काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले यसपटक ‘अबका बार ४०० पार’ चुनावी नारा लगाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको चामत्कारिक व्यक्तित्वको अधिक प्रचार गरेर भाजपा तेस्रोपटक अत्यधिक बहुमतसहित सरकार चलाउने योजनामा थियो । तर, मंगलबार सार्वजनिक चुनावी परिणाम भाजपाले सोचेजस्तो आएन । भाजपाका लागि यो चुनावी मतपरिणाम अनपेक्षित मात्र होइन, निराशाजनक देखिएको छ ।
भाजपाका प्रवक्ता तथा राज्यसभा सांसद सुधांशु त्रिवेदीले मतगणनाको चरणमा नै अनपेक्षित र निराशाजनक रहेको स्वीकार गर्नुभएको थियो । त्रिवेदीले भारतीय सञ्चार माध्यमसँग सोचेभन्दा फरक नतिजा आएको बताउनुभएको छ । हुन पनि भाजपाले धेरै अपेक्षा गरेका प्रदेशको मतपरिणाम विपक्षी गठबन्धनतिर गएको छ । लोकसभामा ८० सिट रहेको उत्तर प्रदेशमा ७० सिटसम्म जितेको भाजपाले अहिले अपेक्षित अग्रता लिन सकेन । अयोध्यामा राम मन्दिर फ्याक्टरले पनि बिजेपीलाई फाइदा भएन ।
भारतको लोकसभा निर्वाचनको मतपरिणाम आउने क्रमसँगै भाजपा अघिल्लो चुनावभन्दा ५० सिटभन्दा बढीमा खुम्चिएको छ भने प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस दोब्बरले अगाडि बढेको छ । २०१४ मा २८२ र सन् २०१९ मा ३०३ सिट भाजपा एक्लैले जितेको थियो । २०१९ मा कंग्रेसको जम्मा ५२ सिट थियो । सरकार बनाउनका लागि २७२ सिट आवश्यक पर्छ ।
५४३ सिटको लोकसभा निर्वाचनमा एनडिए र इण्डिया गरी दुई गठबन्धन निर्वाचनमा होमिएका थिए । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित देखिए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले एनडिए गठबन्धनमा आबद्ध दलहरूलाई भने रिझाइराख्नुपर्ने देखिन्छ । यसअघि भारतमा तेहेरिएर प्रधानमन्त्री बन्नेमा जवाहरलाल नेहरु हुनुहुन्थ्यो । यसपटकको चुनावमा ९६ करोड ८८ लाख मतदातामध्ये ६४ करोड २० लाख मतदाताले मतदान गरेका थिए ।
चुनावी नतिजा मोदीको विपक्षमा : कंग्रेस
भारतमा आम निर्वाचनको मतगणना चलिरहँँदा इण्डिया गठबन्धनमा रहेको कंग्रेसले पत्रकार सम्मेलन गरी यो नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीको विपक्षमा रहेको प्रतिक्रिया दिएको छ । लोकसभा चुनावमा इण्डिया गठबन्धनको प्रदर्शनबारे जानकारी दिन कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, राहुल गान्धी र सोनिया गान्धी पत्रकार सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो । भारतीय जनता पार्टी (भाजपा) ले बहुमत नपाउनु नै मोदीको पराजय भएको अध्यक्ष खड्गेले बताउनुभयो ।
खड्गेले भन्नुभयो, ‘देशमा चुनावी नतिजा आइसकेको छ । हामीले पहिले नै यो लडाइँ मोदीविरुद्ध जनता हो भनेर भन्दै थियौँ । हामी १८औँ लोकसभा चुनावमा जनताको मतलाई नम्रतापूर्वक स्वीकार गर्छौं । यसपटक जनताले एउटा पार्टीलाई पूर्ण बहुमत दिएका छैनन् । परिणाम मोदीको विरुद्धमा गएको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘यो मोदीको नैतिक र राजनीतिक हार हो । सरकारी संयन्त्रले बेलाबेलामा अवरोध खडा गरेको छ । सबै नेताविरुद्ध अभियान चल्यो, जुन अभियान लामो समयसम्म हाम्रो स्मरणमा रहनेछ । मोदीले फैलाएको झुट जनताले बुझेका छन् ।’
लगातार तेस्रोपटक जनताको विश्वास पायौँ : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको परिणाम अन्तिमतिर पुग्दै गर्दा जनताले तेस्रोपटक विश्वास गरेको बताउनुभएको छ । मंगलबार साँझ सामाजिक सञ्जालमा उहाँले देशका जनता-जनार्दनले एनडिएलाई लगातार तेस्रोपटक आफ्नो विश्वास दिएको बताउनुभएको हो । ‘भारतको इतिहासमा यो एक अभूतपूर्व पल हो । म यस स्नेह र आशीर्वादका लागि आफ्नो परिवारजनप्रति नमन गर्छु’, मोदीले भन्नुभएको छ, ‘म देशवासीलाई उनीहरूको आकांक्षा पूरा गर्ने कुरामा विश्वास दिलाउँछु । हामी नयाँ ऊर्जा, नयाँ उमंग, नयाँ संकल्पसहित अघि बढ्नेछौँ ।’
तेस्रो प्रधानमन्त्री यात्रा सहयोगी दलमा निर्भर
भाजपासँगको गठबन्धनमा अन्य दलहरू सहभागी रहे पनि भाजपालाई उनीहरूको साथ नभए पनि सरकार चलाउने स्थिति थियो २०१४ र २०१९ मा । अहिलेको परिणामले त्यो फेरिने स्पष्ट संकेत दिएको छ । मंगलबार साँझसम्मको गणना परिणामका आधारमा यो समाचार तयार पारुन्जेलसम्म भाजपाले २४० सिट जित्ने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले वारणासी सिटबाट चुनाव जित्नुभएको छ । मंगलबार साँझसम्म बहुमतबाट ३२ सिटले भाजपा पछाडि छ । तर, भाजपा नेतृत्वको एनडिए गठबन्धनले भने स्पष्ट बहुमत ल्याइरहेकाले मोदी तेस्रोपटक पुनः प्रधानमन्त्री बन्ने सम्भावना कायम छ । एनडिए गठबन्धन २९४ सिटमा अगाडि छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच