काठमाडौं । भारतको निर्वाचन आयोगले भारतमा लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आयोगका अनुसार चुनाव १९ अप्रिलबाट सात चरणमा हुने भएको छ । लोकसभाले पाँच वर्षे कार्यकाल मे महिनामा पूरा गर्दै छ । आयोगले शनिबार पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरेको हो । कार्यतालिकाअनुसार पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा हुनेछ । तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौँ चरण २९ मे र छैठौँ चरणको मतदान २५ मेका दिन हुनेछ ।
त्यस्तै, अन्तिम सातौँ चरणको मतदान जुन-१ का दिने हुनेछ । अप्रिल १९ बाट सुरु भएर जुन १ मा मतदानको कार्य सकिने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । सबैतिरको मतगणना एकैसाथ ४ जुनबाट प्रारम्भ हुनेछ । सात चरणको मतदान डेढ महिनामा पूरा हुनेछ ।
लोकसभाको ५४३ सिटका लागि मतदान हुनेछ । पहिलो चरणमा १०२, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौँमा ४९, छैठौँमा ५७ र सातौँ चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जनाएको छ ।
लोकसभा चुनावसँगै आन्द्र प्रदेश, उडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाव पनि हुँदै छ । त्यस्तै, देशभरका विधानसभामा रिक्त रहेका २६ सिटमा उपनिर्वाचन पनि यही अवधिमा गराइने मुख्य आयुक्त राजीव कुमारले जानकारी दिनुभयो । उहाँले भारतको चुनाव विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक पर्वमा रूपमा हेरिने गरेको बताउनुभयो ।
उहाँले हरेक मतदातालाई मतदान दिन सहजता हुने गरी मतदान केन्द्र र आवश्यक सहजीकरणको व्यवस्था गरिएको बताउनुभयो । ८५ वर्ष उमेरमाथि र ४० प्रतिशत शारीरिक अशक्त जो घरबाटै मतदान गर्न चाहन्छन् उनलाई त्यस अनुसारको सुविधा प्रदान गरिने मुख्य निर्वाचन आयुक्त कुमारले जानकारी गराउनुभयो ।
आगामी लोकसभा चुनावका लागि भारतमा ९६ करोड ८८ लाख २१ हजार ९२६ मतदाता छन् । त्यसमध्ये ४९ करोड सात लाख पुरुष र ४७ करोड एकलाख महिला मतदाता छन् । अघिल्लो चुनावभन्दा यसवर्ष एक करोड ८४ लाख ८१ हजार ६१० जना नयाँ मतदाता थपिएका छन् । ती मतदाताका लागि देशभर साढे १० लाख पोलिङ स्टेसन राखिने जनाइएको छ । मतदानका लागि ५५ लाख एलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच