काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधि चलायमान हुने क्रममा रहेको बताउनुभएको छ । पछिल्लो समय कर्जाको ब्याजदर घटेकाले आर्थिक गतिविधि चलायमान हुने आधार सिर्जना भएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकाले कृषि उत्पादन बढ्ने अनुमानले अर्थतन्त्र चलायमानमा मद्दत पुग्ने उहाँको भनाइ थियो । समयमै रोपाइँसँगै मौसम अनुकूल रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने, विप्रेषण आप्रवाहमा भएको सुधारले बाहृय क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकाले आर्थिक गतिविधि चलायमान हुने आधार सिर्जना भएको गभर्नर अधिकारीले बताउनुभयो ।
त्यसैगरी पर्यटक आगमन कोरोनापूर्वको अवस्थामा पुगेको तथा विद्युत् र सिमेन्ट निर्यात बढ्दै गएको सन्दर्भमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने पनि उहाँले दाबी गर्नुभयो ।
शुक्रबार आयोजित राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेकाले निष्क्रिय कर्जा अनुपात केही बढेको भए पनि बैंक तथा वित्तीय संस्थाको अवस्था सुदृढ नै रहेको बताउनुभयो । गत फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको, खुद तरल सम्पत्ति कुल निक्षेपको २८.४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको स्थिति सुदृढ अवस्थामै रहेको उहाँको भनाइ थियो । तथापि सरकारको पुँजीगत खर्च अपेक्षितरूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य संख्यामा वैदेशिक रोजगारी र अध्ययनका लागि युवा विदेशिएकाले आन्तरिक माग भने शिथिल रहेको पनि उहाँले बताउनुभयो । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योग आर्थिक शिथिलताबाट बढी प्रभावित भएको गभर्नर अधिकारीले बताउनुभयो ।
राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले वित्तीय क्षेत्रमा अराजक गतिविधि गर्नेलाई कारबाही गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । वित्तीय स्थायित्वमा खलल पार्ने गरी गरिने कुनै पनि गतिविधि स्वीकार नहुने भन्दै उहाँले ऋण लिएपछि तिर्दिन भन्नु गलत प्रवृत्ति भएको बताउनुभयो ।
विश्वमा अनेक आर्थिक शिथिलता बढे पनि राष्ट्र बैंकले उचित व्यवस्थापन गर्नु राम्रो पक्ष रहेको उल्लेख गर्दै उहाँले लगानी सम्मेलनलाई सहयोग गर्न राष्ट्र बैंकले धेरै कानुन संशोधन गरेको जानकारीसमेत गराउनुभयो । राष्ट्र बैंकका अनुसार गत फागुनको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ६.०८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.९३ प्रतिशत थियो ।
त्यस्तै, २०८० चैतसम्ममा सरकारको चालु खर्च छ खर्ब ४४ अर्ब दुर्ई करोड, पुँजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च एक खर्ब ६७ अर्ब ९९ करोड गरी कुल सरकारी खर्च नौ खर्ब नौ अर्ब ३९ करोड अर्थात् विनियोजित बजेटको ५१.९३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खर्च सात खर्ब छ अर्ब ७७ करोड, पुँजीगत खर्च एक खर्ब सात अर्ब २४ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च एक खर्ब २९ अर्ब चार करोड गरी कुल सरकारी खर्च नौ खर्ब ४३ अर्ब पाँच करोड अर्थात् विनियोजित बजेटको ५२.५७ प्रतिशत थियो ।
त्यसैगरी २०८० चैतसम्ममा सरकारको कर राजस्व छ खर्ब ७१ अर्ब १२ करोड र गैरकर राजस्व ७६ अर्ब ९३ करोड गरी कुल राजस्व संकलन ९.४ प्रतिशतले वृद्घि भई सात खर्ब ४८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको कर राजस्व छ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६७ अर्ब ६९ करोड गरी कुल राजस्व संकलन छ खर्ब ८३ अर्ब ८१ करोड थियो । २०८०/०८१ मा सरकारको दुई खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा २०८० चैतसम्ममा एक खर्ब ७६ अर्ब परिचालन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब १२ अर्ब २० करोड आन्तरिक ऋण परिचालन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच