काठमाडौं । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भइरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघद्वारा शनिबार र आइतबार राजधानीमा आयोजित प्रशिक्षणात्मक कार्यशालामा उनीहरूले यस्तो जोड दिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा फर्निसिङजन्य उद्योग व्यवसायमा आबद्ध सबै व्यवसायीलाई दर्ता तथा कर प्रणालीमा आबद्ध गराउनुपर्ने बताउनुभयो । दर्ता भएर सञ्चालन भएका फर्निचर तथा फर्निसिङ उद्योग व्यवसायलाई राज्यले भूतप्रवाही करका विषय उठाएर समस्या बढाउन खोजेको भन्दै त्यसका सम्बन्धमा फर्निचर व्यवसायीसँग महासंघले सहकार्य गरी आवश्यक लबिङ गर्ने उहाँले बताउनुभयो । देशको ४५ प्रतिशत क्षेत्रमा वनजंगल रहे पनि त्यहाँबाट उत्पादित काठको व्यावसायीकरण हुन नसकेको ढकालको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘यहीँ ४५ प्रतिशत वनबाट हामीले चाहेजति उत्पादन तयार गर्दै वृक्षारोपणबाट वनको क्षेत्र घट्न नदिनेगरी व्यावसायिकताको भरपुर सदुपयोग गराउन पहलकदमी लिनुपर्ने बेला भएको छ, त्यसो नगरेका खण्डमा अहिलेको हाम्रो सम्भावना गुम्छ ।’ अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको भन्दै उहाँले आशावादी हुन व्यवसायीलाई आग्रहसमेत गर्नुभयो । उधारो कारोबार व्यवस्थापनका लागि प्रष्ट कानुनी व्यवस्थाका लागि महासंघले पहल गरिरहेको ढकालले जिकिर गर्नुभयो ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेलले फर्निचर तथा फर्निसिङ व्यवसाय नेपालकै लागि आशाको क्षेत्र भए पनि राज्यस्तरबाट संरक्षण र संवद्र्धनमा पहल नभएको गुनासो गर्नुभयो । उधारो कारोबारले उत्पन्न समस्या भयावह बन्दै गएको उल्लेख गर्दै उल्लेखित विषय व्यावसायिक सुरक्षा ऐनमा समेट्नुपर्ने बताउनुभयो । बिलबिजकअनुसार एकै पटकमा ढुवानी गर्नुपर्ने व्यवस्थाले ढुवानीमा समस्या भएकाले ढुवानी प्रक्रिया व्यवसायमैत्री बनाउन पनि उहाँले माग गर्नुभयो ।
महासंघका सल्लाहकार कृष्णलाल प्रधानले सरकारबाट पाउनुपर्ने सुविधाबाट फर्निचर व्यवसायी वञ्चित रहेको भन्दै नियमनको दायरामा आउन नसकेका व्यवसायीका कारण आफूहरू व्यवसाय गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभयो । महासंघ बागमती प्रदेश समन्वय समिति अध्यक्ष शुभेन्द्र जोशीले चौतर्फी उपेक्षामा पर्दा फर्निचर व्यवसायीको अवस्था दयनीय बन्दै गएको भन्दै संगठित भएर अघि बढ्दा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको आरोप लगाउनुभयो ।
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीकी अध्यक्ष पूर्णशोभा गुरुङले कर तिर्ने व्यवसायीलाई राज्यले दुःख दिने गर्दा दर्ता नभएका र कर नतिर्नेले खुलेआम अनधिकृतरूपमा व्यवसाय गरिरहेकाले वास्तविक व्यवसायी समस्यामा परेको गुनासो गर्नुभयो । महासंघमा आबद्ध विभिन्न जिल्लाका ३९ फर्निचर व्यवसायी संघ सहभागी प्रशिक्षणमा अष्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत महेश दाहाल तथा उद्योग वाणिज्य महासंघका निर्देशक विदुरचन्द्र लामिछानेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा माध्यमिक तहदेखि नै फर्निचर व्यवसाय तथा उद्योगलाई समेटेर व्यावहारिक शिक्षा समावेश गराउँदै मान्यता पनि दिनुपर्नेमा जोड दिइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच