जुन विचारलाई हामी एक पलको लागि पनि आफ्नो मनमा स्थान दिन चाहँदैनौँ ती व्यक्तिहरूसँग हाम्रो निरन्तर सम्बन्ध अनेक तवरले भइ नै रहन्छ । तिनीहरूले बारम्बार आफ्नो भ्रमपूर्ण विचारहरू हाम्रो दिमागमा चारैतिरबाट घुसाउँछन् र हरेक पल हामीले पछ्याउन चाहने विचारलाई क्षणभरमा भङ्ग गराउँछन् । तिनीहरूका विचारहरू चाहेजस्तोसुकै होउन् तर उनीहरुले हामीलाई उही अर्थहीन विचारहरू सोच्न बाध्य बनाउँछन् । तन्त्रै तन्त्रद्वारा गुज्रिरहेको राष्ट्रमा दृश्य वा अदृश्य रुपमा रहँदै आएको यस्तो परतन्त्रताबाट मुक्त हुने केही उपाय छ ?
यो केवल एक व्यक्तिको मात्रै प्रश्न होइन । किनकि हामी हाम्रो दैनिक व्यवहारमा प्रष्टसँग बोध गर्न सक्छौं कि प्रत्येक १०० व्यक्तिहरूमध्ये १० व्यक्ति विरोधी विचारधारा भएका व्यक्तिहरू हुन्छन् । यदि त्यस्ता व्यक्तिहरूसँग जब हामी सम्पर्कमा आउँछौं तब आफ्नो स्वविचारलाई स्थापित गर्न अन्य विचारलाई खण्डन गर्दै शब्द तथा क्रियाकलापद्वारा हामीमाथि विरोधी विचारधाराको छाप छोडेरै जान्छन् । कतिपय साथीहरू निषेधात्मक विचारका हुन्छन् जसको संगत मात्रले पनि अन्तस्करणका पीडा, चिन्ता, निराशा तथा अशान्तिको विचार आन्दोलनको आवाज महसुस गर्न सक्छौँ जसले गर्दा हाम्रो उत्साह बिस्तारै भङ्ग हुँदै जान्छ, मुटु छिया छिया हुन्छ, र अन्तमा साहसीन हुन्छौँ। बारम्बार अरूको अनावश्यक विचार स्वीकार गर्नाले हाम्रो मनोवृत्ति ग्रहणशील हुन जान्छ । यसको असरले गर्दा मन कमजोर हुँदै जान्छ, अनियन्त्रित हुन्छ तब हामीसँग शान्तिपूर्वक सोच्ने शक्ति नै रहँदैन र दिमाग अरुको विचारबाट विचलित हुन्छ ।
यसको एउटै मूल कारण हो हामीमा दृढ संकल्पको कमी । यदि कुनै व्यक्तिमा दृढ संकल्प छ भने संसारमा कुनै त्यस्तो शक्ति छैन जसले उसको विचार वैधतालाई बदल्न सकोस् । दृढ संकल्प लिएर हिँडेको व्यक्तिको बन्धनको लागि समाजमा त्यस्तो कोहि पनि छैन जसले उक्त बन्धनको उत्तरदायी लिन सकोस् । प्रत्येक मानिसमा आफ्नो स्वतन्त्रताको हक छ तैपनि मानिस अरुको विचारको गुलाम रहन्छ भने यसमा दोष कसको ?
मानिसहरु प्रायः निद्रावस्थामा देखेका सपना भित्र सफलता खोज्ने गर्छन् । वास्तविक सफलता त पसिना र आँसुका थोपा भित्र लुकेको हुन्छ, हातका ठेलाहरुमा अनि निधारका रेसाहरुमा लुकेको हुन्छ । निरन्तरताको गति भित्र छिपेको हुन्छ । दृढ संकल्पको अडान भित्र अदृश्य रुपमा जमेको हुन्छ । सपनाले तपाईलाई एउटा कल्पनाको बिन्दुमा पुर्याउन सक्छ तर संकल्पले त्यो बिन्दु सम्म जाने सहज बाटोको तय गर्दछ । त्यसैले सपनामा डुब्नुस् तर एकल होईन,एउटा दृढ संकल्पको साथमा।
कोही आफ्नो वर्तमान विचार प्रतिबन्धात्मक अवस्थाबाट छुटकारा पाउन चाहन्छ भने ऊ त्यही क्षण उक्त बन्धनबाट मुक्त हुन सक्छ । प्रत्येक मानिसभित्र यस्तो शक्ति छ जसले आफूभित्र रहेको दुर्बल इच्छाशक्तिलाई प्रबल बनाउन सक्छ । मानव जीवनलाई यही प्रसङ्गमा विश्लेषण गर्दा हामी नजिक वा टाढा बस्ने तथा जससँग हामी अन्तरक्रिया गर्छौं ती व्यक्तिहरूको विचारबाट हामी प्रभावित छौं भन्ने कुरा स्पष्ट हुन्छ । जबसम्म हामी हाम्रो वर्तमान निकृष्ट अवस्थालाई बदल्ने प्रयास गर्दैनौं तबसम्म हामी अन्य व्यक्तिको विचारको दास बनिरहनेछौं । यदि मानिस स्वतन्त्र बन्न चाहन्छ भने उसले आफ्नो मनबाट व्यर्थका विचारहरू हटाउनु पर्दछ र आफ्नो मनमा एक विशेष प्रकारको मानसिक शक्ति सिर्जना गरी आफ्नो इच्छा अनुसारको जीवन निर्माण गर्नुपर्दछ । मनोविज्ञान विज्ञहरूले पनि मानव मस्तिष्कका कोशिका (Brain cells) वा प्वालहरू ६० दिनमा पूर्णरुपमा परिवर्तन गर्न सकिने प्रमाणित गरिसकेका छन् ।
एक व्यक्तिको आन्तरिक दुःख पीडा दोस्रो व्यक्तिले निर्मूल बनाउन सक्दैन । शान्ति खोज्न बाहिर जानै पर्दैन आफूभित्र नै शान्तिको घडा छ। उक्त शान्ति अरुले दिन सक्दैन आफै लडेर प्राप्त गर्ने हो । तसर्थ यो कुरा याद राख्न जरुरी छ कि तपाईं आफ्नो विचारलाई अरुको सम्पत्तिमा प्रतिस्थापन गर्नुहुन्छ वा अरुको विचार अनुसार आफ्नो जीवन व्यवहार चलाउँदै हुनुहुन्छ भने तपाईंमा इच्छाशक्ति वा दृढ संकल्पको कमी छ । जो मानिस आफ्नो संकल्प बदलिरहन्छ वा हावा चलेको ठाउँमा उड्न खोज्दछ भने उसको मन आकाशको बादल जस्तै चञ्चल हुन्छ। उसको निर्णय गर्ने सामर्थ्य कमजोर हुँदै जान्छ र उसको जीवनको उद्देश्यले सफलताको चुचुरो चुम्न असमर्थ हुन्छ ।
सफलताको कारण नै दृढ निश्चयी हुनु हो । तपाईँको सुविचार तथा संकल्पको ठिक विपरीत विचार र त्यस्तो भावना बोकेका मानिसहरूद्वारा पर्ने प्रभाव मेरो अन्तस्करणमा कहिल्यै अंकित हुने छैन भन्ने अठोटका साथ आफूलाई बलियो बनाउनुहोस् । अनावश्यक कुराको बारेमा सोच्न छोड्नुहोस् अब उप्रान्त के चाहिन्छ भन्ने बारे थप सोच्नुहोस् ।
जब हाम्रो मन कुनै विषयमा गहिरो सोचमा मग्न हुन्छ तब हामी नजिकै बसेर चर्को स्वरमा बोलिरहेको व्यक्ति वा वस्तुको आवाज केही सुन्दैनौँ । यो कुरा हामी सबैले राम्ररी अनुभव गरेका छौँ । यसलाई योगको भाषामा 'ध्यान' भन्ने गरिन्छ । ठिक यसरी नै आफू र आफ्नो लक्ष्यलाई आफ्नै अन्तरात्मामा प्रवेश गर्ने तथा गराउने अभ्यास गर्नुहोस् तब कुनै हालतमा पनि अयोग्य विचार सुन्न सक्नुहुने छैन ।
यदि कुनै व्यक्ती संग क्रोधीत भइन्छ र त्यही व्यक्ति नजिक आएर बोल्न खोज्दैछ भने त्यस बखत प्रयोग गरिने भाषाद्वाराले पनि मनलाई शान्त पार्न सकिन्छ । जस्तो कि - "उता जाउ ", "यहाँ बाट गइहाल" "तिम्रो लागि यो मन मुटुमा ठाउँ छैन..." यस्ता प्रकारले पटकपटक अनावश्यक बिचारहरुलाई घच्घचाइरहनु पर्छ । शरीरको कुनै अंग वा मस्तिष्कमा कुनै रोग वा विकार भएमा यस प्रकारको चिन्तन वा विचार प्रवाहले रोग स्वतः निको हुन्छ । त्यो ठाउँमा शुद्ध रगतको छिटो परिसंचरण हुन्छ। यो भावनालाई बलियो बनाउनुहोस् कि तपाईको दिमागमा एक कपालको चौडाइ पनि खाली ठाउँ छैन जहाँ अरूको नकारात्मक विचारहरू जम्मा हुन सकोस् । मनोविज्ञानको यो अचूक सिद्धान्त हो कि बारम्बार भनिएको केही कुरा एक दिन सत्यमा परिणत हुन जान्छ ।
उदासीनता, आलस्यता, क्रोध, र कमजोरी आदिको फलस्वरूप नै दु:ख हो । जब धेरै दुःख हुन्छ तब मात्र ईश्वर नजिक हुन्छ। दु:ख र बन्धनबाट मुक्त हुने एउटै उपाय छ - आफ्नो अन्तर्मुखी अवस्थामा डुब्नु । अर्थात् अन्तस्करणतर्फ उन्मुख हुनु या मनलाई आफैँमा वा आफूभित्रै केन्द्रित गर्नु । तब यो संसारको कुनै पनि शक्तिले तपाईंको अन्तरात्मालाई छुन सक्दैन अनि मात्र उक्त पिडाको मुक्ति निश्चित हुन्छ र कसैको आश्रय, सहयोग वा सल्लाहको आवश्यकता पर्दैन । बाह्य संसारको कुनै पनि व्यक्ति वा वस्तुले तपाईंलाई बन्धनमा राख्न सक्दैन । कसैको नकारात्मक भावनाबाट प्रभावित हुन सक्नुहुन्न न त कुनै दुःखले तपाईलाई विचलित पार्न सक्छ। आफ्नो दृष्टि र वृत्तिलाई आफ्नो नियन्त्रणमा ल्याउनुहोस् अन्ततोगत्वा तपाईंमा तपाईंको दृढ संकल्प स्थापित हुनेछ । पश्चात् तपाईंमाथि अरु कसैको अधिकार हुन सक्दैन । दृढ संकल्पको बलमा अडिग रहँदा, कमजोर इच्छाशक्ति पनि पराजित हुनेछ र तपाईं आफ्नो जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्षम हुनुहुनेछ । मानिसमा दृढ संकल्पको भावना प्रबल हुनुपर्छ ताकि उसले सफलता आफ्नो समीप आइरहेको महसुस गर्न सकोस् । ईतिहास समेत साक्षी छ कि जनताको दृढ संकल्पको अगाडी राजतन्त्र देखि लिएर अन्य शक्तिशाली शक्तिहरु समेत पराजित भै आएकाछन् । त्यस्तै देशको समृद्धिको नाममा यत्रतत्र खोक्रा भाषणहरू सुनिने गर्दछन् । हेक्का रहोस् समृद्धि बाजा बजाएर आउँदैन यो त नेतृत्वकर्ता तथा समग्र जनताको दृढ संकल्पको परिणामले आउने हो । अस्तु ।।
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
सहि भन्नुभयो मित्र