देशको अर्थतन्त्रका परिसूचकहरू सकारात्मक नभएका तथ्यांक सार्वजनिक हुने गरेका छन् । आमउपभोक्ताको भान्सा महँगो हुँदै गएको छ, जसले गर्दा आमनागरिकले उपभोग गर्ने दैनिक संशाधन र खाद्यपदार्थमा भारी मात्रामा कटौती गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । केही समय पहिला हामीले हालै हाम्रा मुख्य चाडपर्वलाई बिदा गरेका छौं । यसपालि चाडपर्व केन्द्रित सामग्री बजारमा पनि सदाको भन्दा कम बिक्री भएको तथ्यहरू सार्वजनिक भए । यसले के संकेत गर्छ भने हाम्रो क्रयशक्ति कमजोर बन्दै गएको छ । अर्कोतिर बजारमा सटर–कबलहरू भाडा लाग्न नसकेर दिनप्रतिदिन बन्द हुँदै गइरहेको देखिन्छ । यस्तो परिस्थितितर्फ सम्बन्धित निकायको ध्यान भने पुगेको देखिँदैन ।
हाम्रो मुलुकको अर्थतन्त्र सुधार्नका लागि भन्दै धेरै बहस भए तापनि त्यसले सार्थकता पाएको देखिँदैन । मुख्य कुरा त सरकारले उत्पादन क्षेत्रमा लगानी गर्न सकेको छैन एकातिर भने अर्कोतिर सरकारको आर्थिक नीति व्यवसायीमैत्री नभएको पाइन्छ । तर, अर्थतन्त्र सुधार हुन नसक्नुमा प्रमुख कारण राजनीति स्थिरता नभएको सम्बन्धित विज्ञहरूको भनाइ छ । यसबारे गम्भीर बहस हुन आवश्यक छ ।
हाम्रा छिमेकी देश चीन र भारतले आर्थिक विकासमा चमत्कारिक फड्को मारेका छन् । चीन र भारत विश्व अर्थतन्त्रको हिसाबले दोस्रो र पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुकको रूपमा आफूलाई उभ्याउन सफल भएका छन् । आजभन्दा तीन दशकअघि हाम्रैजस्तो अवस्था भएका दक्षिण कोरिया र इजरायल कहाँबाट कहाँ पुगिसके तर, हाम्रो अवस्था जहाँको त्यही हुनुको कारण खोज्न अब ढिला गर्नु हुँदैन । मुख्य कुरा राजनीतिक अस्थिरताका कारण नै हाम्रो विकास हुन नसकेको हो । राजनीतिक अस्थिरता भएका कारण आज हामीले कृषि, औद्योगिक, निर्यात, उत्पादन, वाणिज्य नीतिको कार्यान्वयन गर्न सकेका छैनौं, जसका कारण हाम्रो अर्थतन्त्रले ठीक ढंगले गति लिन सकेन ।
सरकारले रोजगारका अवसर सिर्जनाका लागि उपयुक्त वातावरण बनाउनुभन्दा वैदेशिक रोजगारीमा जान बढी प्रोत्साहन गरेको छ । राज्यले वैदेशिक रोजगारलाई राष्ट्रिय पौरखका रूपमा प्रस्तुत गरेको पाइन्छ । वैदेशिक रोजगारबाट प्राप्त ज्याला मजदुरीका भरमा कुनै मुलुक सम्पन्न भएको छैन भन्ने कुरा सरकारले सोच्नुपर्ने हो ।
यति बेला नेपाली अर्थतन्त्रको सबैभन्दा बलियो आधार भनेको वैदेशिक रोजगार रहेको छ । विदेशमा गएकाले पठाएको रमेट्यिान्सले कहिलेसम्म देश चलाउने ? रेमिट्यान्सको लोभमा युवाशक्ति विदेश पठाएर देश विकास हुन्छ त ? रणनीति परिवर्तन गरी उनीहरूलाई स्वदेशमै उद्यमी बन्ने वातावरण सिर्जना गर्नु आजको मुख्य आवश्यकता हो । आर्थिक विकासका लागि आन्तरिक उत्पादनमा वृद्धि, कृषि क्षेत्रलाई उच्च प्राथमिकता, विकास खर्चमा वृद्धिका साथै पर्यटन तथा जलस्रोतको विकासमा बढी ध्यान दिन जरुरी हुन्छ ।
यसका लागि शासकीय सुधारको आवश्यकता रहेको विज्ञहरू औंल्याउँछन् । आर्थिक विकासको मुख्य बाधकका रूपमा सुशासन र शासकीय सुधार देखिँदै आएको छ । वित्तीय अनुशासन पनि सुशासनकै एक पाटो हो । शासकीय सुधारको अभावले भ्रष्टाचार, वित्तीय स्रोत र साधनको चरम दुरूपयोग, इन्धन, खाद्यान्नलगायत अत्यावश्यक वस्तु तथा सेवामा कृत्रिम अभाव र चरम मूल्यवृद्धिका साथै राज्यले दिने सेवा प्रवाहमा चुस्तदुरुस्त नभएको पाइन्छ ।
हाम्रो प्रमुख समस्या भनेको निर्यात न्यून हुनु हो । स्वदेशमा आम्दानीको अवसर सीमित छ । हाम्रो आन्तरिक माग आयातले धान्ने गरेको छ । हाम्रा सेवा क्षेत्र फस्टाएको भए पनि बेरोजगारीलाई सम्बोधन हुनसकेको छैन । हाम्रो वस्तु तथा सेवाको निर्यात नभए पनि जनशक्तिको भने निर्यात भइरहेको छ । यही जनशक्तिले पठाएको पैसा हाम्रो विदेशी मुद्राको प्रमुख स्रोत भएको छ । यसले उपभोक्तावाद बढाएको छ । नेपालमा उत्पादन नहुँदा जनताले त्यो रेमिट्यान्सको पैसा महँगो र अत्यावश्यक वस्तु खरिद गर्न प्रयोग गरिरहेका छन् । यसलाई रोक्नका लागि स्वदेशी उत्पादमा जोड दिनु आवश्यक छ । सरकारमा बस्नेहरूले सम्भाव्यता खोज्नुपर्छ र देशलाई समृद्ध बनाउनेतर्फ ध्यान दिनुपर्छ । विश्वका केही देशका शासकले आफ्नो देशलाई समृद्ध बनाउन सकेका अनेकौं उदाहरण छन् ।
यसतर्फ ध्यान दिनु राजनीति गर्ने र सरकार चलाउनेहरूको कर्तव्य हो । युवाहरूमा यतिखेर विदेश पलायन रहरभन्दा विवशता भएको छ । राजनीतिक अस्थिरता, रोजगारीको सम्भावना नभएकाले नेपाली युवाहरूका लागि वैदेशिक रोजगार पछिल्लो र एकमात्र विकल्पजस्तो बन्न पुगेको छ । दक्ष जनशक्ति ठानिएका युवा पनि कठिन जोखिम र अस्वस्थकर काम गर्न देशबाहिर जाने गरेका छन् । वैदेशिक रोजगारलाई समाज र सरकारले सहजै स्वीकार गरेको छ । अभिभावकहरू वैदेशिक रोजगारमा आफ्ना छोराछोरी गएको सुनाउँदा आफूहरूलाई निकै गौरवान्वित भएको महसुस गर्दछन् । सरकारले रोजगारका अवसर सिर्जनाका लागि उपयुक्त वातावरण बनाउनुभन्दा वैदेशिक रोजगारीमा जान बढी प्रोत्साहन गरेको छ ।
राजनीतिक दलहरूले जनताको अवस्था परिवर्तन गर्न स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा आ-आफ्नो दुनो सोझाउन उद्धत देखिएका कारण नै देश वर्तमान अवस्थामा आइपुगेको हो भन्ने कुरा दिनको घामजस्तै छर्लंग छ । यति बेला हजारौं युवा विदेशिएका छन् । यसलाई चिर्ने भनेको राजनीतिक दलहरूले नै हो ।
राज्यले वैदेशिक रोजगारलाई राष्ट्रिय पौरखका रूपमा प्रस्तुत गरेको पाइन्छ । वैदेशिक रोजगारबाट प्राप्त ज्याला मजदुरीका भरमा कुनै मुलुक सम्पन्न भएको छैन भन्ने कुरा सरकारले सोच्नुपर्ने हो, सोचेको छैन । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिने युवा जनशक्ति उमेर छउन्जेल विदेशमा बस्छन् र उमेरले डाँडा काटेपछि वा अशक्त भएपछि मुलुकमा फर्कन्छन् । यस्तै स्थिति लामो समयसम्म रहने हो भने मुलुक अधोगतितर्फ लाग्ने निश्चित छ । युवा जनशक्ति विदेशमा पलायन भइरहने हो र अशक्त भएपछि मात्र स्वदेश फर्कने हो भने मुलुकका लागि त्यो बोझ मानिनेछ । मीतको भरमा छोरी पालिँदैन भन्ने उखान लागू हुन्छ ।
विदेशमा कमाएको रकम रेमिट्यान्सले देशको विकास हुन सक्दैन । साँच्चै नै देशको विकास गर्ने हो भने स्वदेशमै रोजगारीको अवसर दिनुपर्छ । दक्ष जनशक्ति युवाहरूलाई उचित व्यावहारिक ज्ञान दिनुपर्छ । सरकारले वैदेशिक रोजगारलाई प्रश्रय दिँदै आएको छ । यसप्रकारको अदूरदर्शी नीतिले राष्ट्रिय अर्थतन्त्र र सामाजिक असन्तुलन पैदा गर्दछ । यस्तै खाले नीति सरकारले अपनाउने हो भने राष्ट्रको विकास हुन सक्दैन । वास्तवमै समृद्ध नेपालको निर्माण गर्ने हो भने दक्ष युवा जनशक्तिलाई स्वदेशमै लगाउनुपर्दछ ।
पृथ्वीको स्वर्गका नामले चिनिने नेपाल राष्ट्रका हामी राजनीतिक कुपात्रका कारण आज यो अवस्थामा छौं । प्रकृतिले हामीलाई अनुपम उपहार त दियो तर त्यसको सही सदुपयोग कुन सकेन । दिनहुँ हाम्रो अर्बाैंको सम्पत्ति बगेर खेर गइरहेको छ । संसारमै दुर्लभ औषधियुक्त जडिबुटी र वनजंगलको भण्डार हामीकहाँ छ । हिमाल र पहाडले आफ्नो गर्भमा लुकाएर राखेका विविध प्रकारका खनिज पदार्थ, ढुंगा तथा बालुवा हाम्रा हीरामोतीका भण्डार हुन् । यसका अतिरिक्त पूर्वको कञ्चनजंघादेखि पश्चिमको व्याससम्म र उत्तरको हिमालदेखि दक्षिणको समथर तराईसम्मको सिंगो नेपाल संसारकै सर्वश्रेष्ठ पर्यटन केन्द्र हो ।
त्यसकारण पर्यटन क्षेत्रले मात्रै नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिन्छ । तर, हाम्रो वर्तमान भनेको आफ्नो सम्पत्तिलाई सदुपयोग गर्न नसकेर भोको पेट र नांगो जिउ देखाउँदै मगन्ते बनेर संसारसामु हात थाप्दै हिँडेको अवस्था छ । यसको कारण के हो ? युवाहरूले यसको कारण खोजी देशको अवस्थालाई काँधमा बोक्ने बेला आएको छ । नत्र भने भावी पुस्ताले हामीलाई माफ गर्ने छैन । नेपालको आर्थिक विशेषता भनेको जल, जंगल, जडिबुटी (कृषि) र पर्यटन हो । यिनै चार क्षेत्रमा आधारित उद्योगधन्दा खोलेर नेपालमा आर्थिक क्रान्ति गर्न सम्भव छ । विदेशबाट कच्चा सामान आयात गरेर सञ्चालन गरिने उद्योगधन्दाबाट नेपालको आर्थिक क्रान्ति हुन सम्भव छैन । नेपाललाई आवश्यक पर्ने अन्य सामग्री विदेशमै उत्पादन भएका मगाउनुपर्दछ र नेपालले निर्यातमुखी उद्योग स्थापना गर्नुपर्दछ । देश विकासका लागि युवा शक्तिको पलायनलाई रोक्न जरुरी छ ।
युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा बढेको छ । गाउँ बस्तीहरू बिस्तारै युवाविहीन अवस्थामा पुगेका छन् । देशमा ठूला-ठूला परिवर्तन भए पनि जनताको पीडा जहाँको त्यहीँ छ । राजनीतिक दलहरूले जनताको अवस्था परिवर्तन गर्न स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा आ-आफ्नो दुनो सोझाउन उद्धत देखिएका कारण नै देश वर्तमान अवस्थामा आइपुगेको हो भन्ने कुरा दिनको घामजस्तै छर्लंग छ । यति बेला देश बर्बाद भयो, अब देश बन्दैन भन्दै हजारौँ युवा विदेशिएका छन् । यसलाई चिर्ने भनेको राजनीतिक दलहरूले नै हो । दलहरूले युवा केन्द्रित कार्यक्रम ल्याउन जरुरी छ । नभए बिस्तारै गाउँ-बस्ती युवाविहीन हुने अवस्थामा पुग्नेछन् । यसतर्फ समयमै सम्बन्धित निकायको ध्यान जाओस् । अर्थतन्त्र सुर्धानका लागि भन्दै हामीले बहस त धेरै गर्यौं तर अब आवश्यक छ ठोस पहलको गर्नुपर्छ । (लेखक भुसाल हिटा उपसम्पादक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच