हेटौंडा सिमेन्टका २७ जना पूर्व कर्मचारी आन्दोलित

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 4 mins

हेटौंडा । हेटौँडा-९ स्थित लामसुरेमा रहेको हेटौँडा सिमेन्ट उद्योगका पूर्व कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अवकाश पाएको करिब २ वर्ष बितिसक्दा पनि उपदानबापतको रकम प्राप्त नगरेको भन्दै २७ जना पूर्व कर्मचारी आन्दोलित बनेका छन् । अवकाश पाएको ३५ दिनभित्र उपदान रकम भुक्तान गर्नुपर्ने व्यवस्था भएता पनि उद्योग प्रशासनले रकम दिन बेवास्ता गरेपछि उद्योग प्रशासनको गेटमा कर्मचारीले धर्ना सुरु गरेका हुन् ।

गत चैत १५ गतेदेखि दैनिक २ घण्टाका दरले धर्ना सुरु गरेका छन् ।पुराना कर्मचारीले चैत १५ गतेदेखि २३ गतेसम्म बिहान १० बजेदेखि १२ बजसम्म प्रशासन भवन अगाडि दैनिक धर्ना दिने, २५ गतेदेखि ३० गतेसम्म धर्ना दैनिक १ घण्टा बढाउने निर्णय गरेका छन् । माग पूरा नभए धर्ना दिने समय बढाउँदै लैजाने र वैशाख १५ गतेसम्म पनि माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने पूर्वकर्मचारीले चेतावनी दिएका छन् ।

अवकाश पाएका कर्मचारीलाई तहअनुसार ४० लाखदेखि ८० लाख रुपैयाँसम्म प्रतिव्यक्ति भुक्तानी दिनुपर्नेछ । अहिलेसम्म २७ कर्मचारीको उपदानबापतको करिब १८ करोड भुक्तानी दिन बाँकी रहेको संघर्ष समितिका सहसंयोजक शिव अधिकारीले जानकारी दिनुभयाे । ‘उद्योगले हाम्रो उपदान दिन आलटाल गरिरहेको छ, उपदान दिने मनसाय नै नदेखिएको उहाँले बताउनुभयाे ।

पुस २५ गते भएको वार्ताबाट पालैपालो गरी २०८० असार मसान्तसम्म सबै कर्मचारीलाई उपदान रकम दिइसक्नेगरी उद्योग प्रशासनले सहमति गरेको थियो । सो सहमतिबमोजिम उद्योग प्रशासनले हालसम्म एक जनालाई मात्र उपदानबापतको रकम दिएको र तोकिएको समयभित्र सबैजनाले उपदान नपाउने निश्चित भएपछि पुनः आन्दोलनमा उत्रनुपरेको संघर्ष समितिका सहसंयोजक अधिकारीले बताउनुभयाे ।

हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले भने पूर्वकर्मचारीको माग जायज भएको तर, उनीहरुलाई उपदान रकम उपलब्ध गराउन उद्योगसँग रकम नै नभएका कारण समस्या भएको बताउनुभयाे । ‘सिमेन्ट बिक्रीको अवस्था निराशाजनक छ, उत्पादन लागत बढी भएका कारण हामी निरन्तर घाटामै छौँ । यस्तो अवस्थामा उहाँहरुलाई उपदान रकम भुक्तानी दिन सकिएन, ’ उहाँले भन्नुभयाे । उद्योगको अवस्थाको बारेमा उद्योग मन्त्रालयमा जानकारी गराएको र उपदानलगायतको दायित्व रकम भुक्तान गर्नेबारे निर्णय गर्नसमेत आफुले आग्रह गरिरहेको पाण्डेले बताउनुभयाे ।

उपदान रकम नपाएपछि पूर्वकर्मचारीले यसअघि गत पुसमा पनि धर्ना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *