म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा भोलिदेखि टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
सात वर्ष पछि जिल्ला क्रिकेट संघ म्याग्दीको आयोजनामा हुन लागेको क्रिकेट लिगमा चार टिमको सहभागिता रहेको छ । चार दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको जेठ ५ गते, उद्घाटनसँगै दुई खेल हुने जिल्ला क्रिकेट संघ म्याग्दीले जनाएको छ ।
प्रतियोगितामा बेनी नगरपालिका, म्याग्दी क्रिकेट क्लब, रत्नेचौर क्रिकेट समूह र बगरफाँट क्रिकेट क्लबले सहभागिता जनाउने क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविन पौडेलले जानकारी दिनुभयो ।
जेठ ५ गते शनिबार देखि शुरु हुने उक्त प्रतियोगिता जेठ १२ गते सकिने छ । जेठ ५ गते उद्घाटन सहित दुई खेल हुने र जेठ १० र ११ गते दुई दुई खेल हुने छ । फाइनल खेल भने जेठ १२ गते हुने आयोजकले जनाएको छ ।
म्याग्दीमा पहिलो पटक २०७४ सालमा क्रिकेट प्रतियोगिता भएको थियो । लामो समय सम्म क्रिकेट प्रतियोगिता नभएको म्याग्दीमा बेनी बजारमै हुने यस प्रतियोगिताले क्रिकेट खेलको प्रभावलाई बढाउने अपेक्षा गरिएको संघका सचिव छवि आचार्यको भनाई छ । यस भन्दा अगाडी २०७४ सालमा न्यू जेनेरेसन क्लबले न्यू जेनेरेसन कप–२०७४ आयोजना गरेको थियो ।
प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइने भएकाले हरेक टिमले तीनतीन खेल खेल्ने छन् । लिग समूहको शिर्षस्थानमा रहने दुई टिम बीच जेठ १२ गते फाइनल हुने क्रिकेट संघ म्याग्दीका कोषाध्यक्ष सौरभ किसानले जानकारी दिनुभयो । प्रतियोगिताका सबै खेलहरु बेनी बजारको खुल्ला मञ्चमा खेलाइने संघले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेले १५ हजार नगद र दोश्रो हुनेले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् । साथै प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई विभिन्न विधामा पुरस्कृत गरिने क्रिकेटर भरत धामीले जानकारी दिनुभयो । प्रतियोगितामा अहिले चालु अवस्थामा रहेको इन्डेन प्रिमियर लिग(आइपिएल)मा जस्तै इम्प्याक्ट प्लेयरको समेत व्यवस्था गरिएको उहाँको भनाई छ । उत्कृष्ट बलर, ब्याट्सम्यान, प्लेयर अफ् द म्याच र प्लेयर अफ द सिरिज पनि बितरण गरिने धामीको भनाई छ । खेल तालिका सार्वजनिक भै सकेको र सबै टिम आ–आफ्नो तयारीमा लागेकोले पनि खेल समयमै सुरु हुनुका साथै सम्पन्न हुने उहाँको भनाई छ । सात वर्ष पछि हुन लागेको क्रिकेट प्रतियोगिता निकै रोचक हुने अपेक्षा गरिएको क्रिकेटर सचिन कार्कीले जानकारी दिनुभयो ।
फोटो : भोलि (शनिवार) देखि सुरु हुने क्रिकेट प्रतियोगिताको लागि बेनीको खुला मञ्चमा अभ्यास गर्दै खेलाडीहरु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच