ललितपुर । ललितपुरमा आइतबारदेखि रियल स्टेट सम्मेलन सुरु भएको छ । नेपाल घरजग्गा आवास विकास महासंघद्वारा आयोजित सम्मेलन उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ता पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताका लागि व्यवस्थित र व्यावसायिक हुनुपर्ने बताउनुभयो । घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानुनी अड्चन र मूल्यबारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यावसायिक हुनुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री अधिकारीले कानुनबमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजस्व गुमाउनुपरेको भन्दै कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानुनी संरक्षणसमेत कठिन भएको बताउनुभयो । उहाँले घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको उल्लेख गर्दै रियल स्टेट क्षेत्र चलायमान बनाउन सरकारले कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजीकरण गरेको बताउनुभयो ।
रियल स्टेट क्षेत्रको कारोबार पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४ लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले परम्परागत कानुन, कारोबारको पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डीकरण रोक्न सम्भव नभएको बताउनुभयो । सरकारले जग्गा खण्डीकरण रोक्न जग्गा वर्गीकरण गरेरमात्रै कित्ताकाट गर्न पाउने गरी प्रयास गरे पनि सफल नभएको उहाँको भनाइ थियो ।
दुवाडीका अनुसार अहिले पनि १८ हजार संस्था सक्रियरूपमा घरजग्गा व्यवसायमा क्रियाशील रहेको र दुई खर्ब ५० अर्बभन्दा बढी लगानी भइरहेको छ । घरजग्गा कारोबार सुव्यवस्थित बनाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउँदै व्यवस्थित र योजनाबद्धरूपमा अघि बढ्ने घरजग्गा व्यवसायीहरूको उद्देश्य पूरा गर्न सकिने उहाँले बताउनुभयो ।
सम्मेलनका संयोजक ओम राजभण्डारीले स्थानीय सरकारले व्यवस्थित शहरको महत्व बुझन नसकेको बताउनुभएको छ । उहाँका अनुसार नेपालमा हाल ६६ लाख ६६ हजार घर छन् । सबै ठूला बिल्डिङ, घर हेर्ने हो भने ७५ लाख छन् तर परिवारको आकार ४.८ रहेको छ । व्यक्तिगत, कम्पनीमा समेत गरी दुई खर्ब ८७ लगानी भएको छ भने बैंक, फाइनान्सिङ दुई खर्ब ५० अर्बको छ । समग्रमा पाँच खर्ब २८ अर्ब लगानीको रियल स्टेट क्षेत्र छ । वार्षिक कारोबार सात खर्बभन्दा बढी छ । घरजग्गा कारोबारको कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत योगदान रहेको छ । रियल स्टेट व्यवसायसँग धेरै अन्य व्यवसाय पनि जोडिएका छन् ।