काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले यसै वर्ष साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको आपत्कालीन समिति बैठकले प्रतियोगिताका लागि टोली पठाउने निर्णय गरेको हो । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ । प्रतियोगितामा नेपाली टोली आमन्त्रित टोलीमध्ये एक हुनेछ ।
वाफ महिला च्याम्पियनसिप पश्चिम एसियाली फुटबल महासंघद्वारा आयोजित प्रतियोगिता हो । जोर्डनले यस प्रतियोगिताको पाँचपटक उपाधि जितेको छ भने युएईले दुईपटक जितेको छ ।
जोर्डन, लेबनान, इराक, प्यालेस्टाइन, साउदी अरेबिया, सिरिया र गुआम यसअघि नै सहभागी हुने पक्का भइसकेको छ । गुआमपछि नेपाल दोस्रो आमन्त्रित टोली हुनेछ । गुआम पूर्वी एसियाली फुटबल महासंघ (इएएफएफ) को सदस्य हो ।
आठ टोलीलाई चार टोली गरी दुई समूहमा विभाजन गरिने आँकलन रहेको छ । २०२२ मा भएको पछिल्लो संस्करणमा चार टोलीमात्र सहभागी थिए । सो संस्करण राउण्ड रोबिन पद्धतिमा खेलाइएको थियो । घरेलु मैदानमा शतप्रतिशत जितसहित जोर्डनले प्रतियोगिता जितेको थियो ।