काठमाडौं । अभिनेता रितेश चाम्स आफ्नो कथा सुनाउँदा भावुक बन्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले आफ्नो विगत बताउँदै गर्दा भावुक हुनुभएको हो । गत शुक्रबारदेखि प्रदर्शनमा आएको उहाँ अभिनित चलचित्र ‘गोर्खा वारियर’ले धन्यवाद भन्न आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा रितेश आफू बेलायती सेनामा रहँदा अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको युद्धको दर्दनाक कथा सबैसामु शेयर गर्नुभएको हो ।
‘म गाउँमा सामान्य परिवारमा जन्मेको हुँ । स्कुलको पढाइ सकिएपछि वैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । मसँग अमेरिका, अष्ट्रेलिया जाने पैसा नभएका कारण बेलायती सैनिकमा भर्ती लाग्नुबाहेक अरू विकल्प थिएन, त्यसैले म बेलायती सेनामा भर्ती लागेँ’, उहाँले भन्नुभयो, ‘बेलायती सेनामा केही वर्ष जागिर खाएपछि मैले बिदा लिएर पाइलट कोर्ष गर्ने निर्णय लिएँ र त्यो कोर्षको तयारीमा जुट्दै थिएँ । एक्कासि मलाई अफगानिस्तानको युद्धमा पठाउने निर्णय मेरो अफिसरहरूले गर्नुभयो । त्यो निर्णयलाई मैले मान्नुबाहेक अरू विकल्प थिए ।’ अफगानको युद्धमा ब्रिटिश गोर्खा सेनाका नेपालीहरूको मृत्यु र घाइतेको खबर आइरहेको भएका पनि आफूले जाने निर्णय गरेको उहाँले सुनाउनुभयो ।
रितेशका अनुसार उहाँ टिमसहित अफगानिस्तानको मरुभूमिमा झर्दै थिए । जताततै धुलो उडेको थियो । उहाँको हेलिकप्टरमाथि लगातार तालिवानले गोली बारुद वर्षायका थिए । हेलिकप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा उहाँको तिघ्रामा कतीबेला गोली लाग्यो थाहा नै पाउनुभएन । एकछिनमा उहाँ रगताम्मे हुनुभयो । उहाँलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर, माथिबाट एकजना अफिसरले आफू लडेको देखेपछि सबैको ज्यान जोखिममा पारेर त्यहाँबाट उद्धार गरेर अस्पताल पु¥याउनुभयो । त्यो समय उहाँको खुट्टा नचल्ने अवस्थामा थियो ।
उहाँले भन्नुभयो, ‘जब मलाई डक्टरहरूले अब तिम्रो एउटा खुट्टा चल्दैन भन्नुभयो, त्यतिबेला मैले आफ्ना सबै सपनाहरू तुहिएको महसुस गरेँ । अस्पतालबाट डिस्चार्ज भएर म यस्तो डिप्रेसनमा गएकी मलाई सामान्य हुन तीन वर्ष लाग्यो’ उहाँले भावुक हुँदै अगाडि भन्नुभयो, ‘तर मैले हिम्मत हारिन् । सबै प्रकारको थेरापी र आत्म विश्वासका कारण तीन वर्षमा म राम्ररी हिँड्न सक्ने भएँ र सामान्य जीवनमा आएँ ।’ त्यसपछि आफूले अमेरिकाबाट पाइलटको कोर्ष पूरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले आफूलाई सामान्य नागरिकझैँ प्रस्तुत गर्न तेक्वान्डो खेल्दै गएँ र आफूलाई शारीरिक एवं मानसिक रूपमा फिट बनाएँ । अहिले म तेक्वादोमा थ्रि डान बन्न सफल भएको छु । मैले सो क्रममा नेपालको आठ हजार मिटर माथिको हिमाल पनि चढेँ भने स्काई डाईभिङ पनि गरेँ’, उहाँले थप्नुभयो, ‘बेलायतबाटै अभिनयमा मास्टर डिग्री गरेपछि बल्ल म चलचित्र गोर्खा वारियरमा अभिनेता बन्न सफल भएको हुँ ।’
चलचित्र ‘गोर्खा वारियर’मा अभिनय गर्नुको कारणबारे रितेशले भन्नुभयो, ‘मेरा हजुरबुबा पनि ब्रिटिश सेनाको सिपाही हुनुहुन्थ्यो र उहाँ मलायको युद्धमा घाइते हुनुभएको थियो । म पनि बेलायती सेना भएर अफगानिस्तानको युद्धमा घाइते भएको थिए । गोर्खा वारियरको कथा हजुर बुबाको, मेरो र हामीजस्ता कैयौं वास्तविक वारियर सिपाहीहरूको कथा थियो । जसरी भए पनि यो फिल्म खेल्नुपर्छ भनेर खेले ।’
चलचित्र ‘गोर्खा वारियर’ मिलन चाम्सले निर्देशन गर्नुभएको हो । सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा वारियर’ रितेशको अलवा रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतका कलाकारको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच