झापा । नेकपा माओवादी केन्द्र नेता इन्द्रबहादुर आङ्वोले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न सुझाव दिनु भएको छ ।
माओवादी केन्द्रबाट प्रदेश संसदीय दलका नेतासमेत रहनु भएको आङ्वोले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री कार्कीलाई यस्तो सुझाव दिनुभएको हो ।
उहाँले आज राति १२ बजेबाट मुख्यमन्त्री कार्की र प्रदेश सरकारको वैधता स्वतः समाप्त हुने समेत बताउनु भएकाे छ ।
'मानवीय केदार कार्की नेतृत्वको सरकारलाई प्रदेशसभाका बहुमत सदस्यहरुले दिएको समर्थन, विश्वासको मत फिर्ता भएको आज राति १२ बजे ३० दिन पूरा हुँदैछ' आङ्वोले भन्नुभएकाे छ,'संवैधानिक व्यवस्था ,लोकतान्त्रिक मान्यता र संसदीय प्रावधानले अल्पमतको सरकारको निरन्तरताको परिकल्पना गर्दैन, निर्धारित समय भित्र विश्वासको मत लिनै पर्दछ नत्र नयाँ सरकार गठनको निम्ति मार्ग प्रशस्त गर्नु पर्दछ।'
पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएको नेता आङ्वोले बहुमत गुमाई सकेपछि वा विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि मुख्यमन्त्री कार्कीले विश्वासको मतका निम्ति प्रदेशसभा बैठक बोलाउन आवश्यक नठानेको दाबी समेत गर्नुभएको छ ।
'निर्धारित ३० दिनको समयमा विश्वासको मत नलिनुले आश्चर्यजनक छ' उहाँले लेख्नुभएकाे छ,'म एक मित्रको नाताले पनि मुख्यमन्त्री केदारजीलाई सुझाव दिन्छु अब राजीनामा दिएर नयाँ सरकार बनाउने ढोका खोल्नुस्, त्यसैले व्यक्तिगत रूपमा तपाईंको राजनैतिक उचाइ बढ्नेछ, संविधान, लोकतन्त्र र संघीयताको जीत हुनेछ ।'
मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गर्नु भएका आङ्वोले काङ्ग्रेस नेता शेखर कोइरालालाई समेत प्रश्न गर्दै भन्नुभएकाे छ , 'यो व्यवस्थामा राजीनामा पनि दिन्न, विश्वासको मत पनि लिन्न भन्न पाइन्छ ?' उहाँले अल्पमतले सत्ता सञ्चालन गर्ने प्रणाली नै तपाईंले पैरवी गरेको लोकतन्त्र हो ? भनेर नेता शेखरप्रति आक्रोश समेत व्यक्त गर्नुभयो।
'पटकपटक कोशीमा मैले नै नेतृत्व गरेर सरकार बनाए भनेर दाबी गर्ने, आफूलाई लोकतन्त्र र संसदीय व्यवस्थाको मसिहा नै ठान्ने' उहाँले भन्नुभयो, 'तपाईंहरु मा.शेखर कोइरालालाई प्रश्न सोधिदिनु होला यो व्यवस्थामा राजीनामा पनि दिन्न विश्वासको मत पनि लिन्न भन्न पाइन्छ ?'
बहुमत सदस्यले मुख्यमन्त्री कार्की नेतृत्वकि सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिन पुग्नै लाग्दा र संसदमा दर्ता भएको संकल्प प्रस्तावको बेवास्ता गर्दै मुख्यमन्त्री कार्कीले विश्वास मत पनि नलिने र राजीनामा पनि नदिने अडान नछाडेपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता आक्रोशित बन्नु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच