काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कमिटीहरू प्रत्यक्ष निर्वाचनमार्फत निर्माण गर्ने प्रस्ताव गर्नुभएको छ । मंगलबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा मस्यौदा विधानबारे सामान्य ब्रिफिङसहित मस्यौदा प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने विषय उठ्दै आएकाले यसबारे टुंगो लगाउने जिम्मा हललाई नै दिएको बताउनुभएको हो । तर, अहिलेको परिस्थितिमा प्रत्यक्ष निर्वाचित कमिटी नै हितकर हुनसक्ने आफूलाई पनि लागेको प्रचण्डको भनाइ थियो । यसो भन्दै गर्दा जनवादी अभ्यास पनि भुल्न भने नहुने स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘केन्द्रीय समिति र विभिन्न स्तरको समितिको निर्वाचन कसरी गर्ने र कस्तो अपनाउने भन्नेमा बहस चलेको छ । अनुभवले के देखायो भने सबै स्तरको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै गर्नुपर्छ । स्थानीय, प्रदेश र केन्द्रीय तहको पनि प्रत्यक्ष गर्नुपर्ने हुन्छ ।’ साथसाथै समावेशी प्रतिनिधित्व भने न्यायोचित हुनेगरी गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले केन्द्रीय समितिले पदाधिकारी चुन्ने पनि प्रस्ताव गर्नुभएको छ । जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टीको संगठतात्मक सिद्धान्त भएको स्पष्ट पार्नुभएका प्रचण्डले जनवादी केन्द्रीयताको व्याख्यामा अझ बढी स्पष्ट हुन जरुरी रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यो ठूलो विषय छ । विचार र संस्कारसँग पनि सम्बन्धित कुरा हो ।’
प्रस्तावित विधानमाथि २० समूहमा छलफल
पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने जानकारी दिनुभएको छ । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्ने छ । अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइनेछ । समूहगत छलफल सकिएपछि मात्रै बैठक बस्ने महासचिव गुरुङको भनाइ छ । २० समूहमध्ये समूह १ मा अञ्जना विशंखे र समूह २ मा अमृता थापा समूहको सहजकर्ता चयन हुनुभएको छ । यसैगरी, समूह ३ मा ओनसरी घर्ती, समूह ४ मा कमला रोका, समूह ५ मा कालीबहादुर मल्ल, समूह ६ मा कुलप्रसाद केसी, समूह ७ मा खगराज भट्ट, समूह ८ मा गणेशमान पुन, समूह ९ मा जयपुरी घर्ती सहजकर्ता चयन हुनुभएको छ । यस्तै, समूह १० मा जोखबहादुर महरा, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रहृलाद बुढाथोकी, समूह १५ मा महेश्वरराज जंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी र समूह १८ मा शशी श्रेष्ठ सहजकर्ता चयन हुनुभएको छ । यसैगरी, समूह १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँ चयन हुनुभएको छ ।
समूहमा छलफल गरेर हलमा निष्कर्ष पेस हुने माओवादीले जनाएको छ । समूहमा प्रज्ञा हल र पार्टी कार्यालय पेरिसडाँडामा मस्यौदा विधानमाथि छलफल हुनेछ । पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक विधान बनाउन अधिवेशन गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरू राम कार्की र गणेश साह सदस्य हुनुहुन्छ । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो । प्रस्तावित विधानमा गत माघ २६ र २७ गते पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो ।
एक हजार दुई सय हाराहारी प्रतिनिधि सहभागी रहेको सम्मेलनमा प्रत्यक्ष निर्वाचित मात्रै होइन पार्टीका संरचनामा अवधि, उमेर, युवालाई अवसरसहितका विषय पनि उठेका छन् । माओवादीमा केन्द्रीय कमिटी १५१ सदस्यीय र अरू संरचना पनि छरितो बनाउन माग भएको छ । अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन् । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारी सहभागी छन् ।
पार्टी नेतृत्वमा बसिराख्ने लोभ छैन : अध्यक्ष प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पार्टी नेतृत्वमा बसिराख्ने लोभ नभएको दाबी गर्नुभएको छ । विधान सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तर्क र तथ्यसहित पार्टी नेतृत्वमा दाबी गर्न कोही नेता आएमा आफूले छोड्न तयार स्पष्ट पार्दै भन्नुभयो, ‘नयाँ क्रान्तितिर देशलाई लैजाने संकल्प गरेको छु । कोही कामरेडहरू आउनुहुन्छ र तर्कसहित, तथ्यसहित भन्नुहुन्छ भने मलाई फेरि नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन, यो कुरा पनि म प्रष्ट भन्न चाहन्छु । आउनुहोस्, फेरि यो मोर्चालाई एकताबद्ध गरौँ । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजेका छन्, तिनको प्रतिवाद गरौँ, सबै एक हौँ ।’ विगतमा गरेका गल्तीको समीक्षा गर्दै राजनीतिक परिवर्तनको रक्षा गर्न र समाजवादी आन्दोलनमा अगाडि बढ्न पनि एकताबद्ध हुनुपर्ने प्रचण्डको भनाइ थियो ।
वामपन्थी शक्तिहरू एकठाउँमा आउनुपर्छ : उपाध्यक्ष श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन माओवादी केन्द्रले पहल गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले समाजको बाटो तय गर्न वामपन्थीहरूको एकतालाई जोड दिनुपर्ने बताउनुभएको हो । शान्तिपूर्ण रूपमा समाजवादको आधारशिला तय गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले भन्नुभयो, ‘अब समाजवादका लागि नयाँ ढंगले वामपन्थी साथीहरूलाई लिएर एउटा केन्द्र बनाउने र हामीले सामाजिक राजनीतिक एकीकरणको प्रक्रियालाई सामाजिक न्यायसहितको समृद्धिको बाटोमा लगेर सामाजवादको आधार तयार पार्ने नेतृत्व पार्टी अध्यक्षबाट भयो, त्यो अभियान टुटफुट भए पनि हामीले के कुरा गलत रूपमा बुझ्नुहुँदैन भने त्यो पहलकदमी ऐतिहासिक थियो । त्यसको समीक्षा हामी विभिन्न ठाउँमा गरौँला ।’ उहाँले राजनीतिक लक्ष्य र जनताको अपेक्षा अनुसारको विकासका काम नभएको बताउँदै अबको कार्यभार भनेको समृद्धिको यात्रालाई अघि बढाउन क्रमभंग गरेर जनताका शिक्षा, स्वास्थ्य, रोजगार, बाटाघाटा, सञ्चार लगायतका आवश्यकता पूरा गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको दाबी
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा पुनर्गठनको प्रक्रियामा अघि बढ्नुपर्ने बताउनुभएको छ । समाजवाद निर्माणको लागि पार्टीलाई यथास्थितिमा राखेर सम्भव नभएको जिकिर गर्दै श्रेष्ठले भन्नुभयो, ‘अहिलेको कार्यभार हाम्रो पार्टीमा मात्रै पूरा गर्नुपर्छ । तर, पार्टीलाई यथास्थितिमा राखेर सम्भव छैन । त्यसकारण पार्टी अध्यक्ष कमरेडको नेतृत्वमा रूपान्तरण र पुनर्गठनको प्रक्रियामा जानैपर्छ । त्यसका लागि नयाँ पहलकदमी गरिरहेका छौँ । त्यसको संकल्प गरौँ ।’
जनार्दन शर्माको पूरक प्रस्तावमा छलफल हुने
नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा उपमहासचिव जनार्दन शर्माको पूरक प्रस्तावमाथि पनि छलफल हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरक प्रस्तावमाथि पनि छलफल हुने जानकारी दिनुभएको हो । शर्माको पूरक प्रस्ताव नौ बुँदामा समेटिएको छ । पार्टीको केन्द्रीय नीति योजना कार्यान्वयनको अलावा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरूको बाँडफाँट, निर्वाचन, सरकार निर्माणसम्बन्धी सबै अधिकारहरू प्रयोग गर्ने गरी विधानमा उल्लेख गर्नुपर्ने, पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय समितिको (पोलिटब्युरो) बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्नुपर्ने, सबै तहका पदाधिकारीहरू प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था हुनुपर्ने, सबै तहका पदाधिकारीहरूको कार्यकाल र उमेर तोक्नुपर्ने र पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने लगायतका प्रस्ताव गरिएको छ ।
सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्छ : तामाङ
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य रञ्जित तामाङले प्रत्यक्ष निर्वाचन प्रणालीबाट दायाँबायाँ नहुने बताउनुभएको छ । विधानलाई वस्तुसंगत, समय सापेक्षिक संगठन बनाउने विधान विधिका आधारबाट पार्टी संगठन चलाउनु नै पार्टीका लागि हितकर हुने जिकिर गर्दै तामाङले भन्नुभयो, ‘विधान पार्टीको संविधान जस्तो भएकाले सबैले पालना गर्ने र सबैले मान्ने सांगठनिक संरचना बनाउनुपर्छ । देशलाई सिष्टममा चलाउँछु भन्नेले पार्टीलाई पनि सिष्टममा चलाउनुपर्छ । यस हिसाबले विधान अधिवेशनमा गम्भीर छलफल हुन्छ । प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट हामी दायाँबायाँ हुँदैनौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच