अनादि कालदेखि नै मानवका लागि खाना, नाना र घरलाई अनिवार्य आवश्यकता मानिन्थ्यो भने अहिलेको आधुनिक मानवका लागि सडक, बिजुली र इन्टरनेट आदि अनिवार्य आवश्यकताका वस्तुका रूपमा थपिएका छन्भन्दा अत्युक्ति नहोला । आधुनिक मानवका लागि सडक सर्वाधिक महत्वको विषय हो । सडकविनाको जीवन अहिले कल्पनासम्म गर्न सकिँदैन । गुणस्तरीय र अनुशासित साथै व्यवस्थित सडक सञ्जाल कुनै पनि देशको विकासको निर्णायक पूर्वाधार हो । संसारका सबै विकसित देशहरूको विकासको प्रारम्भिक चरणमा सर्वाधिक प्राथमिकताको रूपमा गुणस्तरीय सडक रहेको कुरा ती देशहरूको इतिहासले प्रमाणित गरेको विषय हो । मानव जीवनका लागि प्राणको भूमिकाजस्तै विकासको सबै चरणहरूमा सडकको त्यस्तै भूमिका भएको कारण विकसित देशहरूको विकासको प्रथम चरणमा सडक सर्वाधिक प्राथमिकतामा रहेको विषय जग जाहेर नै छ ।
परिणामस्वरूप विश्वका सबै देशहरूले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । विकासमा बामे सर्ने चाहना हुने देशहरूले सडक निर्माणको गतिमा तीव्रता दिएका छन् तर ती सडकहरूको गुणस्तरीयतामा आवश्यक ध्यान नदिँदा सडकमा भएको लगानी वास्तवमा दुरुपयोग भएको विषयले को चिन्तित नहोला ? अहिले कुनै पनि देशको विकास गुणस्तरीय सडकमा निर्भर गर्छ । विशेषत नेपालजस्तो जलमार्ग, रज्जुमार्ग, रेल मार्ग शून्यप्रायः रेहेको, हवाई मार्ग सीमित भएको देशका लागि गुणस्तरीय सडक वास्तवमा विकास र आधुनिकताको पहिलो खुड्किलो हो । विकासको पहिलो खुड्किलोका रूपमा रहेको सडक गुणस्तरीय नहुँदा नेपालले अहिलेसम्मको सडकको लगानीलाई साधनस्रोतको दुरुपयोग भन्दा के अत्युक्ति होला ?
अष्ट्रेलियाको सडक निर्माण विधि, व्यवस्था, सडक अनुशासन, ड्राइभिङ अनुशासनप्रति सरकार र नागरिकको निष्ठा सम्भवतः संसारकै लागि अनुकरणीय विषय हुनसक्छ । आवास क्षेत्रमा सडकको पहुँच अगावै घर निर्माणको अनुमति दिइँदैन । सडकको चौडाइका साथै अन्य गुणस्तरको निश्चित मापदण्ड पूरा गर्न अनिवार्य छ ।
संसारका विकसित देशहरूको विकासको मेरुदण्ड गुणस्तरीय, अनुशासित र व्यवस्थित सडक सञ्जाल हो तर हाम्रो गुणस्तरहीन सडक सञ्जाल नै विकासको बाधक बनेको छ । त्यसैले नेपालले विकासलाई तीव्रता दिने पूर्वाधारका रूपमा गुणस्तरीय सडकका साथै सडक अनुशासन, सडकको वैज्ञानिक व्यवस्थापन अनिवार्य शर्तका रूपमा छ । सडकको गुणस्तरीयताको विषयमा केन्द्रीकृत हुने विषय सरकारको मात्रै होइन जनमानसले समेत यसलाई गुणस्तरीय, अनुशासित र व्यवस्थित गर्ने विषयलाई आत्मसात गर्नुपर्छ । अहिले गुणस्तरहीन सडकका कारण आवतजावत, ढुवानी खर्चिलो र कष्टप्रदमात्रै छैन् । यस्ता सडकहरू हाम्रो सन्दर्भमा मानवका लागि मृत्युको पासोजस्तै बनेका छन् । विकास र प्रगतिका लागि यो सर्वाधिक बाधक विषय हो ।
जुन-जुन देशले सडक गुणस्तरीय, अनुशासित र व्यवस्थित गर्न सके ती देशहरू समयक्रममा विकासको उपल्लो श्रेणीमा उक्लिए । अहिले आफूलाई विकासको उपल्लो श्रेणीमा रहेका देशहरूको श्रेणीमा पुर्याउन सफल अष्ट्रेलियाको गुणस्तरीय, अनुशासित र व्यवस्थित सडक सञ्जाल नेपालजस्ता देशहरूका लागि राम्रो अध्ययनशाला बन्न सक्छ । अहिले अविकसित, अल्पविकसित देशहरूले विकासका विविध विषयहरूमा थप अनुसन्धान, खोजमा लगानी गर्न जरुरी छैन । यस्ता देशहरूले विकासलाई द्रुतगति दिन विकसित देशहरूको विधि, प्रविधि, विकासको संस्कृतिलाई आयात कसरी गर्ने भन्ने विषयमा अध्ययन, अनुसन्धान, प्रयोगमा यदि आफूलाई केन्द्रीकृत गर्न सके भने अविकसित र अल्पविकसित देशहरूले निःसन्देह आफ्नो दयनीय आर्थिक, सामाजिक अवस्थालाई कायापलट गर्न सक्छन् ।
प्रस्तुत आलेखमा अष्ट्रेलियाको गुणस्तरीय सडकको अवस्था, व्यवस्था, अनुशासन, कानुन कार्यान्वयनमा सरकार र नागरिकको भूमिकाको विषयमा चर्चा गर्ने जमर्को गरिएको छ । यसले सरकार, नीतिनिर्माताका साथै नागरिकलाई मात्र जानकारी प्रवाह नगरेर यसको सकारात्मक प्रभाव हाम्रो वर्तमान सडक प्रणालीमा यदि पर्न सक्यो भने राष्ट्र र समाजको कल्याणको जगमा एउटा इँटा थप्ने जमर्को हुनसक्छ । अष्ट्रेलियाको सडक निर्माण विधि, व्यवस्था, सडक अनुशासन र ड्राइभिङ अनुशासनप्रति सरकार र नागरिकको निष्ठा सम्भवतः संसारकै लागि अनुकरणीय विषय हुनसक्छ । यहाँ आवास क्षेत्रमा सडकको पहुँच अगावै घर निर्माणको अनुमति दिइँदैन । सडकको चौडाइका साथै अन्य गुणस्तरको निश्चित मापदण्ड पूरा गर्न अनिवार्य छ ।
मलाई काम चल्छ भन्ने शर्तमा सडक, घर आदि निर्णय गर्न पाइँदैन । आवास क्षेत्रको सडक भन्ने बित्तिकै मोटर, साइकल र मानिसलाई छुट्टाछुट्टै निर्धारित मापदण्ड अनुसारमात्र निर्माण गर्न सकिन्छ । सडकको कालोपत्रे खण्ड, साइडको स्ल्याब (कर्ब) आदि मापदण्ड अनुसार सामान्यतया समान साइज र समान गुणस्तरको हुन अनिवार्य छ । त्यसका साथै सडकका चिहृनहरू र डिभाइडरजस्ता सडक अनुशासन र सडकलाई व्यवस्थित गर्ने सम्पूर्ण व्यवस्थामा सामान्य एकरूपता अष्ट्रेलियाका सडकहरूका विशेषता हुन् । निर्धारित सबै मापदण्ड र अनुशासनको कठोर पालना गर्ने सशक्त कानुनको व्यवस्थालाई कार्यान्वयन गर्न घर, बाटो आदि क्षेत्रहरूमा सिसी क्यामरा, ट््याफिक क्यामरा साथै सेन्सर आदि प्रविधिको व्यवस्थाले सडकलाई व्यवस्थित, अनुशासित मर्यादितमात्रै होइन अष्ट्रेलियालाई विकसित र सभ्य बनाउन यसको भूमिका र सहयोग वास्तवमा प्रशंसनीय विषय हुन् ।
सिसी क्यमरा, ट्राफिक क्यामरा र सेन्सरसमेतले नियन्त्रणमा भूमिका खेल्छ नै तर अष्ट्रेलियाको अनुशासित जीवनशैली, संस्कार, आफ्नो फाइदा र सुविधाका लागि अन्य व्यक्ति, समाज, अनुशासनलाई भंग नगर्ने मानिसभित्रको चेतना, मनोविज्ञान पनि सडकलाई व्यवस्थित, अनुशासित बनाउन कम जिम्मेवार छैनन् । अष्ट्रेलियाका सडकहरूमा प्रहरीहरू देखिने विषय दुर्लभ हो । यसको अर्थ सडकको अवस्था, गतिविधिसँग प्रहरी जानकार र सुसूचित छैनन् भन्ने होइन । सडकलाई राज्यसंयन्त्रले प्रविधिमार्फत अवलोकन, नियन्त्रणजस्ता उपायहरूद्वारा निगरानी गरिरहेको हुन्छ । यसको अर्थ अनुशासन भंग हुन्छ र कारबाही गर्छु भन्ने नियतले मात्र निगरानी गरिँदैन । अष्ट्रेलियाका सडकहरूबाट हामीले सिक्ने कुरा के छ भने त्यहाँका सबै सडकहरूको नाम हुन्छ ।
सडकमा गतिको विषय र कुन ठाउँमा कताबाट पस्ने र निस्कने भन्नेजस्ता कुराहरू स्पष्ट र देखिँने गरी लेखिएका हुन्छन् । त्यतिमात्र होइन अगाडि आपत्कालीन अवस्था, दुर्घटना तथा अगाडि सडक टुंगिन्छ भन्ने विषयलाई अगाडि नै जानकारी दिइन्छ । सडक प्रयोगकर्तालाई के अप्ठ्यारा पर्छन् र पर्नसक्छन् त्यसको उपाउ खोज्ने र मानिसलाई सजिलो र चिन्तामुक्त गराउने भन्ने विषयमा सधैं राज्य संयन्त्र केन्द्रीकृत रहन्छ । हाम्रो सन्दर्भमा यी विषयका प्रतिराज्य कति संवेदनशील छ त्यो हामी सबैको जानकारीको विषय हो । सडक अनुशासन भंग हुन्छ र कारबाही वा दण्डित गर्न पाइन्छ भन्ने नियत र भावना राज्य संयन्त्र तथा प्रहरीसँग हुँदैन ।
सडक मर्मत र घुमेर अर्को बाटो जानुपर्ने अवस्था (डिटुर) को पूर्वजानकारी दिनुपर्ने जिम्मेवारीलाई महत्वपूर्ण मानिन्छ । कसरी हुन्छ सवारीसाधनलाई असुविधा नहोस् भन्ने भावनाको प्रबलता अष्ट्रेलियाको सडक व्यवस्थापनको मुख्य विशेषता हो । सडकमा अनिवार्य प्राथमिकताको व्यवस्था पनि छ ।
उदाहरणका लागि दुर्गम क्षेत्रमा आफ्नो कामका कारण सवारीसाधन केहिबेर सडकमा रोकिँदा पनि अनयास के सहयोग गरौँ भन्न प्रहरी पुग्छ । यसको अर्थ अष्ट्रेलियामा राज्य संयन्त्रको निगरानीमा सडक र नागरिक कति छन् । कसरी निगरानी राख्छ भन्ने विषयलाई सडक अनुशासन, व्यवस्थालाई चुस्त, दुरुस्त राख्ने चाहने अन्य देशहरूले सिक्नुपर्ने विषयलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक लाग्यो । यो अष्ट्रेलियन नागरिक र राज्यसंयन्त्रबीचको सुमधुर सम्बन्धको प्रतीक भन्दा किमार्थ अतिसयोक्ति हुनेछैन ।
अष्ट्रेलियाका सडकहरूको अर्को विशेषता के हो भने सडकको छेउमा खानेपानीको पाइप बिच्छ्याइएको हुन्छ । आवास क्षेत्रको घनत्वको आधारमा दमकलले पानी निकाल्ने ठाउँहरूबाट अग्नि नियन्त्रक (फायर हाइड्रेन्ट) को व्यवस्था छ । अण्डरग्राउण्ड पार्किङ स्थलमा गाडीहरू पार्किङ गरिएको स्थानमा गाडीमाथि पानीको पाइपहरू हुन्छन् र गाडी पार्किङ भएको ठीकमाथि पाइपमा भएको प्वालमा मैनबत्तीले टालिएको हुन्छ । यदि पार्किङमा भएको गाडीमा अचानक आगलागी भयो भने त्यो मैनलाई आगोले पगाल्छ । त्यसपछि स्वतः पानीको फोहरा छुट्छ । मानिसको प्रयास र उपस्थितिविना नै अग्नि नियन्त्रणको व्यवस्था हाम्रो सन्दर्भमा अनौठो प्रयोग भन्नुपर्छ ।
बाटो देउ अर्थात् गिभ वे सडक दुर्घटना र सडक अनुशासन साथै व्यवस्थापनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सडकमा गुड्दा आफ्नो अवस्था र हैसियतलाई स्मरण गराउने यो जबर्जस्त सूत्र हो । अष्ट्रेलियन चालकहरूले यसको पालना गरेका कारण वैज्ञानिक सडक व्यवस्था सम्भव भएको हो । अष्ट्रेलियाको राज्यव्यवस्था र नागरिकहरूको दृष्टिकोणमा एक प्रकारको समानता भेटिन्छ । त्यो के भने आफ्नोतर्फबाट अन्यलाई कसरी हुन्छ के गर्दा हुन्छ सहयोग पुग्न सकोस् भन्ने भावना र चाहनालाई प्रकट गर्ने ठाउँ हो बाटो देऊ अर्थात् गिभ वे को व्यवस्था । अशक्तहरू र पैदल यात्रीहरूका साथै साइकल प्रयोग कर्ताहरूका लागि छुट्टै ट्राफिक व्यवस्थाले सबैलाई सुरक्षित र व्यवस्थित गरेको छ ।
शहरमा सेन्सर नियन्त्रित ट्राफिक बत्ती, सिसी क्यामरा जस्ता आधुनिक प्रविधिको प्रयोगले सडकको व्यवस्थापनमा प्रहरी जनशक्ति शून्य प्रायः देखिन्छ । यसले आर्थिक बचत र चुस्त व्यवस्थापन दुवै भएको छ । सडक व्यवस्थापनको महत्वपूर्ण क्षेत्र गोलाकार चौबाटो (राउण्ड एबाउट) पनि हो । यसले गतिलाई नियन्त्रण गरेको छ । जान पाउने प्राथमिकता कस्को हो भन्ने कुरा निर्धारण गर्छ । अष्ट्रेलियाका प्रायः सबै सडकहरूमा गति निर्धारित गरिएको छ । विनाकारण कम गतिमा गुडेर अर्कोलाई रोक्नु छेक्नु हुँदैन । फेरि निर्धारित गतिभन्दा बढी गुड्नु भनेको दण्डित हुनु हो भन्ने कुरा बिर्सनु हुँदैन । दुर्गम ठाउँहरूमा सडकको गति निर्धारित नभएको वा नलेखिएको अवस्थामा कति र कुन गतिमा हिँड्ने भन्ने विषयको ज्ञान चालकलाई हुन्छ ।
यस्ता ठाउँ आवासीय क्षेत्रमा पर्दैनन् वा आवागमन यदि छैन भने प्रतिघण्टा एकसयसम्मको गतिमा गुड्न सकिन्छ भने आवासीय क्षेत्रमा भने अधिकतम् प्रतिघण्टा ५० किलोमिटरसम्म गुड्नसक्ने व्यवस्था ट्राफिक नियममा उल्लेख भएको हँुदा दुर्गम क्षेत्रमा पनि गति निर्धारण गर्ने विधि माननीय मानिन्छ । अर्को महत्वपूर्ण विषय के हो भने सडकलाई विनापूर्वअनुमति व्यक्तिगत प्रयोग गर्नु दण्डनीय हुन्छ । आफ्नो कम्पाउण्डभित्रको बाटोमा पनि सम्बन्धित निकायको लिखित अनुमतिविना, खन्न र मर्मतसम्म गर्नसमेत पाइँदैन । सबै अण्डरपास, ओभरपासहरूमा देखिने गरी उचाइ लेखिन्छ । लेखिएको उचाइभन्दा बढीका गाडीहरू जाने क्रममा क्षति भएको खण्डमा क्षतिपूर्तिको व्यवस्था छैन । तर, उचाइ नलेखिएको अवस्थामा भने त्यसरी क्षति भयो भने क्षतिपूर्ति गर्ने काम जिम्मेवार निकायको हुन्छ ।
सडक मर्मत र घुमेर अर्को बाटो जानुपर्ने अवस्था (डिटुर) को पूर्वजानकारी दिनुपर्ने जिम्मेवारीलाई महत्वपूर्ण मानिन्छ । कसरी हुन्छ सवारीसाधनलाई असुविधा नहोस् भन्ने भावनाको प्रबलता अष्ट्रेलियाको सडक व्यवस्थापनको मुख्य विशेषता हो । सडकमा अनिवार्य प्राथमिकताको व्यवस्था पनि छ । जस्तो प्रहरी, एम्बुलेन्स, दमकलजस्ता आपत्कालीन र कार्यक्षेत्रमा खटिएका साधनहरूलाई अगाडि जान दिनु प्रत्येक सवारी चालकको कर्तव्य हुन्छ । साथै सरकारी उच्च पदाधिकारहरू जस्तो गभर्नर, प्रधानमन्त्री र मन्त्रीलगायतका पदाधिकारीहरूले सडकमा विशेष सुविधा र तामझामका साथ सडक प्रयोग भएको अनुभव नागरिकहरूमा जानकारी छैन ।
यो लेख आफ्नो देशलाई होच्याउने र अरूको अनावश्यक प्रशंसा गर्ने उद्देश्यले लेखिएको होइन । चुस्त दुरुस्त सडक भयो भने पलायन रोक्न र विदेशमा स्थायी बसोवास गरेकाहरू पनि फर्कने सम्भावनालाई राज्यसंयन्त्रले खोज्ने पहिलो बाटो हुनसक्छ । प्रस्तुत लेख तयार गर्ने क्रममा अष्ट्रेलियाको एडिलेड निवासी आनन्द भण्डारीले सैद्धान्तिक र व्यावहारिक ज्ञान साटासाटको अवसर दिएकोमा धन्यवाद दिँदै यो जानकारीमूलक लेखलाई यहीँ बिट मार्छु । (अष्ट्रेलियाको एडिलेडबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच