
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नाबारेमा केही सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीप्रति आपत्ति प्रकट गर्नुभएको छ । घिसिङले बुधबार एक विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि केही सञ्चारमाध्यमबाट आफूप्रति लक्षित गरी सुनियोजितरूपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जाललगायतमा भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहिता उल्लंघन गर्दै मेरो र मेरो परिवारका सदस्य (मुख्यरूपमा दाइ र भाइ)को चरित्र हत्या, मानप्रतिष्ठा र छविमा आघात पु¥याउने उद्देश्यले सुनियोजितरूपमा दूषित मनसायसाथ कपोकल्पित ढंगले भ्रमपूर्णरूपमा समाचारहरू सम्प्रेषण गरिएका छन् । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजितरूपमा निहित स्वार्थमा समाचार सम्प्रेषण भइरहेको मेरो ठम्याइ रहेको छ । यस्ता समाचारको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।’
अंशबण्डा गरी लामो समयदेखि आफूबाट छुट्टै बसिरहेका दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्ररूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेको भन्दै उहाँले के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनुपर्ने हो ? भन्ने प्रश्नसमेत गर्नुभएको छ ।
घिसिङले भन्नुभएको छ, ‘मैले आफ्नो पदीय दुरूपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहन्छु । यदि मैले त्यस्तो गरेको पाइएमा राज्यका निकायले छानबिन गर्ने नै छन् । प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवं आफ्नो व्यक्तिगत जीवनसमेत पर्वाह नगरी अहोरात्र खटी सरकारले दिएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धतासाथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दूराशयसाथ लगाइएका आरोप खण्डन गर्दछु ।’ प्राधिकरणका हरेक काम कारबाही पारदर्शीरूपमा भइरहेको दाबी गर्दै उहाँले अझै पारदर्शीरूपमा अघि बढाइने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच