प्रयोगमा आएन रास्कोटको नमुना बस्ती

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका-७ पोखरीकोटमा निर्माण गरिएको नमुना बस्ती सञ्चालनमा आउन सकेको छैन । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमुना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् । विसं २०७८ को बाढीपहिरोले रास्कोटका जोखिममा परेका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमुना बस्ती निर्माण गरेको थियो । निलो जस्तापाताले सिँगारिएका एकनासका घरहरू आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती रहेको स्थानीय नवराज शाहीले बताउनुभयो ।

‘विसं २०७७/७८ मा बाढीपहिरोबाट पीडितका लागि प्रदेश सरकारले पहिलोपटक एकीकृत नमुना बस्तीको अवधारणा ल्याएको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले बाढीपहिरोपीडित पुरानै जोखिमका घरमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लगाइएका छन् ।’ पहिरोले पूर्णरूपमा क्षति पुर्‍याएका ७३ परिवारका लागि आवास बनाइएकोमा अहिले उक्त बस्तीमा १६ परिवारमात्र बस्ने गरेको नगरपालिकाले जनाएको छ ।

रास्कोट १, ३ र ७ का बाढीपहिरोपीडितलाई आवास निर्माणका लागि प्रदेश सरकारले पाँच करोड बजेट छुट्याएर सोही रकमबाट बस्ती निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताउनुभयो । ‘एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच थियो तर त्यो सफल हुन सकेन,’ उहाँले भन्नुभयो, ‘खानेपानीलगायत केही भौतिक संरचना निर्माण गर्न बाँकी रहेकाले पीडित बस्न मान्नुभएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *