नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध सृजना भएको छ । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै सिसडोलवासीले फेरि फोहोर विसर्जनमा अवरोध गरेका हुन् । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न गएका गाडी शनिबार बिहान नुवाकोट र धादिङका स्थानीय बासिन्दाले रोकेका थिए । ‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट-धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानव बस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको हो ।
शनिबार बिहान तीन/चार घण्टा फोहोर बोकेका गाडी रोकिएका थिए । फोहोर विसर्जनमा अवरोध गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो ।
शनिबार बिहान फोहोर बोकेर गएका टिप्परहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । सरकारले फोहोरमैला व्यवस्थापनदेखि विसर्जन गर्नेसम्मको कार्यमा हड्ताल गर्न नहुने उल्लेख गर्दै त्यस्ता सेवालाई अत्यावश्यक सेवामा समावेश गरेको छ । अत्यावश्यक सेवामा हडताल गरे सरकारले तत्काल हडताल गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नसक्छ । आन्दोलनरत स्थानीयका अगुवालाई नियन्त्रणमा लिएपछि फोहोर विसर्जन गरेको थियो । नियन्त्रणमा लिइएकाहरू शनिबार साँझै छुटिसकेका छन् ।
यता, काठमाडौं महानगरपालिकाले भने तीन/चार घण्टा स्थानीयले अवरोध गरे पनि फोहोर विसर्जन भएको जनाएको छ । महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले फोहोर विसर्जनमा ठूलो समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोहोरका गाडी धेरैजसो राति नै गइसकेका थिए । बिहान केहीबेर समस्या भएको हो । दिउँसो नियमित फोहोर विसर्जन गरिएको छ ।’ स्थानीयको अवरोधबारे भने उहाँले अनभिज्ञता प्रकट गर्नुभयो । अब नियमित फोहोर विसर्जन भइरहने उहाँको दाबी थियो ।
समितिका संयोजक श्रीराम ढुंगानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिए पनि सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाइएको बताउनुभयो । शनिबार बिहानैदेखि फोहोर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुँडुले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको उहाँले बताउनुभयो । फोहोर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहोर फाल्न नदिने उहाँले चेतावनी दिनुभयो । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहोर विसर्जन हुने गरेको छ ।
हाम्रो आन्दोलन जारी छ : श्रीराम ढुंगाना
हामीले शान्तिपूर्ण आन्दोलन गरेका थियौँ । यो आन्दोलन हाम्रो धेरै पहिलेदेखिको हो । प्रहरीले बल प्रयोग गरेर हामीहरूलाई नियन्त्रणमा लियो । हामीलाई नियन्त्रणमा लिएपछि फोहोर विसर्जन भयो रे । अब यिनीहरू (काठमाडौं महानगर)सँग कुरा हुँदैन । मानवसँग पो कुरा गर्ने हो । यिनीहरूलाई मैले दानव भन्दै आएको छु । मानवीयता नभएका दानवसँग कुरा हुँदैन । हाम्रो शान्तिपूर्ण आन्दोलन जारी नै छ । जारी रहन्छ । अब हामी विभिन्न सरोकारवालाहरूसँग भेट्छौँ । मन्त्रीहरूसँग छलफल गर्छौं । आइतबार प्रधानमन्त्रीले भेट्न बोलाउनुभएको छ । उहाँसँग कुरा गर्छौं । उहाँको जवाफ के आउँछ ? त्यसपछि कस्तो आन्दोलन गर्ने भन्ने तय हुन्छ ।
आन्दोलनलाई केसीको ऐक्यबद्धता
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिसडोल-बञ्चरेडाँडावासीको आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ । शनिबार बञ्चरेडाँडा पुगेर उहाँले आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको हो । सांसद केसीले ल्याण्डफिल साइटको विषय काठमाडौं र नुवाकोटको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले फोहोर व्यवस्थापनको विषयमा बञ्चरेडाँडामा भइरहेको विषयप्रति सबैले थाहा पाउनुपर्ने बताउनुभयो । ल्याण्डफिल साइटमा पत्रकारहरूलाई प्रवेश रोक लगाइएको विषयमा पनि सांसद केसीले भत्र्सना गर्नुभयो ।
संघ र स्थानीय सरकारसँग यस्ता छन् माग
केन्द्र सरकारसँगका माग
१. मानव बस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र ।
२. फोहोरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र ।
३. फोहोरमैला प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन ।
३. फोहोरमैला विकास प्राधिकरण गठन र फोहोरमैलासम्बन्धी उद्योग स्थापना ।
४. बन्चरेडाँडा दीर्घकालीन ल्याण्डफिल साइटलाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने ।
५. ल्याण्डफिल साइट क्षेत्रमा त्रासदी बढाउन खडा गरेको सशस्त्र प्रहरी पोस्ट तत्काल खारेज गर्नुपर्ने ।
६. प्रभावित क्षेत्रका दुई सय जनालाई सरकारी सेवा अवसर दिनुपर्ने ।
७. नेपवेस्ट प्रालिसँग सरकारले गरेको सम्झौता खारेज गर्नुपर्ने ।
८. फोहोरमैला व्यवस्थापन ऐन, ०६८ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, ०७९ खारेज गर्नुपर्ने ।
९. ल्याण्डफिल साइटसम्बन्धी प्रस्ताव गरिएका कामहरू द्रुत कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने ।
काठमाडौं महानगरपालिकासहित स्थानीय सरकारसँगका माग
१. ल्याण्डफिल साइटमा मानव बस्तीनजिक खडा गरेका सशस्त्र प्रहरी पोष्ट खारेज गर्नुपर्ने ।
२. कोल्पुखोलामा लिचेड मिसाउन बन्द गरी त्यहाँको पानीलाई पूर्ववत् अवस्थामा स्वच्छ कायम गर्नुपर्ने ।
३. फोहोरमैला व्यवस्थापनमा भएको अदृश्य भ्रष्टाचारको छानविन गर्नुपर्ने ।
४. फोहोरमैला ढुवानी गर्ने सवारीसाधन महासंघ र नगरपालिकाले प्रमाणीकरण गरी अप्रिय परिस्थितिको जवाफदेही बन्नुपर्ने ।
५. सिसडोल बन्चरेडाँडा साइटमा २०६२ सालदेखि हालसम्म काम गर्न राखेका स्थानीय सबै कामदारलाई स्थायी नियुक्ति दिई १० लाखसम्मको जीवन बिमा गर्नुपर्ने ।
६. प्रभावित क्षेत्रका दुई सयजना महिला तथा पुरुषलाई सरकारी सेवामा समावेश गर्नुपर्ने ।
७. तीनपिप्लेदेखि बन्चरेडाँडा सम्मको सडकमा पर्ने जग्गाको मुआब्जा भुक्तानी गरी चारलेन सडक निर्माण गर्नुपर्ने ।
८. फोहोरमैला ढुवानीका लागि आठ माइल देवकोटा टोल–ढाँडे–बन्चरेडाँडा सडक द्रूत प्रक्रियाद्वारा निर्माण गर्नुपर्ने ।
९. फोहोरमैला ढुवानीका साधन दुर्घटनाबाट मृत्यु भएका, बस्तीमा भएको वातावरण विनाशको १८ वर्षसम्मको अनुमानित क्षति ४५ अर्बभन्दा धेरै भएकाले उच्चस्तरीय संसदीय संयुक्त छानविन समितिको प्रतिवेदनबमोजिन भुक्तानी दिनुपर्ने ।
१०. ल्याण्डफिल साइटमा फोहोरमैलासम्बन्धी उद्योग द्रुत प्रक्रियाद्वारा स्थापना गर्नुपर्ने ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच