काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनिज (नासआइटी), अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल)ले आइटी उद्योगमा सरकारको कर नीतिप्रति आपत्ति जनाएका छन् । पछिल्लोपटक सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरूलाई दुरुत्साहित गर्ने तथा निजी क्षेत्रको मनोबल घटाउने गरी भएको गतिविधिले गम्भीर ध्यानाकर्षण गरेको उल्लेखित संगठनहरूले जनाएका छन् ।
करलगायतका विषय कानुनी दायराभित्र रही कानुनमा तोकिएबमोजिम तथा हालसम्म गर्दै आएको कर व्यवहारसमेतको बर्खिलाप हुने गरी फरकरूपमा नयाँ प्रयोगात्मक स्वरूपमा व्याख्या गरी अनावश्यकरूपमा आइटी उद्योगलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न हुनु दुखद भएको बताइएको छ । यस्ता कार्यले समग्र सूचना प्रविधिसँग सम्बन्धित उद्योग धरासयी बनाउने भन्दै सम्बद्ध संगठनहरूले सरकारलाई सचेत गराएका छन् । प्रचलित कर कानुन र व्यवहारभन्दा फरक गतिविधिले चिन्तित बनाएको ती संगठनहरूको गुनासो छ ।
नेपालमा सम्भावित लगानीको अवसरलाई खुम्च्याए प्रविधि हस्तान्तरणको कार्य रोकिने, भइरहेका एवं अब हुने रोजगारी बन्द हुने, नेपालीको प्रतिस्पर्धी क्षमता घट्ने, राजस्वसमेत प्रभावित भई नेपालको समग्र अर्थतन्त्रमा नराम्रो असर पर्नेतर्फ गम्भीर भई तत्काल न्यायोचित समाधानको खोजी गर्नसमेत सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
उल्लेखित संगठनहरूद्वारा शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको कर कानुन समानरूपमा लागू हुनुपर्दछ र हरेक व्यक्ति तथा कम्पनी यसको परिधिभित्र रहनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ । तर, कर कानुनको गलत व्याख्या गरी/गराई कसैलाई अनावश्यक तरिकाबाट कर लगाउनु, फौजदारी कारबाही चलाउनुले विस्तारै बढ्ने क्रममा रहेको आइटी उद्योग र यसले रोजगारी र राजस्वमा गरेको योगदानमा असर पर्न जाने हुँदा सरकारी निकायबाट भएको अस्वाभाविक निर्णय तत्काल सच्याई यस्ता उद्योग तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण रहेको आश्वस्त पार्न हामी अपिल गर्दछौँ ।’
उच्च महत्व र अपेक्षासाथ सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएका यस्ता निर्णयले लगानीकर्तामाझ सकारात्मक सन्देश नजाने भन्दै आइटी उद्योगको अधिकतम् हितको रक्षार्थ तथा कानुनी र नीतिगत स्पष्टता कायम गरी व्यावसायिक वातावरण बनाउन सरकारी एवं सरोकारवाला निकायलाई अनुरोध गरिएको छ । नेपालको सूचना प्रविधि उद्योग सुरुवाती अवस्थामै रहेको र क्रमशः अघि बढ्ने क्रममा रहेको र आइटी उद्योगसँग प्रत्यक्षरूपमा विदेशी लगानी वा नेपालीलाई रोजगारी दिएका रोजगारदाताको संलग्नता रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच