स्पोर्ट्स अवार्डको चार विधाका शीर्ष तीन सार्वजनिक

Read Time = 14 mins

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै चार विधाका शीर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन मनोनयन गरिएको हो । वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, क्रिकेटका जगत टमाटा तथा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल र एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न सफल हुनुभएको छ ।

यस पटक २०औं संस्करण माघ २८ गते आइतबार याक एण्डयति होटलमा आयोजना हुँदैछ । वर्षको उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं तथा वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनको मनोनयनमा पर्नुभएको छ ।

उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिनुभएको छ । यस संस्करणदेखि चार विधामा समान आठजना मनोनयनमा समावेश गरिएको हो । यसअघि पाँचजना मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो ।

यद्यपि, यस संस्करणबाट अवार्ड आयोजनाको केही दिन अगाडि नै शीर्ष तीनको मनोनयन सार्वजनिक गर्न थालिएको हो । पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने नौ विधामध्ये पाँच विधाको मनोयनन कार्यक्रमअघि नै सार्वजनिक हुने परम्परा छ । पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत् र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुनेछ । मञ्चका महासचिवसमेत रहेको खेलाडी छनोट समितिका संयोजक ओलीले वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यअनुरूप सुरुवातमा शीर्ष आठको मनोनयन गरिएको बताउनुभयो ।

पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठको मनोनयनमा परेका छन् । मञ्चले पिपल्स च्वाइस विधाको भोटिङ पनि अन्तिम चरण पुगेको जनाएको छ । उहाँहरूका लागि ई-सेवाबाट भोटिङ र मञ्चको आधिकारिक फेसबुक पेज तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीको आधिकारिक फेसबुक पेजबाट शनिबार मध्यरातसम्म जारी रहनेछ ।

स्पोर्ट्स अवार्डका अन्य विधामा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन हुनेछ । यसपटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । त्यसमध्ये दुईवटा एन २५० र तीनवटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँ र बिमा पोलिसी प्रदान गरिनेछ । स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एण्ड कम्पनी तथा सहप्रायोजक र सहयोगीमा ई-सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एण्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् । चार विधाका शीर्ष तीनमा परेका खेलाडीका खेलाडीहरूको प्रदर्शन यस प्रकार रहेको छ

वर्षका उत्कृष्ट खेलाडी महिला
अनुशा मल्ल (बास्केटबल)
-माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत ।
-साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी ।
-नेपालले खेलेको तीनमध्ये दुइ खेलमा नेपालको तर्फबाट उच्च स्कोर गर्ने खेलाडी ।
-नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल ।

पुष्पा भण्डारी (एथलेटिक्स)
-बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण ।
-१६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ) ।
-नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य ।
-सहारा हाफ म्याराथन स्वर्ण ।
-कान्तिपुर हाफ म्याराथनमा रजत ।
-वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत ।
-मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत ।

राजपुरा पछाई (एथलेटिक्स)
-१६औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक ।
-१६औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) ।
- नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत ।
- वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण ।
- कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण ।
- नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण ।
- राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत ।

वर्षका उत्कृष्ट पुरुष खेलाडी
आसिफ शेख (क्रिकेट)
-वर्ष २०७९ को एकदिवसीय अन्तर्राष्ट्रियमा कुल १ हजार ९३ रन बनाउन सफल खेलाडी ।
-विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध बनाएको ११० रनको शतकीय इनिङ्स ।
-एकदिवसीय अन्तर्राष्ट्रियमा ७ अर्धशतक बनाउन सफल खेलाडी ।

दीपक अधिकारी (एथलेटिक्स)
-एसियाली क्रसकन्ट्री दौडमा २ स्वर्ण, घरेलु प्रतियोगितामा ४ स्वर्ण र १ रजत ।
-१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण ।
-१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
-नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण ।
-दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण ।
-कान्तिपुर हाफ म्याराथनमा रजत ।

रोहित पौडेल (क्रिकेट)
- नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) जोगाउँदाका कप्तान ।
-वर्ष २०७९ मा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ४ अर्धशतकसहित ६ सय ७९ रन बनाउन सफल ।
-स्कटल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको योगदान ।

वर्षका उत्कृष्ट युवा खेलाडी
देव खनाल (क्रिकेट)
-नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान ।
-देव खनालको कप्तानीमा नेपाल युएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल ।
-पाँच खेलको तीन इनिङ्समा ६५ माथिको औसतमा १ सय ९७ रन बनाउन सफल ।
- कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १ सय २५ र युएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल ।
-उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यु–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता ।

राममाया बुढा (एथलेटिक्स)
-१६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमि) ।
-एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता ।
-गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र ५ किमिमा रजत ।
-देवदह हाफ म्याराथनमा स्वर्ण र राइट टु प्रोटिन रनमा रजत ।
-दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत ।
-तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा स्वर्ण ।

सुष्मा तामाङ (बक्सिङ)
-एएसबीसी यु-२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत ।
-नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा -पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित ।
-एएसबीसी यु-२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट ।
-नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण ।
-विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी ।

वर्षका उत्कृष्ट प्रशिक्षक
चन्द्र गुरुङ (एथलेटिक्स)
-१६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक । सिनियरमा २ स्वर्ण र १ -कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य ।
-बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जित्दाका प्रशिक्षक ।

दीपक महर्जन (बक्सिङ)
-एएसबीसी यु-२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउँदाका प्रशिक्षक । ।
-च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।

जगत टमाटा (क्रिकेट)
-आईसीसी यु-१९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक ।
-युएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल आईसीसी विश्वकप क्रिकेटमा पुग्न सफल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *