काठमाडौं । आज हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदैै छन् । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइन लागिएको हो । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्छ । यसदिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमशः दूध, दही, घ्यू र महले स्नान गराउने गरिन्छ ।
परब्रहृमले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको ज्यो.पं. भरतमणि मरासिनी बताउनुहुन्छ । उहाँका अनुसार पूजा-आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित भएको मरासिनीले हिमालय टाइम्सलाई बताउनुभयो ।
शिवरात्रिका अवसरमा पशुपतिनाथमा विशेष पूजा-आरधना हुने गर्दछ । यसका लागि देश विदेशबाट भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ । यस्तै, यसवर्ष पनि दर्शनका लागि पशुपतिनाथ मन्दिरमा देशका विभिन्न भाग र भारतबाट सन्त, महन्त, साधु, संन्यासी आएका छन् । यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, विरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
सात उपसमिति गठन
कोषले महाशिवरात्रिका लागि सात उपसमिति गठन गरेको छ । गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ता चप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्रांगण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शनमार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवं धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्वाध सञ्चालन गर्ने जनाएको छ । यसैगरी, महाशिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटै ढोका खोली भक्तजनलाई सहज दर्शनका गराइने कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी गराउनुभयो । यस वर्षको महाशिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको खत्रीले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा गाँजा, भाङ, मदिरा तथा मासु पूर्णरूपमा निषेध गरिएको छ ।
चार हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि निगरानी
महाशिवरात्रिमा आएका भक्तजनहरूको शान्ति सुरक्षाका लागि बिहीबार राति १० बजेबाट पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सिफ्टमा रहने गरी चार हजार सुरक्षाकर्मीलाई खटाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी गराउनुभयो । कार्यालयले पशुपति क्षेत्रका लागि बिहीबारदेखि विशेष सुरक्षा योजना बनाएर लागू पनि गरेको छ । तीन सिफ्टमा परिचालन हुनेगरी तीन हजार ७२ जना, सादा पोसाकमा सञ्चार सेट तथा ड्रोनसहितका सुरक्षाकर्मीहरू ४३९ जना खटिनेछन् । यस्तै, ट्राफिक प्रहरीहरू ५८३ जना परिचालन हुने उहाँले बताउनुभयो । बिहीबार रातिबाट २६ गते मेला नसकिँदासम्म उनीहरू खटिनेछन् । त्यस्तै, सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी चार हजार ९४ प्रहरी प्रत्यक्ष खटिनेछन् । त्योबाहेक भिडभाडका कारण कसैलाई समस्या भए उपचारका लागि एम्बुलेन्ससहित प्रहरी अस्पतालबाट चिकित्सक एम्बुलेन्ससहित खटिनेछन् ।
धुनी बाली आगो ताप्ने प्रबन्ध
यस पर्वमा राति दोबाटो, चौबाटो र शिव मन्दिर अगाडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । त्यसै आगोमा हलुवा, पुरी, तरकारी आदि पकाएर खाने चलन पनि रही आएको छ । यसैदिन ललितपुरस्थित तस् बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिर अगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौँ शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ पु¥याइन्छ । राजखड्ग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादका रूपमा बाँडिन्छ ।
राष्ट्रपतिको उपस्थितिमा सेना दिवस मनाइँदै
महाशिवरात्रिकै दिन राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने बढाइँमा राष्ट्रपतिसमेत सरिक हुने परम्परा छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । यसवर्ष पनि काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा नेपालभर रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेसन, पृतना, बाहिनी, युनिट तथा सव-युनिटहरूले पनि आ-आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ यो दिवस मनाउँदै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच