हेटौँडा अस्पताललाई प्रतिष्ठानसँग गाभ्न लागिएको भन्दै राजनीतिक दलले जनाए आपत्ति

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 3 mins

हेटौंडा । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागेको भन्दै राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

शनिबार मकवानपुरका ८ राजनीतिक दलहरूले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।

प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौँडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर सहमति गरिएपनि हाल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत आरम्भ गरेको प्रक्रिया प्रति राजनीतिक दलहरुले आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा राज्यको ठुलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक दुई हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै मास्ने गरी भइरहेको गतिविधिप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भरतप्रसाद पराजुली, जसपा नेपालका अध्यक्ष सोम घलान, राप्रपा नेपालका अध्यक्ष गुरु प्रसाद सापकोटा, राप्रपा उपाध्यक्ष अर्जुन प्रसाद गौतम र नेकपा मकवानपुरका इन्चार्ज वाटर सिले हस्ताक्षर गर्नुभएको छ ।

विज्ञप्तिमा प्रदेश सरकारको यस निर्णयमा समर्थन जनाउन नसकिने भन्दै प्रक्रिया तत्काल नरोकिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *