✍️ डी.आर.राई
साहित्य सिर्जनामा कतिपय सन्दर्भ सामग्रीहरू संशोधन वा पुनर्लेखन गर्न सकिन्छ । तर, पौराणिक कथालाई न त परिमार्जित गर्न सकिन्छ न त अर्को कुनै उपाय नै छ । त्यसको विज्ञ न जन्मेको छ, न त अब जन्मन्छन् नै । व्यासले लेखेका ग्रन्थहरू जे जस्तो थियो र छ, त्यो नै पूर्ण या अधुरो जे भने पनि आखिर त्यसैलाई मान्दै आएको देखिन्छ । त्यसको व्याख्या, विश्लेषण, खोज अनुसन्धान र टीका-टिप्पनीको भुमरीभित्र अल्मलिनु यो युगको नियति हो । र पनि जसले जति अध्ययन गर्छ र गहिराइभित्रको गहिराइ खोतल्दै जान्छ उसले केही न केही अनुभूत गरेको हुन्छ । दुई हजार सत्र सालमा जन्मेको व्यक्तिले हजारौं वर्षअघिको कालखण्डलाई ताजा बनाउँदै नविन प्रस्तुतिमा सजाइएको पौराणिक कथा भनौँ या आख्यान, राधा भएर जन्मिएको छ ।
धर्मग्रन्थको ठेलीहरूमा राधा नाम जसरी जन्मिए र ख्याति कमाए । त्यसैलाई आधार मानेर लेखक कृष्ण धराबासीले राधाको जन्म दसौं अंकमा पुर्याएर आफ्नो परिचयलाई थप चम्काउनुभएको छ । पत्रकारिता पेशाबाट सुरु गरिएको कथाशृङ्खलाले गाउँदेखि शहरसम्म, दरबारदेखि रैतीसम्म, राजादेखि रङ्कसम्म, प्रेमदेखि युद्घसम्म, सागरदेखि हिमवतखण्डलाई जोड्दै, घुमाउँदै आखिर किचकवधमा ल्याएर बिट मारेको पाइन्छ । उत्खनन् गर्ने क्रममा अति पुराना प्राचीन कालको सन्दुक भेटिन्छ । त्यसभित्र भएका बुझ्न नसकिने अक्षरहरूलाई मन्दिरमा बस्ने स्वामी बाबाले पढेर सुनाउन थालेपछि कथावस्तुले पहिलो अध्यायको पे्रमिल बाटो पहिल्याउँछ । सुरुवातबाट नै माया प्रेम र किशोरावस्थाले सिर्जना गरेका संवादहरूले मिठो भाका टिपेको छ ।
राधा, सुशीला र विशाखाले गरेको संवादहरू वास्तवमै नारीभित्रको प्रेमातुर चेत, पुरुषप्रतिको माया, संवेदनशीलता, डाहा, उदासीनता र पुरुषलाई आकर्षित गराउने लजाजु भावभङ्गीलाई पुरुष लेखकले कसरी यत्तिका बुझेर उतार्न सकेको होला, भन्ने लाग्छ ।
प्रसङ्ग कृष्ण, राधा र सखीहरूको उटपट्याङ कुरा र व्यवहारभित्र लोभलाग्दो प्रेमाङ्कुरको आभासले पाठकलाई पनि कसिलो महसुस गराउँछ । उमेर अनुसार एकअर्कामा मायाभाव जाग्रित भए पनि कसरी आफ्नो बनाउने र म कसरी उसको बन्न सक्छु भन्ने एक प्रकारको हुटहुटीलाई बाहिर ल्याएको छ । लेखक आफैँ त्यो उमेरमा उभिएर राधामार्फत भन्छ ‘म मुरलीजस्तै कृष्णको हातमा तेर्सिएकी छु । कृष्णले मेरो ओठमा आफ्नो ओठ राखेर फुकिरहेछन् र उनको सुन्दर औंलाहरू मेरा अङ्गअङ्गमा स्पर्श गरिरहेछन् ।’ यता राधा, सुशीला र विशाखाले गरेको संवादहरू वास्तवमै नारीभित्रको प्रेमातुर चेत, पुरुषप्रतिको माया, संवेदनशीलता, डाहा, उदासीनता र पुरुषलाई आकर्षित गराउने लजाजु भावभङ्गीलाई पुरुष लेखकले कसरी यत्तिका बुझेर उतार्न सक्यो होला, भन्ने लाग्छ ।
गर्भावस्थादेखि नै कृष्णले युद्घको भारी बोक्नु कथासारको जग हो । कृष्णको जन्म, बाल्यावस्था, चिनारी र सुन्दरताको वर्णनले वास्तवमै कृष्णको चरित्रलाई छर्लङ्ग पारिएको छ । राधामात्र नभएर सारा गोपिनीहरू आशैआशले कृष्णलाई पच्छयाइरहनुमाको दोषीविपरीत लिङ्गीमा हुनुपर्ने गुण हो । नवयौवनाहरू आआफै कुरा गरिरहेका हुन्छन् ‘शारीरिक भोक त कति नै गर्छन् र मान्छेले, भोग्ने भनेको मनले हो ।’ सबैको आकर्षण कृष्ण एक भएपछि लेखकको चलाखीपूर्ण लेखाइले धेरै कुरा समेटेको देखिन्छ । चञ्चले उमेरको मायामा होस् या कंसले कृष्णलाई खोजिरहेको बेला होस्, कृष्णले स्त्रीको रूपधारण गरेर राधालाई घरैमा भेट्न जानुले प्रेमको आशक्तिलाई पुष्टि गर्दछ ।
अर्कै आमाको दूध चुसेर हुर्केको कृष्णलाई अत्यचारी दुष्ट कंसबाट बाँच्न आखिर बज्रबाट दाजु बलारामसँग ओझेल पर्नु बाध्यता थियो । भित्रभित्रै युद्घको तयारी हुँदै गर्दा अनेक चालबाजी र जालझेलहरूको रणनीतिक योजनामा राधालाई कंसले वज्रको जिम्मेवारी दिनु पनि विजयको झिल्को थियो । पढ्दै जाँदा यस्तो लाग्छ कि अब कहिले युद्घ होला र कृष्ण या कंस, कसले कसको वध गर्ला भन्ने जिज्ञासाले तानिरहन्छ । कृष्णको गोप्य युद्घ तयारी, उता मथुराका घमण्डी राजा कंसको सन्त्रासले अब के होला; आतुरताले पढ्न प्रेरित गर्दछ ।
परिबन्दमा परेर कृष्णले वज्र छाडेपछि राधाबाट टाढिँदै जान्छ । मथुरा र द्वारिकामा भव्य समारोह हुँदा सारा ब्रजवासी गए, तर राधा गइनन् । कृष्ण नै मलाई लिन वा भेट्न आउनुपर्छ भन्ने राधाको जिद्दीपनले एउटी नारीको सौन्दर्यलाई नै धमिल्याउन सक्छ भन्ने दृष्टान्त दिएको देखिन्छ । आखिर कृष्णले रुक्मिणीसित विवाह गरे । फेरि पछिबाट सातवटी श्रीमती थपे । पात्रानुसारको भूमिका र संवादहरूमा भाषाको विशिष्टता र सही शब्द चयनले लेखन क्षमतालाई जो कोही पाठक वा विश्लेषकले राम्ररी मूल्यङ्कन गर्न सक्ने छ । राज्य विस्तारसँगै नरकासुरको वध गरेपछि त्यहाँको सोह्रहजार एकसय बन्दी यवतीलाई कृष्णले पत्नी बनाएपछि राधा सन्न्यासी भएर सांसारिक यात्रामा हिँडी ।
बाटोमा सुशीलाले युद्घमा वीरगति प्राप्त गरेको स्थानलाई स्थापित गर्दै अन्यत्र भिक्षाटन गर्दै यात्रारत रहिरहे, साथमा विशाखा थिई । महिनौं महिनाको यात्रामा कति निर्जनवन, अनेक नदीतटहरू पार गर्दै दुर्गम गाउँमा पुगेर पिल्लीको घरमा शरण लिन पुग्छ । राधाले विशाखाको मनोदशा बुझेर पिल्लीको साथ द्वारिका फर्किने क्रममा सिद्घआश्रममा कृष्णलाई भेटपछि फेरि द्वारिका फर्किन्छ । कृष्णले द्वारिकामा धेरै ब्रजवासीहरूलाई स्थानतरण गरिसकेका थिए । कृष्णले बनाइदिएको प्रेमको प्रतिक ‘राधाभवन’ मा केही दिन बसेपछि राधाको मन मान्दैन । कृष्णले राधालाई एकान्तमा सम्झाएको प्रसङ्ग बडो चाखलाग्दो छ ।
‘राधा’ उपन्यास भनौँ या पुराण जे भने पनि राधाले आफ्नो जीवन कहानी सात महिना लगाएर लेखेको प्राचीन दस्ताबेज भेटेपछि लेखक कृष्ण धराबासीले यससँग सम्बन्धित ग्रन्थहरूको अध्यायन, खोज अनुसन्धन गरी प्रेमको गहिराई र युद्घको चरम् उत्कर्षलाई सन्तुलनमा राखेर एउटा उत्कृष्ट कृति दिनुभएको छ ।
कृष्णले पहिला राधालाई खोज्दै हिँड्ने क्रममा कुनै युवतीमा राधाको कुनै सानो अंश मिलेजस्तो लागेपछि राधा सम्झेर भेटेजति सबै नवयौवनालाई पत्नी बनाएको भनाईले राधाप्रतिको असिम प्रेमलाई प्रमाणित गराउँछ । राधाले पनि बेलाबेला आफ्नो सौन्र्दयलाई आफैंले स्वीकार्दै भन्छे ‘चाहिने त फेरि सुन्दरता नै हो, तर त्यै सुन्दरता आफैलाई बोझ हुँदा रहेछ ।’ राधाको खोजीमा कृष्ण भौंतारिनु र राधाले वैष्णवी रूपधारण गरेर हिँड्नु खासमा यो आख्यानको मूलमन्त्र मान्न सकिन्छ र त्यसैको कौतुहलताले पाठकलाई यात्रा गराइरहन्छ ।
कंसको शासनकालमा दरबारभित्रको शोषण, यौनहिंसा, दमन, अत्यचारजस्ता कुराहरूलाई उठाइएको पाइन्छ भने उता सामान्य गाउँको सरल जीवन, एक अर्काबीचको सहयोग, सद्भाव, दयालु मन, सत्विचार, मिलनसार स्वभाव, ब्र्रजको गोप र नारी स्वतन्त्रता जस्ता काम व्यवहारलाई फरक देखाउने कोसिस गरिएको देखिन्छ भने सत्ता र शक्तिको लागि जे पनि गर्ने, स्वार्थको लागि जसको पनि वध गर्ने, दाजुभाइ फुटाउने दाउपेज जस्ता विषयवस्तुलाई उठाउँदै भारतवर्षदेखि पाण्डव र कौरवबिचको युद्घलाई जोडेर उपन्यासलाई पठनीय बनाएको छ ।
एकनंशाले राधालाई दरबारभित्र र बाहिरका कुराहरू, अनि कृष्णका कुराहरू सुनाएपछि राधा फेरि द्वारिका छाडेर अनन्त यात्रामा निस्कने भएपछि कृष्णले राधालाई सम्झाउँदा घण्टौसम्म राधा कृष्णको छातीमा टाँसिएर आँसु बगाए तर एकै वचन फुटेन दुवैको । यस्तो लेखिरहँदा उपन्यासकार पनि शून्यताभित्र हरायो होला, सायद । अन्त्यमा कृष्णले राधालाई हस्तिनापुरसम्म पुर्याएपछि त्यहाँ पनि अनेक कुराहरू सुन्ने क्रममा पाण्डुबाट सन्तान नभएपछि उसैको स्वीकृतिमा अरूले विर्यदान गरेर बच्चा जन्माइदिनुपर्ने नारीहरूको बाध्यता पनि राधाले सुनिन् । यौनहिंसा, पुरुषको एकाधिकारबाट मुक्ति दिलाउन राधामा विद्रोहको मुना टुसाउँदै गएको रोचक प्रस्तुतिले मनभित्र हलचल गराइरहन्छ ।
हिमाली भेगमा शेर्पा दाजुभाइको पत्नी एउटै हुने चलन, दरबारमा होस् या गाउँ शहरमा नारी माथिको अत्यचार । पाँच पाण्डवको पत्नी द्रोपदी एक्ली हुनु र कृष्णको हजारौं पत्नी हुनु के हो ? यस्ता प्रश्नहरू राधाको अभियान भएर अघि लाग्छन् । हिमवन्तखण्डको यात्रामा भेटिएका बाटो देखाउने सहयोगी शेर्पा युवकलाई सन्यासी राधाले झिनो माया देखाउनु ? पिल्लीले सागरको सिपी र शेर्पा युवकले हिमालको जीमाला चिनो विनिमय गर्नुको पछाडि माया मात्र होइन, सागर र हिमाललाई जोडेर लेखकले अर्थपूर्ण सन्देश दिन खोजेको देखिन्छ ।
समग्रहमा ‘राधा’ उपन्यास भनौँ या पुराण जे भने पनि राधाले आफ्नो जीवन कहानी सात महिना लगाएर लेखेको प्राचीन दस्ताबेज भेटेपछि लेखक कृष्ण धराबासीले यससँग सम्बन्धित ग्रन्थहरूको अध्यायन, खोज अनुसन्धन गरी प्रेमको गहिराई र युद्घको चरम् उत्कर्षलाई सन्तुलनमा राखेर एउटा उत्कृष्ट कृति दिनुभएको छ । तर कतिपय सहायक पात्रा, पात्रहरूमा एकनंशा र बलारामको संवाद र चरित्र चित्रण अलि थोरै भएजस्तो लाग्छ । मुख्य पात्रा राधालाई पिल्लीको विकट गाउँमा पु¥याए पनि आञ्चलिकताको प्रयोग भेटिँदैन । कथानक संरचना मजबुत छ ।
आदि खण्डबाट पत्रकारिताले उठाएका सवाल र उत्खनन् गरेका विषयवस्तुलाई साधुबाबाले उठान गरेको प्रेम कहानीमा आधारित कथाशृङ्खला एकदमै घतलाग्दो छ, लेखनशैली सरल, सरस छ । मध्यखण्डले लामो यात्रा गराए पनि पढ्दा थकाई लाग्दैन । जहाँ युद्घको तयारीदेखि भीषण लडाइँसँगै बेलाबेला प्रेम प्रसङ्गलाई घुसाएर आख्यानलाई सुन्दर बनाएको छ । राज्य बिस्तारसँगै पाण्डव र कौरवको युद्घमा कृष्णलाई निर्णायक भूमिकामा राखेको देखिन्छ । ठूलो सभामा कंस र कृष्णको भेटपछिको वध र आमूल परिवर्तन । उपन्यासको अन्त्य खण्डमा राधा र कृष्णको विछोड भए पनि एक अर्काबीचको रहस्यमयी माया संसारभर फैलाएर जीवन्त बनाएको छ ।
लिङ्गीय विभेदको मुद्दासँगै पारिवारिक वैरभावले निम्त्याएको परिणामलाई उजागर गरेको पाइन्छ । स्वैरकल्पनाको विराट फाँटदेखि ब्रज, मथुरा, हस्तिनापुर, हिमवन्त क्षेत्र, मानसरोवर, कालीगण्डकी हुँदै कोचनगरमा आइपुगेपछि भीमसेनले किचकवध गरेको खुलासा हुन्छ । त्यसपछि मात्र उपन्यासकार धराबासीले कुरुक्षेत्र युद्घको प्रत्यक्षदर्शी आश्वत्थामा बाबासँग भेट गराएर सुन्दर तरिकाले ‘राधा’ लाई टुङ्ग्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच