हावाहुरीले १२ करोडको केरा नष्ट

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 6 mins

चितवन । चितवनमा हावाहुरीले १२ करोडभन्दा बढी मूल्यको केरा नष्ट गरेको छ । शुक्रबार र शनिबार आएको असिनापानीसहितको हावाहुरीले जिल्लाका अधिकांश किसानले लगाएको केरा ढलेको छ । पश्चिम चितवनमा आंशिक क्षति भए पनि पूर्वी चितवनमा भने ९० प्रतिशतभन्दा बढी केराका बोट ढलेका छन् ।

पश्चिम चितवनमा आंशिक क्षति भए पनि पूर्वी चितवनमा भने ९० प्रतिशतभन्दा बढी केराका बोट ढलेका छन् ।

चितवन केरा उत्पादक संघले जिल्लामा हावाहुरीले १२ करोड बढीको केरा नष्ट गरेको प्रारम्भिक अनुमान गरेको छ । एउटै किसानको २३ बिघामा लगाएको केरा पूरै नष्ट भएको छ । संघले जिल्लामा केरा बगानमा भएको क्षति हालसम्मकै ठूलो भएको जनाएको छ । बजारमा पठाउन तयारी भइसकेको केरा ढलेपछि किसान आत्तिएका छन् । व्यावसायिक केरा खेतीका लागि करोडौं लगानी गरेका किसान विस्थापित हुने गरी क्षति भएको छ । खैरहनी ६ तुलसीपुरमा रहेको पूर्णिमा केरा बगानमा तयारी अवस्थामा रहेका सबै केरा ढलेर नष्ट भएको छ । बगानका सञ्चालक पुष्कर सिंहले बगानमा रहेका १८ हजार केराका बोट नष्ट भएको र ७० लाखको क्षति भएको बताउनुभयो ।

सिंहका अनुसार बगानमा नफलेको बोट नै थिएन । ११ बिघामा केरा लगाउन ४५ लाख लगानी भएको थियो । केरा बेचेर बैंकको २० लाख ऋण तिर्ने सपना हावाहुरीले उडाइदियो । उहाँले भन्नुभयो, ‘सोच्दै नसोचेको बज्रपात भयो, अब ढलेका बोट हटाएर बारी सफा गर्न १० देखि १२ लाख खर्च हुन्छ ।’ खैरहनी र रत्ननगरमा गरी २३ बिघामा केरा खेती गरेका कपिल ढकाल अहिले मर्माहत हुनुभएको छ । एकता केरा फर्मका सञ्चालक ढकालको हावाहुरीले ४५ हजार बोट नष्ट गरिदियो । दुर्ई दिन आएको असिनापानीसहितको हावाहुरीले बगानमा रहेका दुर्ई करोड ५२ लाख मूल्य बराबरको केरा खेती नष्ट गरेको ढकालको भनाइ छ । उहाँले भन्नुभयो, ‘हावाहुरीले उठ्नै नसक्ने गरी डुबायो, लगानी सबै खेर गयो ।’ ढकालले जग्गा भाडामा लिएर ठूलो परिमाणमा केरा खेती गर्नुभएको थियो ।

रत्ननगर ५ झुवानीमा शिवकान्त न्यौपानेले १५ बिघामा लगाएको केरा खेती पनि हावाहुरीले नष्ट गरेको छ । उहाँले भन्नुभयो, ‘एउटा बोट काम लाग्ने अवस्थामा छैन, यस्तो विपत्ति कहिल्यै भोग्नुपरेको थिएन ।’ बगानमा रहेको करिब एक करोड बराबरको केरा खेती नष्ट भएको उहाँले बताउनुभयो । चितवन केरा उत्पादक संघका अध्यक्षसमेत रहनुभएका व्यावसायिक किसान माधवप्रसाद घिमिरेको पाँच बिघा दुर्ई कठ्ठा क्षेत्रफलमा रहेको केरा खेती पूरै नष्ट भएको छ । उहाँले भन्नुभयो, ‘आठ हजार दुई सय बोट काम नलाग्ने गरी ढले, ३५ लाख बढीको क्षति भयो ।’

चितवनका किसानले केरा खेतीको बिमा गरेका भए पनि सबै किसानले बिमा गरेका छैनन् । अहिले हावाहुरीले गरेको क्षतिको प्रकृति हेर्दा बिमाबापत आउने रकमले लगानी उठ्ने सम्भावना नदेखिएको चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले बताउनुभयो । जिल्लामा एक हजार पाँच सय बिघा केरा खेतीको मात्र बिमा गरिएको छ । चितवनमा सात सय १२ जना किसाले पाँच हजार पाँच सय बिघामा व्यावसायिक केरा खेती गरिरहेका छन् । खेती गरिएको जग्गाको क्षेत्रफल र बिमा गरिएको क्षेत्रफल हेर्दा ४५ प्रतिशत केरा खेतीको मात्र बिमा गरिएको छ । बिमा नगरेका किसानको भने शतप्रतिशत लगानी डुबेको छ । बिमा कम्पनीले पूर्णरूपमा क्षति भएको खण्डमा प्रतिबोट दुई सय ४४ रुपैयाँ दिन्छ ।

किसानको खेतबाट काँचो केरा प्रतिघारी छ सय रुपैयाँमा बिक्री हुने गरेको छ । बिमा कम्पनीले क्षतिबापत दिने रकम केराको बजार मूल्यलाई हेर्दा जम्मा ४५ प्रतिशतमात्र हो । संघका महासचिव पन्तले भने खेतमै केरा नष्ट हुँदा बिमा रकम पाउँदासमेत ५५ प्रतिशत घाटा बेहोर्नुपर्ने अवस्था रहेको बताउनुभयो । जिल्लामा वार्षिक ८० हजार मेट्रिकटन अर्थात् दुई अर्ब ५० करोडको केरा उत्पादन हुँदै आएको छ । यहाँका किसानले बिमा कम्पनीबाट गत वर्षको भुक्तानीसमेत पाएका छैनन् । बिमा कम्पनीले जिल्लाका किसानलाई दिनुपर्ने दुर्ई करोड ५० लाख रुपैयाँ रोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *