म्याग्दी । राम्रोसँग उज्यालो हुन नपाउँदै घर नजिकको तरकारी बारीमा पुग्नुहुन्छ राधिका सापकोटा । दरबाङ बजारको पूर्वतर्फ रहेको भिरालो जमिन र पाटोबारीमा बन्दा,गोभी,साग,टमाटर लगाएतका तरकारीको हरियाली छ ।
तरकारी बारीमा पुगेर तरकारी टिप्ने र बिक्रीका लागि बजारसम्म लैजाने व्यवस्था मिलाउन सापकोटा व्यस्त हुनुहुन्छ ।
उता मंगला गाउँपालिकाकी जुना कडेलको दिन पनि तरकारीको स्याहार,सम्हार र गोडमेलमै वित्ने गर्छन । मालिका गाउँपालिका ५ की देवी सिउथानी र बेनी नगरपालिका ३ की टिकाकुमारी पुन यति बेला सुन्तला विक्रीका लागि व्यस्त हुनुहुन्छ । व्यापारीहरु गाडी लिएर सुन्तला खरिद गर्न गाउँमा नै आएपछि यतिबेला म्याग्दीका सुन्तला कृषकहरुलाई सुन्तला विक्री गर्न भ्याइनभ्याइ छ ।
यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय म्याग्दीको कृषि क्षेत्र महिलाहरुको बलबुता र पाखुरीले धानिएको छ । पुरुषहरु वैदेशिक रोजगारका लागि विदेशिने क्रम बढ्दै गएपछि यहाँको कृषि क्षेत्र महिला र प्रौढ पुरुषहरुको जिम्मामा छ ।
म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय व्यवसायिक खेती गर्ने महिलाहरुको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाको कुल खेतीयोग्य जमिनको ६९ प्रतिशत जमिनमा परम्परागत तथा व्यवसायिक खेती गरिएको छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीका मालिका,मंगला र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाका महिलाहरु व्यवसायिक तरकारी तथा फलफूल खेतीमा लागेका छन् भने अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका अधिकाँश महिलाहरु व्यापार व्यवसाय र पशुपालनमा छन् ।
मालिका गाउँपालिका वडा नं १ निस्कोटकी रुपा सुनारले यस वर्ष आलु,सिमी,कोदो र सुन्तला विक्री गरेर रु एक लाख, ९० हजार आम्दानी गरेको बताउनुभयो । उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा हुनुहुन्छ । आफूले फलफूल,तरकारी र अन्न विक्री गरेको पैसाले घरखर्च,छोराछोरीको पढाइ र अन्य भैपरीआउने कामहरु चल्ने भएकोले श्रीमान्ले विदेशमा कमाएको पैसा वचत हुनेगरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय जिल्लाका महिलाहरु तरकारी,फलफूल र पशुपालनमार्फत स्वावलम्वी बन्दै गएको मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरले बताउनुभयो ।
जिल्लाका स्थानीय तहका कृषि शाखाका अनुसार म्याग्दीमा पछिल्लो समय कृषि पेसालाई नै आम्दानीको माध्यम बनाउने र व्यवसायिक रुपमा कृषि पेसामा लाग्ने महिलाहरुको संख्या बढेको छ । मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार गाउँमा महिलाहरुको संख्या धेरै छ । महिलाहरुले नै खेतीपाती र घरधन्दा धानेर बसेका छन् । त्यसैले स्वभाविक रुपमा कृषिमा पनि पुरुषहरुको तुलनामा महिलाहरुको संलग्नता बढी हुने गरेको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ भने पुरुषको संख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता पनि घट्दै गएको छ ।
कृषिमा युवाको संख्या घट्नुको कारण रोजगार र अध्ययनको सिलसिलामा विदेशिनु रहेको राष्ट्रिय कृषि गणनाको तथ्याङ्कमा उल्लेख छ । “युवाहरू विदेशिएपछि त्यसको असर कृषिमा देखिएको हो । युवा जनशक्ति विदेशिएसँगै कृषि क्षेत्रमा महिला र प्रौढहरूको संख्या बढ्नु बाध्यात्मक परिस्थितिको उपज हो” रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो ।
म्याग्दीमा पछिल्ले समय व्यवसायिक खेतीमा महिलाहरुको सहभागिता आशा लाग्दो गरि बढेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सन्जीव बाँस्तोलाले बताउनुभयो । प्रमुख वास्तोलाका अनुसार विगत १० वर्षको तुलनामा जिल्लामा फलफूल र तरकारी उत्पादन २० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ भने यसबाट महिलाहरुको आम्दानी पनि बढेको छ ।
जिल्लामा ५५ प्रतिशतभन्दा बढी टुक्रे जग्गा भएकाले किसान परिवार बढेको र कृषियोग्य जमिन घटेको उहाँले बताउनुभयो । जमिनको कित्ताकाट र किसान परिवार बढेको देखिएको उहाँको भनाइ छ ।
“महिला र प्रौढ उमेरका पुरुषहरु मात्रै खेतीपातीमा छन्,युवा पुस्ताको आकर्षण कम छ” जिल्लाका अगुवा कृषक चन्द्रवहादुर कार्कीले भन्नुभयो । २०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा मुनि उमेर समूहका मुख्य किसानको हिस्सा ४.२ प्रतिशत थियो भने ०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा १.६ प्रतिशतमा झरेको छ । एक दशकमा २५ देखि ३५ वर्ष उमेर समूहका कृषकहरू २२.१ प्रतिशतबाट घटेर १२.९ प्रतिशतमा झरेको देखिएको छ । त्यसैगरी ३६ देखि ४६ वर्ष उमेर समूहका किसानको संख्या पनि घटेको गणनाले देखाउँछ ।
जिल्लामा पछिल्लो समय खाद्यान्न बालीमा भन्दा नगदेवालीमा आकर्षण बढेको देखिएको छ । तरकारी,फलफूल, बेमौसमी खेती जस्ता तत्कालै आयआर्जन हुने खेतीमा यहाँका महिलाहरुको आकर्षण बढेको कृषि प्राविधिकहरुले बताएका छन् ।
गाउँमा पुरुष कृषि मजदुर पाउन कठिन हुन लागेको बेनी नगरपालिका २ का क्षेत्रबहादुर कटुवालले बताउनुभयो । “गाउँमा काम गर्न सक्ने उमेरका पुरुष नै छैनन्,सबै अध्ययन र रोजगारीका लागि विदेश वा सहरतिर छन् । यहाँको कृषि क्षेत्र महिलाको बलबुतोमा थामिएको छ” उहाँले भन्नुभयो ।
तस्वीर सौजन्य : कमल खत्री र हरिकृष्ण गौतम
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच