काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको मुद्दा दायर गरेकी गौशाला २६ (प्रहरीले दिएको नाम) को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।
ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेहरुको खोजी भइरहेको छ । ब्युरोका अनुसार उजुरी आएको र छानबिन समेत भइरहेको छ ।
पछिल्ला केही दिनदेखि गौशालाको तस्बिरहरु सामाजिक सञ्जालमा देखिन थालेका छन् ।
गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४ को दफा २९४, दफा २९) समेत र कम्प्युटर सम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी समेत दिएकी छन् ।
काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गरी सजाय निर्धारण गरेको छ ।
पुस १३ गते ‘गौशाला–२६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो ।
अदालतले लामिछानेलाई आठ वर्ष कैद रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको छ ।