नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सोमबार भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार संसदका ९६ स्थानका लागि सोमबार मतदान भएको हो ।
साथै आन्द्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि सोमबार नै मतदान भएको छ ।
लोकसभाको ९६ स्थानमध्ये आन्द्र प्रदेशका २५, तेलंगानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बंगालका आठ, विहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु काश्मिरका एक स्थानमा चुनाव भएको छ ।
निर्वाचन आयोगका अनुसार यस चरणमा कूल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बंगाल कांग्रेसका प्रमुख अधिररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीव रञ्जन सिंह (ललन सिंह), टिएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।
तेस्रो चरणको मतदानसम्म २८३ स्थानको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ । भारतको लोकसभामा ५४३ स्थान छ । पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको छ । पहिलो चरणमा ६६ दशमलव १४, दोस्रो चरणमा ६६ दशमलव ७१ र तेस्रो चरणमा ६५ प्रतिशत मतदान भएको भारतीय चुनाव आयोगको तथ्यांकमा उल्लेख छ ।
पहिलोदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ । सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखबाट सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदैछ ।
यो लोकसभा निर्वाचनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल देशको सत्ता सम्हाल्ने महत्वाकांक्षामा हुनुहुन्छ भने कंग्रेस नेतृत्वको विपक्षी इण्डिया गठबन्धन र त्यसका नेता राहुल गान्धीले नरेन्द्र मोदीलाई पुन सत्तासीन हुनबाट रोक्न सकेसम्मको जोड लगाइरहनुभएको छ । यस चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रो पटक विजय हासिल गर्नेगरी प्रचार गरिरहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच