काठमाडौं । खाद्यका लागि कृषि अभियानलगायत साझेदार संघ संस्थाहरूले सहकारी समस्या समाधान गर्न माग गरेका छन् । सहकारी संस्था सामुदायिक सहकार्य र सामूहिक उद्यमशीलताको गतिशील संयन्त्र र राष्ट्रिय अर्थतन्त्रको एक आधार हुँदाहुँदै पनि पछिल्लो समय सामूहिकता र सहकार्यबाट स्वचालित हुनुपर्ने सहकारी क्षेत्र ठगी, अपचलन र भ्रष्टाचारको अखडाका रूपमा बदनाम भएको बताइएको छ । जसले सहकारीप्रतिको मर्ममा गम्भीर प्रहारका साथै आमजनमानसमा सहकारीको अवधारणाबारे समेत नकारात्मकता भित्र्याएको अभियानले जनाएको छ ।
अभियानले सोमबार एक विज्ञप्ति जारी गर्दै सहकारीबाट प्रताडित साना तथा श्रमिक किसान वर्षौंदेखि आन्दोलित रहेको र समस्या सम्बोधन गर्न सरकारले आश्वासन दिए पनि समस्या समाधानको पहल नभएकाले फेरि माइतीघर मण्डलामा सहकारी बचतकर्ताले रिले अनसन सुरु गरेको जनाएको छ । अभियानका संयोजक उद्धव अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कतिपय ठाउँमा यिनै ज्यादती सहन नसकेर किसानले आत्महत्याको बाटो अपनाउनुपरेको तिता यथार्थहरू बाहिर आएका छन् । संघीय संसद्मा समेत बारम्बार छलफलको विषय बनेको यो समस्या सम्बोधन गर्नेतर्फ सार्थक पहल नहुनु खेदजनक छ । सामाजिक, आर्थिक र वातावरणीय बहुआयामिक समस्या झेलिरहेका आमजनसमुदायको जीवन कष्टपूर्ण बन्दै गएको छ । यसैमाथि जलवायु परिवर्तन, खाना र खेतीपातीमा अत्यधिक कृत्रिम रसायन र विषादीको प्रयोगले माटो र मानव स्वास्थ्यमा गम्भीर संकट थपिरहेको छ ।
आमजनमानसको जीविकोपार्जनसँग जोडिएका यस्ता संकट सम्बोधन गर्नुपर्ने दायित्व बोकेको सरकार, सत्ताको आडमा भ्रष्टाचार, आर्थिक अपचलन र ठगी गर्नेको संरक्षण गर्नमै व्यस्त देखिएको छ ।’
सहकारीमा भएको अनियमितता, भ्रष्टाचार, अपचलन र ठगीसँगै यस्तै प्रकृतिका सबै घटनामा संलग्न सबैलाई निष्पक्ष छानबिनको कानुनी दायरामा ल्याई दोषीलाई हदैसम्मको कारबाही गर्न र सहकारी नियमनलाई प्रभावकारी बनाउन अभियानले माग गरेको छ ।
अभियानका अनुसार नेपालका कुल ३१ हजार दुई सय ७३ सहकारीमा ७३ लाख ८१ हजार सदस्य संलग्न रहेका छन् । जसमध्ये एक प्रतिशत संघ, १९ प्रतिशत प्रदेश र ८० प्रतिशत स्थानीय सरकारको नियमन क्षेत्रभित्र पर्छन् । संघको अधिकार क्षेत्रभित्रका एक सय ४५ सहकारीमध्ये २० सहकारीलाई सरकारले संकटग्रस्त घोषणा गरिसकेको छ । तर, तीनै तहका दुई हजारभन्दा बढी सहकारी संकटग्रस्त रहेका बताइएको छ । साना किसान, श्रमिक र साना तथा मझौला लघुउद्यमीका रगत पसिनाले जम्मा भएको सहकारी रकम बिचौलिया र दलालले अपचलन र ठगी गरेका घटना बारम्बार सार्वजनिक भइरहेका छन् ।
इमान, खुलापन, सामाजिक उत्तरदायित्व र एकअर्कालाई मद्दत गर्नु सहकारी संस्थाका नैतिक मूल्यहरू हुन् । सहकारी स्वेच्छिकरूपमा एकजुट भएका समान हक राख्ने सदस्यद्वारा लोकतान्त्रिक आचरणका आधारमा संयुक्त स्वामित्वमा सञ्चालन हुन्छ । सहकारी संस्थाले स्थानीय उत्पादनमूलक अर्थतन्त्र चलायमान बनाउने लघुवित्त तथा लघुउद्यम प्रवद्र्धन गर्न सघाएको छ । प्राथमिक उत्पादनका क्षेत्र जस्तै कृषि, वन, जलस्रोतलगायतका अन्य सामाजिक विकास क्षेत्रमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच