काठमाडौं । थोक तथा खुद्रा व्यापार गर्ने ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिना नौ सञ्चालन भइरहेको पाइएको छ । देशभर सञ्चालनमा रहेका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको तर ३२ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन् ।
देशभर सञ्चालनमा रहेका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८.२३ प्रतिशत कुनै न कुनै निकायमा दर्ता भए पनि ३२ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका हुन् ।
सर्वेक्षणअनुसार कोशी प्रदेशका ३८.५, कर्णालीका ३३.८, सुदूरपश्चिमका २८.८, लुम्बिनीका २६.९, गण्डकीका २५.१ र बागमतीका २४.७ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेका छन् । थोक व्यापार गर्ने ६.४२, खुद्रा व्यापार गर्ने ३३.३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२.५४ प्रतिशत संस्था दर्ताबिना नै सञ्चालन भइरहेका छन् ।
व्यापार व्यवसायमा ११ लाख ३० हजार छ सय ४५ जना मानिस संलग्न रहेकोमा महिला चार लाख तीन हजार नौ सय ६४ अर्थात् ३६ प्रतिशत र पुरुष सात लाख २६ हजार छ सय ८१ जना अर्थात् ६४ प्रतिशत रहेका छन् । दर्ता भएका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४.२ प्रतिशतमा पुरुष र २५.८ प्रतिशत महिलाको नाममा रहेका छन् । व्यापारमा आबद्ध व्यक्तिमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका ३२.९ प्रतिशत रहेका छन् भने लुम्बिनीका १६.४, कोशीका १६.८, मधेशका १४.३, गण्डकीका ९.५, सुदूरपश्चिमका ५.९ नौ र कर्णालीका ४.२ प्रतिशत रहेका छन् । व्यापारमा जोडिएका कुल व्यक्तिको संख्यामध्ये खुद्रा व्यापारमा सबैभन्दा बढी ८८. ६५ प्रतिशत रहेका छन् ।
व्यापार व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति नोकरी गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको छ । सर्वेक्षणमा सो क्षेत्रमा तलब, ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब, ज्याला र अन्य सुविधा नलिई परिवारका सदस्य नै काममा रहेका व्यक्तिको संख्या बढी रहेको देखिएको छ । कामदारमध्ये तलब, ज्याला र अन्य सुविधा पाउने कामदार संख्या दुई लाख १९ हजार पाँच सय ५१ मात्रै रहेका छन्, जसमा महिला ४५ हजार नौ अर्थात् २०.५० प्रतिशत र पुरुष एक लाख ७४ हजार पाँच सय ४२ अर्थात् ६०.६० प्रतिशत रहेका छन् । तलबी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब, ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक छ लाख चार हजार नौ सय १२ खर्च हुने गरेको देखिएको छ । प्रतिकामदार औसत वार्षिक दुई लाख आठ हजार चार सय ९४ खर्च रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले होलसेल व्यापार, खुद्रा व्यापार र सवारीसाधन तथा मर्मतसम्भार व्यापार गरी तीन क्षेत्रमा विभाजन गरी अध्ययन गरेकोमा सबैभन्दा धेरै मुनाफा सवारीसाधन तथा मर्मतसम्भारमा देखिएको छ । सो क्षेत्रमा २४.०२ प्रतिशत मार्जिन देखिएको छ भने होलसेल व्यापारमा १३.०१ र खुद्रा व्यापारमा १८.२८ प्रतिशत रहेको छ । समग्रमा व्यापारमा १८.५३ प्रतिशत मार्जिन रहेको सर्वेक्षणले देखाएको छ ।
व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च एक खर्ब ३३ अर्ब र प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च दुई लाख ६४ हजार देखिएको छ । सर्वेक्षण छनोट विधिमा आधारित राष्ट्रियस्तरको सर्वेक्षण हो । सर्वेक्षणमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्र रहेका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिकरूपमा सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको अध्ययन गरिएको हो । कुल १५ हजार दुई ९९ व्यापारिक प्रतिष्ठानबाट लिइएको तथ्यांक र सर्वेक्षणका आधारमा नतिजा निकालिएको तथ्यांक कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच