेको छ । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै समानुपातिक उम्मेदवारले सो सूचीबाट नाम फिर्ता लिइरहेका छन् । आयोगले बन्दसूचीमा नाम रहेका व्यक्ति राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो । त्यसपछि सूचीबाट नाम हटाउन नेताहरूले निवेदन दिएका हुन् । हालै मात्र नेपाली कांग्रेसको प्रतिनिधिसभा तर्फको समानुपातिक बन्दसूचीबाट गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना, अब्दुल सतारको नाम फिर्ता भएको छ । उनीहरू राष्ट्रियसभा सदस्य उम्मेदवार बन्न लागेको चर्चा छ । कांग्रेसका उनीहरूसहित कुल ६ जनाको नाम बन्दसूचीबाट हटाइएको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले पनि समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक बन्दसूचीबाट जनता प्रगतिशीलका सबै उम्मेदवारको नाम हटाइएको छ । यस्तै, नेपाल संघीय समाजवादी, राष्ट्रिय मुक्ति आन्दोलनले पनि सूचीबाट अधिकांश नाम फिर्ता लिएको छ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका एक, नेपाल समाजवादी पार्टीका तीन, नेपाल कम्युनिष्ट पार्टीका एक, नेकपा एकीकृत समाजवादीका चारजनाको नाम फिर्ता लिइएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजनाको नाम बन्दसूचीबाट फिर्ता भएको छ । सोही पार्टीका एकजनाको नाम फिर्ताका निम्ति आयोगमा निवेदन दिइएको छ । राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका एक/एक समानुपातिक उमेदवारको नाम पनि बन्दसूचीबाट हटाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच