म्याग्दी । नीलो आकाश मुनि हरियो पहाडमा रातै फुलेका लालीगुराँस । क्षितिजपारी दन्तेहलर जस्ता चाँदी झै टल्कने सेता हिमाल । तरेली परेको भिरालो भूगोलमा ढुङ्गाको सिंडि बनाएर चिटिक्क पारिएको पदमार्ग । प्रकृतिको यौवन छचल्किए जस्तो देखिने म्याग्दीको दुरु लेकमा पर्यटकीय पूर्वाधारहरु निर्माण भए पछि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीय स्थल दुरुलेक पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ ।दुई वर्षअघि गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब रु ३० लाखको लागतमा यहाँ पदमार्ग, शत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेकमा आन्तरिक पर्यटकहरु पुग्न थालेका मालिका गाउँपालिका वडा नं २ का वटाअध्यक्ष उदयकुमार बूढाथोकीले बताउनुभयो ।
वडाअध्यक्ष बूढाथोकीका अनुसार समुद्री सतहदेखि तीन हजार,चार सय ८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गरेका हुन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रूपमा दुरुलेक महत्वपूर्ण रहेको छ ।
वडाअध्यक्ष बूढाथोकीले भन्नुभयो “पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरु रमाउन आउने गरेका छन् । विशेषगरी बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउन थालेका हुन् । गण्डकी प्रदेश सरकारको थप रु १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएपछि बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ ।”
मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि दक्षिण भागमा पर्ने रुम गाउँ कुल २०.७४ वर्ग कि.मी मा फैलियको छ । यहाँको अधिकांश भाग वन क्षेत्रले ओगटेको छ । गाउँको शिरानमा पर्ने दुरुलेकमा लालीगुराँसको घनाजङ्गल, दर्जनौँ हिमालको दृश्य तथा म्याग्दी बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीका डाडाँकाडा हेरेर रमाउन पर्यटक आउने गरेका छन् । यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरीलगायत हिमाल नजिकबाट देख्न पाइने मालिका गाउँपालिका २ रुमका वडासदस्य समेत रहनुभएका भक्तबहादुर पुनले बताउनुभयो ।
वडासदस्य पुनले भन्नुभयो “प्राकृतिक दृश्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ । पर्यटकलाई मठ्ठा चढाउने भीरले पनि थप आकर्षित गरेको छ । वसन्त ऋतुसँगै लालीगुराँस फुल्ने हुँदा पर्यटक दुरुलेक पुग्छन् । पर्यटकको बसाइ लम्ब्याउनका लागि पूर्वाधार निर्माणमा जोड दिइरहेका छौँ ।”
जिल्ला सदरमुकाम बेनीबजारदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम, घाङ्लेपानीसम्म सवारीसाधनमा यहाँ पुग्न सकिन्छ । घाङ्लेपानीबाट करिब चार घण्टामा लालीगुराँसको घनाजङ्गल हुँदै गाई भैँसी र भेडा बाख्राका गोठ, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन् ।
गुराँसे जङ्गलले राताम्मे वन र मनोरम हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको र हिउँदमा यहाँ गाई भैँसी र भेडा बाख्राका लागि गोठको व्यवस्था गरिएको स्थानीयवासी धन विकले बताउनुभयो ।“म्याग्दीको मालिका गाउँपालिका २ रुम र बागलुङको ताराखोला गाउँपालिका ५ सीपको सीमानामा पर्छ दुरुलेक । प्राकृतिक सुन्दरता,जैविक विविधता र सांस्कृतिक एकताले युक्त दुरुलेकमा प्रशस्तै पर्यटकीय सम्भावनाले युक्त छ” दरबाङ स्थित होटल हिमालका संचालक अमृत सापकोटाले बताउनुभयो ।
समुद्री सतहदेखि ३ हजार ५ सय मिटरको उचाइमा रहेको दुरुलेकसम्म पुग्न त्यति कठिन पनि छैन । रुमसम्म सवारी साधन र त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ ।दुरुलेकमा भीर मौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै सम्भावन पनि छन् । पहराहरुमा बग्रेल्ती भीरमौरीका गोला छन्। त्यहाँका भीरहरुमा रुम र बागलुङको ताराखोलाका मह सिकारीहरुले परम्परागत रुपमा मह निकाल्दै आएका छन् ।
रुममा जम्मा तीनहजार,छ सय२६जनसंख्या रहेको छ । जसमध्य एकहजार आठसय४१ महिला र एकहजार सातसय ८५ पूरुष रहेका छन् । बागलुङ्ग जिल्लासंग जोडिएको हुनाले दुरु लेकमा बागलुङदेखि पनि पर्यटकहरु रमाउन आउने गरेका छन् । पर्यटकहरु दुरुलेकबाट फर्केर रुममा एक रात वास बस्ने गर्दछन् । यहाँ मकै, कोदो, गहुँ जौँ, फापर,आलु,रातोच्याउका आग्र्यानिक परिकारहरु खान पाइन्छ । चैत्र र बैशाख महिनामा दुरलेक डाँडाको दृृश्य निकै नै रमणी हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच