काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले लामो भाषण गर्नेहरूप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरू खाली भए पनि नेताहरू भाषण गरिरहेको देखिएको बताउनुभएको हो ।
उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने बताउँदै सभापति देउवाले भन्नुभयो, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु ? के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुन्छ, सबै कुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ ।’ नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि बोल्नुको अर्थ नरहने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘एकजना बसेको हुन्छ । अनि धन्यवाद है तपाईँ त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईँको भाषण सुन्न होइन माइकका लागि आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’
माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीभित्र टिकट वितरणमा भएको विवादतर्फ संकेत गर्दै सभापति देउवाले काठमाडौंका जिल्ला सभापति सबुज बानियाँलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको स्मरण गर्दै भन्नुभयो, ‘एउटा कुरा सबैलाई चित्त दुःखेछ सबुज बानियाँलाई टिकट दिएन भनेर क्या । यहाँ राष्ट्रिय सभामा । अब टिकट पायो भने जिताउनुहोला नि फेरि है । अब उहाँले टिकट पाउनुभयो र जिताउनुहोला नि फेरि है । राष्ट्रियसभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न । अब जिताउन लाग्नुस् न ।’
सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशनसमेत दिनुभयो । काठमाडौं जिल्ला मात्र नभएर देशको राजधानी पनि भएकाले यहाँको जिल्ला सम्मेलनको निकै महŒव रहेको स्पष्ट पार्दै सभापति देउवाले भन्नुभयो, ‘यो जिल्लाको नेपाली कांग्रेसको सम्मेलन भनेको महत्वपूर्ण सम्मेलन हो । काठमाडौंको सम्मेलनले राष्ट्रिय रूपमा महत्व राख्छ । राष्ट्रिय रूपमा प्रभाव पार्ने निर्णय तपाईँहरूले गर्नुहुने छ भन्ने विश्वास राख्दछु ।’
रास्वपाप्रति महामन्त्री गगनको टिप्पणी- ‘जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरूबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै महामन्त्री थापाले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरूलाई मेटाउने काममा लागिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘अहिले एउटा प्रवृत्ति आएको छ । जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ । जसले निर्वाचनमा भाग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ । यसले हाम्रो संघर्षका दिनहरूलाई डिसमिस गर्दछ । यसले गणेशमान मान्दैन, यसले बिपी कोइराला मान्दैन । यसले २०४६ सालको आन्दोलन मान्दैन । यसले ०६२ सालको आन्दोलन मान्दैन । यसले हाम्रो संघर्षको उपहास गर्दछ । यसले विधि, प्रक्रिया मान्दैन ।’
आफू जादुगर हुँ भन्दै आउनेहरू लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाउँदै थापाले भन्नुभयो, ‘म जादुगर हुँ भनेर आउँछ । यो पनि यो लोकरिझ्याइँको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ । संविधान माथिको प्रहारहरू छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।’
सार्वजनिक जग्गा लुट्ने जोसुकै भिआइपी भए पनि कारबाही गर्नुपर्छ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनको शासन मान्ने कांग्रेसले व्यवहारमा पनि लागू गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचारी र ठग भिआइपी नहुने टिप्पणी गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘भ्रष्टाचारको सन्दर्भमा कांग्रेसले मन्त्र बनाउनैपर्छ । दोषी जोसुकै भए पनि उम्कन हुन्न, निर्दोष पर्न हुन्न । कानुन सबैका लागि बराबर हो । एउटा सर्वसाधारणले देशको सार्वजनिक सम्पत्ति, जग्गा जमिन लुटेर लियो भने उसलाई दण्ड हुन्छ । सहकारीमा ठग्यो भने पनि दण्ड हुन्छ । कार्यालयका सामान्य कर्मचारी सुब्बाले राज्यको ढुकुटीमाथि दोहन ग¥यो भने उसलाई दण्ड हुन्छ । कांग्रेसले समात्ने मन्त्र यही हो । भ्रष्टाचारी, ठग, अराजक भिआइपी हुँदैन । सबै बराबरी हुन्छ । जतिसुकै शक्तिशाली होस् ।’ कांग्रेसले अहिले देखिएको अलमलबाट देशलाई बाहिर निकाल्नुपर्ने महामन्त्री थापाको जिकिर छ । संघदेखि स्थानीय तहसम्म कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले गल्ती गर्ने छुट नभएको उहाँको भनाइ छ ।
संघीयता लागू गर्न कांग्रेसले काम गर्नुपर्ने आवश्यकता छ : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताउनुभएको छ । केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्ने कुरा नागरिकलाई दिने सेवा सुविधाबाट बुझाउन सक्नुपर्ने उहाँको तर्क छ । नेता सिंहले संघीय कानुनहरू बनाएर कार्यान्वयन गर्न नपाएको कारणले प्रदेशका काम कारबाहीमा ढिलासुस्ती भइरहेको बताउनुभयो । संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता औल्याउँदै पूर्व–उपप्रधानमन्त्रीसमेत रहनुभएका सिंहले आवश्यक संघीय कानुन बनाउनका लागि संघीय संसद्बाट काम गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका पूर्व–महामन्त्रीसमेत रहनुभएका नेता सिंहले पार्टीलाई अहिलेको अवस्थाभन्दा राम्रो बनाउनका लागि जनअपेक्षाअनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो ।
बैशाखीमा मात्रै हिँडेर कांग्रेस कहीँ पुग्दैन : डा.रिजाल
नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले माओवादीको वैशाखी टेकेर होइन आफ्नै बुतामा लड्ने हैसियतको पार्टी बनाउन नसक्ने हो भने कांग्रेस कहीँ पनि नपुग्ने टिप्पणी गर्नुभएको छ । कांग्रेसलाई नयाँ बनाउने होइन, पहिलेका नेताहरूको पालाको जस्तै पुरानो र बलियो पार्टी बनाउनुपर्ने धारणा राख्दै नेता रिजालले भन्नुभयो, ‘हामी नयाँ कांग्रेस बनाउने भन्दै छौँ । अहिलेको आवश्यकता नयाँ होइन हिजोका हाम्रा नेताहरूको पालाको जस्तो बनाउने हो । एमाले र कांग्रेसबीचको प्रतिस्पर्धाले तेस्रो दल यति सानो छ कि त्यसलाई काखीमा राखेर एकले अर्कोलाई तह लगाउनुपर्ने अवस्था छ । अघिल्लोपटक ओलीले ११ निर्वाचन क्षेत्रमा मात्र ठूलो पार्टी भएको माओवादीलाई बोकेर १०० सिटमा लड्दा ८० सिट जिते । अहिले हामीले माओवादीलाई बोकेर ५७ सिट जितेका छौँ । तर, भोट ओलीको भन्दा कम छ । यस्तै, बैशाखीमा हिँडेर कांग्रेस कहीँ पनि पुग्दैन ।’
नेताहरूले विधिभन्दा माथि उठेर पार्टी चलाउनुभयो, अब त्यो चल्दैन : पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद प्रदीप पौडेलले पार्टीलाई विधिभन्दा बाहिर गएर चलाउने छुट अब कसैलाई नभएको बताउनुभएको छ । सुशासनको पक्षमा कांग्रेस आक्रामक भएर प्रस्तुत हुन नसकेकोप्रति आलोचना गर्दै पौडेलले भन्नुभयो, ‘जनताको गुनासो छ हामीले सुशासनको पक्षमा आक्रामक भएर प्रस्तुत हुन सकेनौँ । देशको प्रशासनिक संयन्त्रलाई हामीले भ्रष्टाचाररहित बनाउन सकेनौँ । आम नागरिकलाई सुशासनको प्रत्याभूति दिने कुरामा हाम्रो नेतृत्व रहेन, नेताहरूप्रति धेरै भरोसा छ उहाँहरूले विधिभन्दा माथि उठेर पार्टी चलाउनुभयो त्यसमा पनि हाम्रो गुनासो छैन । तर, अबको दिनमा विधिभन्दा बाहिर कोही पनि जान सक्दैन ।’ उहाँले पार्टीलाई विधिभित्रबाट मात्रै पार्टी चल्नुपर्छ भन्ने स्थिति निर्माण गर्नको लागि तल्लो तहदेखि माथिल्लो तहसम्म कांग्रेसलाई मासबेस पार्टीको रूपमा विकास गर्न जरुरी रहेको धारणा राख्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच