काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताउनुभएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मुलुकको अर्थतन्त्रको निराशाजनक तथ्यांक सार्वजनिक गरेको भोलिपल्टै उहाँले बुधबार राजधानीमा आयोजित दिगो विकासका लागि वित्त नीति विषयक कार्यशालालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
मंगलबार नै एसिया प्रशान्त क्षेत्रका देशको इकोनोमिक आउटलुक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत हुने जनाएको थियो । कोषले गत असोजमा आफैंले गरेको पाँच प्रतिशत आर्थिक वृद्धिको अनुमान १.९ प्रतिशतले घटाएर अनुमान सार्वजनिक गरेको हो । तर, बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशतभन्दा बढी हुने दाबी गर्नुभयो । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंक(एडिबी)ले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उहाँको भनाइ थियो ।
विश्व बैंकले ३.३, एडिबीले ३.६ र तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको अर्थमन्त्री पुनको भनाइ थियो ।
उल्लेखित तथ्यांकहरू चालु आर्थिक वर्षको नौ महिनासम्मको भएकाले बाँकी अवधिमा केही सुधार हुँदै जाने उहाँले जिकिर गर्नुभएको छ । तथापि अहिले अर्थतन्त्र समस्यामुक्त भने भइनसकेको पनि अर्थमन्त्री पुनले स्वीकार गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ, अझै ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था छैन । विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्ने आवश्यकता छ । नेपाल विश्व अर्थतन्त्रका दुर्ई उदीयमान हस्ती भारत र चीनबीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नेछ । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेकाले नेपालमा पर्यटनको प्रचुर सम्भावना भएको छ ।’
आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको उहाँले बताउनुभयो ।
मन्त्री पुनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको पनि बताउनुभयो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा २०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्नसक्ने अवस्था आएको उहाँले दाबी गर्नुभयो ।
मन्त्री पुनले भन्नुभयो, ‘पुष्पकमल दाहाल नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ । यसबीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन, नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र बौद्धिक व्यक्तित्वहरू मिलेर चिर्नुपर्छ ।’ नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको भन्दै उहाँले वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरू नेपालमा लगानी गर्न आइरहेको जिकिर गर्नुभयो । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरू घाटामा नरहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरणअनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत प्रक्षेपण रहेको छ भने चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र करिब चार प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा अधिकांश अर्थतन्त्रका सूचक सकारात्मक भए पनि केही क्षेत्रमा सुधार गर्न आवश्यक रहेको तथ्यांक कार्यालयका अधिकारीहरूले जनाएका छन् ।
उनीहरूले चालु आर्थिक वर्षको बाँकी तीन महिनामा पनि खासै अर्थतन्त्रमा सुधार आउन सक्ने अवस्था नदेखिएकाले आर्थिक वृद्धिदर ३.८७ प्रतिशत प्रक्षेपण गरिएको जनाएका छन् । सरकारले चालु आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो । हालसम्म प्राप्त अनुमानहरूको अध्ययन विश्लेषण गर्दा अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब ८७ करोड रुपैयाँ पुग्ने र आधारभूत मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले विस्तार हुने बताइएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत रहने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच