जनताको पक्षमा काम गर्न मिलेर अगाडि बढ्नुपर्ने : पूर्व अर्थमन्त्री पौडेल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासको काममा सबै एकढिक्का भएर लाग्ने अठोट लिएको बताउनु भएकाे छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘तिलोत्तमा प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान’को उद्घाटन गर्दै पौडेलले निर्वाचनमा चुनाव चिन्ह, झण्डा, पार्टी भनेर लागे पनि अघिपछि सबै मिलेर विकासका कार्यमा हातेमालो गर्नुपर्ने बताउनु भएकाे हाे ।

उहाँले भन्नुभयो, ‘तिलोत्तमा नगरपालिका भाग्यमानी छ । यहाँ सचेत र जागरुक नागरिकको बसोबास छ । तिलोत्तमालाई राम्रो बनाउने मिशन छ । तिलोत्तमाको विकासका लागि के गर्नुपर्छ । पहिला पनि गरेका हौं । अहिले पनि गर्दैछौं र भोली पनि गर्नेछौं । ’

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले नेपालको झण्डा र नेपाली हुनुप्रति गौरव गर्नुपर्ने बताउनु भयो । उहाँले तिलोत्तमा नगरपालिकाले प्रशंसनीय कार्य गरेको बताउनु भयो। पौडेलले आजको दुनियामा सबैभन्दा ठूलो तागत सूचना नै भएको बताउनु भयो ।

उहाँले आईटी पार्क स्थापना गर्ने तिलोत्तमा नगरपालिकाको निर्णयप्रति सम्मान रहेको बताउनु भयो । उहाँले भन्नुभयोे, ‘मेरो आग्रह छ यो पार्कबाट तिलोत्तमाबासीले यथेष्ट लाभ लिनुहोला । आईटी पार्कको सदुपयोग गर्नुहोला । ’ संविधानमा नागरिकको धेरै राम्रा अधिकार लेखिएकाले मानिसको जीवनस्तरमा सुधार हुनुपर्ने र विकसित समाज आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पौडेलले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको र ऋण तिर्न पनि ऋण लिनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताउनु भयो । उहाँले अहिलेको बजेटले तिलोत्तमाका विभिन्न योजनालाई समेटेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामूहिक प्रयासले तिलोत्तमाको विकास गर्ने हो ।’

त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले तिलोत्तमाले मानवीय र भौतिक विकासलाई सँगसँगै लगेको बताउनु भयो । उहाँले तिलोत्तमाको बेरुजु पनि कम रहेको बताउनु भयो।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमाले कथामा नभइ काममा विश्वास गर्दै आएको बताउनु भयो । उहाँले राष्ट्रिय झण्डा हाम्रो शान र गौरव भएकाे बताउनुभयाे ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले तिलोत्तमा नगरपालिकाले राम्रो काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘रुपन्देहीको विकासमा विष्णु पौडेलको ठूलो योगदान छ । उहाँ विकास प्रेमी नेता हो ।’

तिलोत्तमा नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तिलोत्तमा नगरपालिकाले नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ ।

नगरपालिकाको ४० लाख रुपैयाँ आन्तरिक श्रोतबाट निर्माण भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको ४० लाख आन्तरिक स्रोतबाट बनेको उद्यानमा राष्ट्रिय झण्डा, एलईडी बोर्ड र नगरभित्रका धार्मिक र साँस्कृतिक सम्पदाहरु झल्किने गरी कम्पाउण्डवालको भित्री भागमा पेन्टिङ गरिएको बताउनु भयो।

उक्त एलईडी बोर्डमा क्रिकेट, फुटबललगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली टीमले खेल्ने खेलहरुको निःशुल्क प्रत्यक्ष प्रसारण गरिने नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?