काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतले रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरूलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेको उच्च अदालतका प्रवक्ता धनबहादुर कार्कीले अदालतको फैसला सुनाउने क्रममा बताउनुभयो । उहाँका अनुसार अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ । विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।
उहाँले मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको बताउनुभयो । अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्री शमशेर राणालाई भने सफाइ दिएको छ ।
बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएको बताउनुभयो । छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोडभन्दा बढी हानि नोक्सानी गरेको अदालतले ठहर गरेको छ । उनीहरूसँग दामासाही ८० लाख बिगो असुलउपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय भएको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियारले चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनालाई बिगो र जरिवाना तथा ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।
पूर्वमन्त्री गच्छदार, श्रेष्ठ र जोशीसहित सचिव दिनेशहरि अधिकारीलाई सफाइ
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व-उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । विशेष अदालतले फैसला सुनाउने क्रममा उनीहरूलाई बिहीबार सफाइ दिएको हो । यस मुद्दाका हाई प्रोफाइल अभियुक्तमध्ये सर्वाधिक उच्च पदमा रहेका पूर्व-उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका हुन् । मन्त्रिपरिषद्को निर्णयमा मन्त्रीको एकल भूमिका नहुने विशेष अदालतको तर्क छ ।
विशेष अदालतले अख्तियारले मुद्दा चलाउँदैमा मन्त्रिपरिषद्बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णयहरू आयोगको क्षेत्राधिकारभित्र नपर्ने भनेको छ । त्यस्तै, मन्त्रालयबाट भएको एकल निर्णयमाथि प्रश्न उठेको नभई मन्त्रिपरिषद्को सामूहिक निर्णयमा हस्ताक्षर गरेको आधारमा मुद्दा चलेकाले कुनै एकजना मन्त्रीलाई मात्र मुद्दा दायर गर्न क्षेत्राधिकार नपुग्ने तर्क अदालतको छ । यस्तै, मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न स्वीकृत गरेको आधारमा मात्र बदनियत पुष्टि हुने प्रमाण नपुग्ने हुनाले मन्त्रालयको नीतिगत निर्णयको जिम्मेवारीमा रहेका व्यक्तिलाई भ्रष्टाचार मुद्दा नलाग्नेसमेत अदालतको तर्क छ ।
त्यस्तै, सचिव दिनेशहरि अधिकारीले सफाइ पाउनुभएको छ । तत्कालीन सचिव अधिकारीले मन्त्रिपरिषद्को निर्णयअनुसार परिवर्तित सन्दर्भमा पुनः प्रस्ताव पेस गरेको तथा जोशीले भूमिसुधार मन्त्रीको हैसियतमा सोही प्रस्ताव पेस गर्न स्वीकृतिसम्म देखिन आएको तर बदनियत तत्वको अभाव देखिएको फैसलामा उल्लेख छ ।
गच्छदारले उपप्रधान तथा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री छँदा आफ्नो अधिकार क्षेत्रमै नपर्ने बालुवाटारको जग्गासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेको अख्तियारको अभियोग थियो । उहाँले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रमा हस्तक्षेप गरी अख्तियारको दुरुपयोग गरेको अभियोगपत्रमा उल्लेख थियो । उहाँबाट ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना र कैद सजाय हुनुपर्ने अख्तियारको मागदाबी थियो । त्यस्तै, पूर्वभूमि व्यवस्थामन्त्री डम्बर श्रेष्ठबाट पनि ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना र कैद सजाय हुनुपर्ने अख्तियारको मागदाबी थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस प्रकरणमा विशेषले थुनछेकको बहसका क्रममा पूर्वमन्त्री डम्बरकृष्ण श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गच्छदारसँग १० लाख धरौटी माग गरेको थियो । उहाँ पनि विशेष अदालतले मागेको धरौटी बुझाएर ३० असार २०७८ छुट्नुभएको थियो ।
२०४८ सालपछि पटक-पटक मन्त्री बन्नुभएका गच्छदार ४/५ पटक भौतिक योजना तथा निर्माण मन्त्रालयमा विभागीय मन्त्रीको हैसियतमा हुनुहुन्थ्यो । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरूका सम्बन्धमा २०६५/२०६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रिपरिषद्मा आफूले प्रस्ताव पठाएको गच्छदारले अदालतसँग बताउनुभएको थियो । त्यसबेला माधवकुमार नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । गुरुयोजना लागू गर्न सचिवले तयार गरी पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उहाँको बयान थियो ।
विशेष अदालतमा माघ २ देखि निरन्तर गरेको मुद्दाको सुनुवाइ मंगलबार (फागुन १ गते) सकिएको थियो । यसमा १ सय ७५ जना प्रतिवादी थिए । तीमध्ये ११० जनालाई सजाय माग गरिएको थियो भने ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा मन्त्रीदेखि कर्मचारी, तिनका आफन्त र बिचौलियासमेत तानिएका थिए ।
भाटभटेनीका मालिक मीनबहादुरलाई २ वर्ष कैद र ८० लाख बिगो सजाय
बालुवाटार जग्गा प्रकरणमा गैरकानुनी लाभ लिएको ठहर गर्दै विशेष अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ । अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको भन्दै गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई समान सजाय तोकिएको हो ।
जग्गा जफत हुने प्रतिवादीहरूको नामावली
१. कल्पना तुलाधर
२. शर्मिला शाक्य बज्राचार्य
३. प्रगति कंसाकार
४. गैरआवासीय नेपाली संघ
५. कामना गुरुङ
६. कल्याण गुरुङ
७. सज्जनकुमार चाचान
८. देवांशी गोयल
९. सरस्वती घले गुरुङ
१०. सरला घले
११. मनोजकुमार केडिया
१२. मनोजकुमार गौतम
१३. मन्ती गोर्खाली
१४. निर्मलादेवी गोयल
१५. निकिता तुलाधर
१६. अमिताम्भ तुलाधर
१७. उमा प्रसाईँ
१८. परिशोभा तुलाधर
१९. रेणुका बज्राचार्य
२०. सुविस्ता तुलाधर
२१. अञ्जना तुलाधार ताम्राकार
२२. चन्द्रिका कंसाकार तुलाधर
२३. सानुछोरी बज्राचार्य
२४. सिपिका खेतान
२५. सुष्मा बज्राचार्य शाक्य
२६. सन्ध्या शाक्य
२७. संगीता राखेचा काठोरी बोधरा
२८. द्रीलक्ष्मी श्रेष्ठ
२९. नुतन श्रेष्ठ
३०. धर्मशोभा शाक्य
३१. डिम्पल वंशल
३२. सरिता मानन्धर श्रेष्ठ
३३. गीता गौतम खनाल
३४. नितु गुरुङ
३५. रीता ओझा गौतम
३६. रत्नहीरा बज्राचार्य
३७. प्रतिमा वैद्य प्रधान
३८. प्रवीण ताम्राकार
३९. विजय ताम्राकार
४०. माया शेर्पा गौचन
४१. महेशराजा तुलाधर
४२. द्वारिकादेवी श्रेष्ठ
४३. इन्द्रदेव गुरुङ
४४. इन्दु शर्मा
४५. सन्दीप ढकाल
४६. भवानी जोशी
४७. भारती पाण्डे
४८. विवेककुमार सुवेदी
४९. केशव तुलाधर
५०. अनिता देवी कंसाकार
५१. ओमवीरमान ताम्राकार
५२. अनिलमान ताम्राकार
५३. गोविन्दलाल संघाई
५४. गायत्री श्रेष्ठ कंसाकार
५५. सानुकान्छा भन्ने पञ्चनारायण महर्जन
५६. राधा सिग्देल आचार्य
५७. मचाबाबु प्रजापति
५८. रूपेशकुमार सुवेदी
५९. सरोज ढकाल
६०. पहलमान गुरुङ
६१. पुरुषोत्तम पौडेल
६२. प्रमोद शेरचन
६३. कनक हर्बल
६४. अच्युतराज श्रेष्ठ
६५. विजेन्द्र जोशी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच