काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको छ । बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अर्धवार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उहाँले लामो समयदेखि डम्पिङ साइटमा थन्किएका मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको हो । बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका मोबाइल भ्यान खरिद गरेको थियो । करिब २४ करोडमा खरिद गरिएका भ्यान प्रयोगविहीन अवस्थामा खाद्य प्रविधि विभागमा अलपत्र परेका छन् ।
मोबाइल भ्यान सञ्चालन गर्नुपर्ने कारणसहित कडारूपमा प्रस्तुत हुनुभएका मन्त्रीले भन्नुभयो, ‘तेस्रोपटक भन्दै छु, मोबाइल भ्यान तत्काल सञ्चालन गर्नुस् । यो भ्यान कुनै पनि तरिकाले सञ्चालन गर्नुपर्नेछ । चलाउन नसके हात उठाऔँ, अर्को व्यवस्था हुन्छ नत्र जसरी हुन्छ चलाऔँ । राम्रो काम गर्दा चुनौती आए सामना गर्न तयार हुनुपर्छ, डराउनुपर्दैन ।’
मन्त्री भुसालले चलाउन नसक्ने भए किन चलाउन नसकिने आधार प्रस्तुत गर्न निर्देशन पनि दिनुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै गत वर्ष पनि उहाँले विभागको समीक्षा गोष्ठीमा मोबाइल भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । निर्देशनको पालना भएन । पटक-पटक भ्यान सञ्चालनका लागि मौखिक निर्देशन दिए पनि भ्यान सञ्चालन हुने नदेखिएपछि बिहीबार पुनः मन्त्री भुसालले निर्देशन दिनुभएको हो ।
शुक्रबार मोबाइल भ्यान सञ्चालनका लागि मन्त्रालयमा मन्त्रीसहित मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशकसहितको छलफल आहृवान भएको छ । उक्त छलफल मोबाइल भ्यान सञ्चालनमा केन्द्रित रहने जनाइएको छ ।
त्यस्तै, मन्त्री भुसालले विभागले सम्पादन गरेको कामप्रति त्यति धेरै सन्तुष्ट नभएको बताउनुभयो । उहाँले समीक्षामा प्रस्तुत विषयभन्दा अझ बढी काम गर्न सकिने उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । प्रगति विवरण अर्धवार्षिकरूपमा नभएर मासिकरूपमा सार्वजनिक गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘विभागभित्र प्रगति पेश गरेर जनताले सुन्दैनन्, अब मासिकरूपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताबीचमा लैजानुस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच