खिम्ती २ जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशत

नबराज सिवाकोटी
Read Time = 5 mins

दोलखा । दोलखा जिल्लामा निर्माणाधिन ४८ दशमलव ८ मेघावाटको खिम्ती २ जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माण भइरहेको सो आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको हो ।

आयोजनाको बाँध, सुरुङ, विद्युत गृहलगायतका सबै संरचनाहरुमा समान रुपमा तिब्र गतिमा काम भईरहेको अयोजनाका जनसम्पर्क अधिकृत हरिशरण अधिकारीले जानकारी दिनुभयो । २०८१ साल भित्रमा काम सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई रहेको छ । आयोजनाको भौतिक प्रगति ७० प्रतिशत भन्दा बढी पुगेको उहाँको दावी छ ।

हाल आयोनाको बाँध सुरुङ, विद्युत गृह, पेनस्टक जडानलगायतका कामहरु द्रुत गतिमा भइरहेको छ । ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती-२ जलविद्युत आयोजनामा मुख्य सुरुङ, भर्टिकल साफ्ट (ठाडो सुरुङ) तथा काम गर्नका लागि विभिन्न स्थानमा सहायक सुरुङसहित आठ हजार ३०५ मिटर सुरुङ निर्माण गर्नुपर्दछ ।

अब करिब एकहजार छ सय ९० मिटर सुरुङको निर्माणको काम मात्र अव बाँकी रहेको आयोजनाले जनाएको छ । हाल हेडवक्स अन्तर्गत बाँध तथा डिसेल्टीङ (बालुवा थिग्राउने पोखरी) को काम द्रुत गतिमा भइरहेको छ । यसैगरी सुरुङको काम पनि एकैसाथ भइरहेको आयोजनाको भनाई रहेको छ । यस्तै सुरुङ भित्र पेनस्टकको काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको सुरुङमा कुल एक किलोमिटर पेनस्टक पाइप जडान गर्नु पर्ने हुन्छ । पेनस्टक आयात गर्न समय लाग्ने भएकोले विद्युत गृृह निकट स्टिल पाता ढुवानीगरी पेनस्टक निर्माणको कार्य तिब्र गतिमा भइरहेको छ । विद्युतगृह भवन निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । विद्युत गृह निर्माण सम्पन्न भएपछि विद्युत गृहमा जेनेरेटरलगायतका उपकरणहरु जडानको काम सुरु हुने बताइएको छ ।

पिपुल्स इनर्जि लिमिटेड प्रवर्धक रहेको आयोजनाको सिभिल संरचनाको काम हाईहिमाल हाइड्रो कन्सट्रक्सन, हाइड्रो मेकानिकलको काम क्रिम हाईड्रो पावर तथा गेट निर्माणको काम गेट सिविएम नामक भारतीय कम्पनीले गर्ने छ । यस्तै ईलेक्ट्रो मेकानिकलको काम अष्ट्रियन कम्पनी ग्लोवल हाइड्रोले गर्ने जनसम्पर्क अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

जिरी नगरपालिकाको धारापानीमा हेडवक्स रहेको खिम्ति खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको विद्युतगृह भने तामाकोशी गाउँपालिका वडा नम्बर सात पलाँतेमा निर्माणाधिन रहेको छ ।

हेडवक्सबाट सुरुङ तथा पेनस्टकमार्फत विद्युत गृहमा पानी पठाई तीनवटा जेनेरेटरमार्फत विद्युत उत्पादन गरिने आयोजनाको भनाई छ । आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहबाट दुई किलोमिटर टाढा रहेको रामेछाप जिल्लाको भिमसेनथानसम्म प्रसारण लाईनको निर्माण गरी गर्जाङ-खिम्ति १३२ केभी प्रशारण लाईन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । आयोजनाको अनुमानित लागत ८ अर्ब ६४ करोड रहेको छ । आयोजनामा सानिमा बैंङ्कको नेतृत्वमा विभिन्न बैंङ्कहरुले ऋण लगानी गरेका छन् । यो आयोजना रन अफ रिभर प्रणालीमा आधारित आयोजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?