काठमाडौं । गत फागुन २१ गते आकस्मिक रूपमा राजनीतिक समीकरण बनेसँगै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । सरकारबाट बाहिरिनुको पीडाबाट मुक्त हुन नसकेको कांग्रेस वर्तमान पाँच दलीय गठबन्धन कमजोर बनाउन विभिन्न उपायको खोजीमा छ । सत्ता समीकरण फेरिएलगत्तै कांग्रेसभित्र लोकतान्त्रिक मोर्चा ब्यूँताउनुपर्ने आवाज उठेको छ । माओवादीले धोका दिएर समीकरण फेरिएलगत्तै देखि कांग्रेसले राप्रपा, नेकपा एस, लोसपा, जनमतदेखि नागरिक उन्मुक्तिसहितका दलसँग छलफल गरेको थियो । त्यसपछि पनि कांग्रेसको पदाधिकारी र पूर्व- पदाधिकारीको बैठकले प्रजातन्त्रवादीलाई समेट्न सभापतिलाई सुझाव नै दिएको थियो । छलफलले परिणाम दिन नसके पनि कांग्रेसभित्र लोकतान्त्रिक मोर्चा ब्यूँताउनुपर्ने आवाज भने थप बलियो हुँदै गएको छ । नयाँ सत्ता समीकरण बनेको एक महिना नपुग्दै गठबन्धनभित्र सुरु भएको असन्तुष्टि र आयुबारे सकारात्मक चर्चा नभइरहेका बेला गठबन्धनमा विग्रह पर्खेको कांग्रेसभित्र लोकतान्त्रिक तथा प्रजातान्त्रिक शक्तिहरूलाई समेटेर अगाडि बढ्नुपर्ने आवाज थप बढ्दै गएको हो । कांग्रेसले सदनमा सरकारमाथि दबाब सुरु गरिसकेको छ । उसले सुरुदेखि गठबन्धनमा फाटो र तनाव ल्याउने कार्ड एकैपटक फ्याँकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव र सहकारी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आक्रामक रणनीतिलाई कांग्रेसले प्राथमिकतामा राखेको छ ।
अकस्मात् गठबन्धन टुटेपछि सरकारविरुद्धका मोर्चामा कांग्रेसका संस्थापन र इतर गुट एक भएर प्रतिवाद गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा स्वार्थ बाझिएको गृह मन्त्रालयमा रवि जोडिएलगत्तै देखि कांग्रेसले राजीनामाको दबाब बढाएको छ । यो दबाब र छानविनले दोषी देखाए रवि सरकारबाट बाहिरिन सक्ने र नयाँ समीकरण बन्ने बाटो पनि कांग्रेसले हेरेको नेताहरू दाबी गर्छन् । सके अहिलेकै गठबन्धनमा फाटो ल्याएर फेरि बहुमतका लागि फ्लोर खुला गर्ने नभए वैकल्पिक गठबन्धनसम्म पुग्नेगरी प्रजातान्त्रिक शक्तिहरूलाई एकजुट बनाउनुपर्ने कांग्रेसभित्र मत बलियो छ । अहिलेको सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सबै कम्युनिष्ट र यसै पृष्ठभूमिका हुन् । यीबाहेक गत निर्वाचनबाट उदाएको चौथो ठूलो दल रास्वपा निर्णायक भएकाले नै यो गठबन्धनमा समेटिएको छ । रास्वपा गैरकम्युनिष्ट शक्ति भए पनि सरकार टिकाउने प्रयोजनका लागि मात्र उसको महत्व देखिएको छ । कांग्रेसले पनि आफूसहित राप्रपा, लोसपा, जनमत पार्टीलाई लिएर वैकल्पिक लोकतान्त्रिक मोर्चाको कसरत आवश्यक ठानेको नेताहरू बताउँछन् । एकातिर कम्युनिष्ट दलको मोर्चा बन्दै गर्दा सत्ताबाहेकका दलसँग एकाकार भएर थप दबाब बढाउन सकिने बुझाइ कांग्रेसको छ ।
लोकतान्त्रिक शक्तिबीच सहकार्य मात्रै होइन, धेरै कुराको आवश्यकता भएको बताउँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भन्नुभयो, ‘हामी गठबन्धनप्रति इमानदार हुँदाहुँदै फेरिएको समीकरणपछि नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा छौँ । तत्काल कुनै मार्चाबन्दीकै तयारी त छैन, तर विचार मिल्नेसँग अगाडि बढ्नुपर्छ भन्ने पाठ हामीलाई भएको छ । यस्तो आवश्यकता महसुस भएको विषय उठेका छन् ।’
पार्टीको आगामी केन्द्रीय समिति बैठकमा नेताहरूले व्यक्त गर्ने विचारपछि मोर्चाबन्दीबारे एउटा निर्णय लिने कांग्रेसका नेताहरूको भनाइ छ । कांग्रेस नेता गुरु घिमिरेले नयाँ प्रजातान्त्रिक जनमतका लागि कांग्रेस अग्रसर हुनुपर्ने जिकिर गर्नुभयो । गैरकम्युनिष्ट साना दलहरू पनि प्रजातान्त्रिक मोर्चा बनाउनुपर्ने पक्षमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव सुरेन्द्र झाले विश्वास गर्न नसकिने कम्युनिष्ट र अवसरवादी रास्वपाको विकल्पमा प्रजातान्त्रिक शक्तिबीच सहकार्य आवश्यक भइसकेको दाबी गर्नुभयो । ठूलो दल कांग्रेसले वैकल्पिक प्रजातान्त्रिक धारको सहकार्यको पहल गर्नुपर्ने झाको जोड छ ।
नयाँ समीकरणलाई वामपन्थी गठबन्धनका रूपमा नबुझौँ : पोखरेल
सत्तारूढ गठबन्धनको प्रमुख घटक नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा, गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गर्नुभएको छ । अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको आधारमा भएको प्रष्ट पार्दै महासचिव पोखरेलले भन्नुभयो, ‘अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य पनि होइन । यद्यपि, त्यहाँ वामपन्थी दलको सहभागिता बढी छ । यो सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य हो । त्यसमा सहमत भएका दलहरूको सहकार्य हो । हामीले जे हो त्यही रूपमा बुझ्नुपर्छ । यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्देलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन ।’ महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजानेसमेत बताउनुभयो ।
अहिलेको गठबन्धन झगडाले समाप्त हुनेछ, सत्तामा जान हतार नगरौँ : पौडेल
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी सत्तामा जान हतार गर्न नहुने बताउनुभएको छ । कांग्रेसका लागि सत्ता ठूलो कुरा नभएको दाबी गर्दै नेता पौडेलले भन्नुभयो, ‘कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन । पर्खेर बसौँ, यो देशले कांग्रेसलाई फेरि सत्तामा पु¥याउँछ । सत्ताका निम्ति हतार नगरौँ, अहिले जुन गठबन्धन बनेको छ त्यो चिरस्थायी हुँदैन, उहाँहरू आफैँमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ ।’
मध्यावधि रोक्न प्रदेश सरकारको नेतृत्व नफेरौँ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायी गठबन्धन कुनै नहुने भएकाले प्रदेश सरकार परिवर्तन नगर्न आग्रह गर्नुभएको छ । सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृहकार्य चलिरहेको बेला नेता कोइरालाले संघीयताविरोधी स्वरलाई मलजल गर्ने भएकाले नेतृत्व फेर्न नहुने तर्क गर्नुभएको हो । मंगलबार सामाजिक सञ्जालमा नेता कोइरालाले लेख्नुभएको छ, ‘निर्वाचन भएको डेढ वर्षमै पटक–पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि बेठिक हुन् । हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धनअनुरूप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिएको छ । मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले संघीयताविरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौँ र हालका प्रदेश सरकारहरूलाई स्थायित्व दिऊँ ।’
राजनीतिमा छट्टुहरू हाबी हुन थाले : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई इमानदार र योग्य मानिसहरू चाहिएको बताउनुभएको छ । मुलुकको राजनीतिमा विस्तारै छट्टुहरू हाबी हुन थालेको टिप्पणी गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘कांग्रेसलाई इमानदार पनि, सँगसँगै योग्यताका निम्ति प्रयत्न गर्ने मानिसहरू बढी चाहिएको छ । राजनीति विस्तारै कस्तो हुन थाल्यो भने छट्टुहरू हाबी हुन थाले । छट्टुहरू आउँछन्, लटरपटर पार्छन्, झुक्याउँछन्, यसो रंगरोगन गर्छन् र जान्छन् । हामीलाई छट्टुहरू चाहिएको होइन । गति छ मति छैन, मति छ गति छैन । हामीलाई त गति र मति दुवै चाहियो ।’ राजनीति गर्नेहरूलाई मलाई सबैकुरा थाहा छैन भन्ने ख्याल गर्नुपर्ने स्पष्ट पार्दै महामन्त्री थापाले भन्नुभयो, ‘आजभोलि त राजनीति गर्ने ठाउँमा जतासुकै भगवान् छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच