काठमाडौं । दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक तरंगित भएको छ । पूर्वराजा शाहले दरबार हत्याकाण्डले ‘आफ्नो परिवारमाथि घातक प्रहार भएको’ गुनासो गरेपछि गणतन्त्रवादी दलका नेताहरू उहाँविरुद्ध खनिन थालेका हुन् । पूर्वराजाले वक्तव्य जारी गर्दा मात्रै बहसमा उत्रिने नेताहरू हत्याकाण्डबारे मुखै खोलेपछि प्रतिकारमा उत्रिएका छन् । प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्म प्रतिकारमा उत्रिएका हुन् ।
पूर्वराजा शाहले शनिबार विराटनगर पुगेर ‘२०५८ मा घटेको विनाशकारी घटनालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको’ उहाँको भनाइ थियो । ‘सत्य सधैँ सत्य हुन्छ, असत्यको विजयी कहिल्यै हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिइरहेको छौँ,’ उहाँले भन्नुभएको थियो, ‘यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’
उसो त अहिले दरबार हत्याकाण्ड सम्झिनुपर्ने कुनै सन्दर्भ छैन । २०५८ जेठ १९ गते साँझ राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहसहित उहाँको वंश नाश भएको थियो । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार नीराजन, राजकुमारी श्रुतिलगायत अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।
हत्याकाण्डबारे प्रायः त्यही मिति वरिपरि मात्रै चर्चा हुने गरेको थियो । तर, यसपालि भने बेमौसममा दरबार हत्याकाण्डको बहस छेडिएको छ । जसको सुरुवात स्वयं पूर्वराजा शाहले गर्नुभएको थियो । राजतन्त्रका पक्षमा विभिन्न पक्षले आन्दोलनको तयारी गरिरहँदा पूर्वराजाबाट आएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिइएको छ । आन्दोलनको तयारीले झस्किएका दलहरू शाहको अभिव्यक्तिले थप सशंकित भएका छन् । वर्तमान व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको बताउनुले प्रमुख दलहरूले शाहको अभिव्यक्तिमाथि खरो टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजाले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको आरोप लगाउनुभएको छ ।
यस्तै, प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त झन् दरबार हत्याकाण्डको छानविन गर्ने पुनः दोहो¥याउनु भएको छ । उहाँले यसअघि पनि पटक-पटक दरबार हत्याकाण्डको छानविन गर्ने बताउँदै आउनुभएको थियो ।
करिब २३ वर्षअघि उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । तर, त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् । त्यसपछि घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । बेलाबेलामा हत्याकाण्डको छानविन गर्ने चर्चा भने हुँदै आएको छ । तर, त्यो गर्नका लागिभन्दा पनि राजनीतिक ‘स्टन्ट’का रूपमा मात्रै आउने गरेको छ ।
भाषणमै सीमित प्रचण्डले बारम्बार दोहो¥याउने छानविन
प्रधानमन्त्री ‘प्रचण्ड’ले बारम्बार दरबार हत्याकाण्डको छानविन गर्ने विषय उठाइरहनु हुन्छ । उहाँ तीनपटक प्रधानमन्त्री हुँदा तीनैपटक हत्याकाण्डको छानविन गर्ने विषय उठाउनुभयो । तेस्रो कार्यकालमै उहाँले दुईपटक यो विषय उठाइसक्नु भएको छ । पूर्वराजा शाहको अभिव्यक्तिपछि सोमबार पुनः हत्याकाण्डको छानविन गर्ने दोहोर्याउनु भएको छ । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताउनुभएको हो । प्रधानमन्त्रीले हत्याकाण्डको छानविन गर्ने बताएको यो पहिलोपटक भने होइन । गत जेठ ४ गते पनि दरबार हत्याकाण्ड छानविनको विषय उठाउनुभएको थियो । ‘विगतका सबै वीभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानविन हुनुपर्दछ । चाहे त्यो गौरको केस होस्, चाहे त्यो भयानक दरबार हत्याकाण्ड । नेपालको इतिहासकै सबैभन्दा वीभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानविन हुनुपर्दछ,’ गत जेठ ४ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभएको थियो । त्यसअघि पनि उहाँले सोही कुरा दोहोर्याउनु भएको थियो ।
दोस्रोपटक प्रधानमन्त्री हुँदा (२०७३ पुस ९ गते) पनि उहाँले दाङको घोराही पुगेर उच्चस्तरीय आयोग बनाई दरबार हत्याकाण्ड छानविन गर्ने बताउनुभएको थियो । ‘मैले पहिलोपटक प्रधानमन्त्री हुने बेला नै दरबार हत्याकाण्डको छानविन हुनुपर्छ भनेको हुँ, नारायणहिटी सर्वसाधारणका लागि खुला गर्ने क्रममा मैले जुन अभिव्यक्ति दिएको थिएँ, त्यहीअनुसार सरकारले यो हत्याकाण्डको पनि उच्चस्तरीय आयोग बनाएर छानविन गर्छ,’ प्रचण्डले भन्नुभएको थियो । त्यसअघि २०६५ फागुन १४ गते नारायणहिटी दरबार संग्रहालयको उद्घाटनका दिन पनि प्रचण्डले दरबार हत्याकाण्ड छानविनको कुरा उठाउनुभएको थियो । तर, तीनपटक प्रधानमन्त्री भइसक्दासमेत उहाँले पटक-पटक छानविनकै विषय उठाइरहनु भएको छ । घटनाको वास्तविक छानविन गर्नेभन्दा पनि राजनीतिक खपतका लागि उहाँले बारम्बार यस्ता अभिव्यक्ति दिँदै आउनुभएको छ ।
देशले छिट्टै निकास पाउनेछ : प्रसाईं
राजतन्त्र फर्काउने अभियानमा लाग्नुभएका व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्नुभएको छ । नेपाली जनताको मुक्तिको लागि भन्दै आन्दोलन गरिरहनु भएका प्रसाईंले पूर्वराजा शाहसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्नुभएको हो । पूर्वराजासँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्दै प्रसाईंले देशले छिट्टै निकास पाउने बताउनुभएको छ । ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताबाट देशले छिट्टै निकास पाउनेछ, धैर्य गर्नुहोला !’, प्रसाईंले फेसबुकमा लेख्नुभएको छ । लघुवित्त पीडितको ऋण मिनाहा गरेर न्याय दिलाउन भन्दै केही समयअघि प्रसाईंले आन्दोलन गर्नुभएको थियो ।
मंसिर ७ गते काठमाडौं केन्द्रित आन्दोलन गर्नुभएका प्रसाईंले फागुन १ देखि निर्णायक आन्दोलन गर्ने बताउँदै आउनुभएको छ । प्रसाईंसँग आइतबार मात्रै चर्चित बलिउड नायिका मनीषा कोइरालाले पनि भेटवार्ता गर्नुभएको थियो । कोइराला पनि राजतन्त्रको पक्षमा देखिनुभएको छ ।
हत्याकाण्डबारे अनर्थ कुरा गर्नुको औचित्य छैन : राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर जबराले आफूलाई गणतन्त्रवादी भन्ने दलका नेताहरू राजाको माहोल देखेर डराएको बताउनुभयो । हत्याकाण्डबारे यसअघि नै सबै कुरा आइसकेकाले अनर्थ कुरा गर्नुको औचित्य नरहेको उहाँको दाबी छ । ‘देशैभर राजाको ग्राफ बढेको छ । राजा जहाँ जान्छन्, हजारौँ मानिस भेला हुन्छन्, नेता जहाँ जान्छन्, ढुंगा खाने स्थिति हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसबाट गणतन्त्रवादी भन्ने दलका नेताहरू डराएको देखिन्छ ।’ राजतन्त्रको पक्षमा जनतामा आकर्षण बढेको समयमा पूर्वराजाले दरबार हत्याकाण्डको भ्रम निवारण गर्न खोजेको उहाँले तर्क गर्नुभयो ।
एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि हालतमा एकदलीय तानाशाहीमा जान नसकिने बताउनुभएको छ । केन्द्रीय परिषद्को बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान नसकिने बताउनुभएको हो । ‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलव एकदलीय तानाशाहीमा जानु हो,’ उहाँले भन्नुभयो, ‘हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दै छौँ । बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन । त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौं ।’
दरबार हत्याकाण्ड भयानक षड्यन्त्र : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्डबारे पूर्वराजा शाहले दिएको अभिव्यक्तिको प्रतिकार गर्नुभएको छ । शनिबार शाहले अभिव्यक्ति दिएपछि आइतबार नै अध्यक्ष ओलीले प्रतिकार गर्नुभएको हो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको बताउनुभयो । दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको उहाँको भनाइ थियो । ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य ग¥यो । राजतन्त्र समाप्त गर्यो ।’ हत्याकाण्डको जाँचबुझ आयोगले मुख्य जिम्मेवार ठह¥याएका दीपेन्द्रलाई ओलीले ‘विचरा’ को संज्ञा दिनुभयो । ‘दरबार हत्याकाण्ड राजनीतिक दलहरूले गरेको होइन । यति भन्न सकिन्छ विचरा दीपेन्द्र ! नेपालीहरूले विवेक गुमाउनु हुँदैन । दीपेन्द्र आफैँ मरेर मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ?,’ ओलीले भन्नुभयो, ‘अगाडि-पछाडिबाट उसैले गोली हान्छ, तीन-तीनवटा राइफल एउटा पेस्तोल एकैजनाले बोकेर कुद्छ, यस्तो कुरा पनि पत्याउने ?’ ओलीले ज्ञानेन्द कुशको मात्र राजा रहेको टिप्पणीसमेत गर्नुभयो । ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन । बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ उहाँले भन्नुभयो, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच