झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग कांग्रेसको फरक प्रकारको निकटता रहेको बताउनु भएको छ । वर्तमान सरकारसँग नेकपा एसको चलिरहेको द्वन्द्व र गण्डकी प्रदेशमा राप्रपाले कांग्रेसलाई समर्थनको गरेको सन्दर्भ जोड्दै उहाँले सो कुरा बताउनु भएको हो ।
'मुलुकमा नेकपा एकीकृत समाजवादीसहितको सत्ता समीकरण छ, राप्रपा सत्तामा छैन' उहाँले भन्नुभयो, 'एकीकृत समाजवादी सत्तामा भएपनि सरकारसँग उसको द्वन्द्व छ, गण्डकी प्रदेशमा राप्रपाले कांग्रेसलाई विश्वासको मत दिएको छ ।' पछिल्लो विकसित घटनाक्रमलाई महामन्त्री शर्माले फरक प्रकारको निकटका रूपमा अर्थ्याउनु भएको हो ।
महामन्त्री शर्माले कुटनैतिक भाषामा राप्रपा र नेपाल समाजवादी पार्टीको प्रशंसा गर्नुभयो । एकीकृत समाजवादी र राप्रपाको भूमिकालाई नेपाली कांग्रेसले महत्वपूर्ण सहकार्यको रूपमा लिएको उहाँले बताउनुभयो ।
मंगलबार झापाको काँकडभिट्टामा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकको राजनीतिमा केन्द्रले जे लाद्छ त्यही मान्न स्थानीय पार्टी नेतृत्व बाध्यकारी नभएको समेत बताउनु भयो। उहाँले स्थानीय आवश्यकता र औचित्यका आधारमा समीकरण गरेर अघि बढ्न स्थानीय पार्टी नेतृत्व स्वतन्त्र रहेको स्पष्ट समेत पार्नुभयो ।
'केन्द्रमा के भयो, संघले जे गर्छ, जबर्जस्त त्यो मान्नै पर्छ भन्ने छैन , राम्रो कामका लागि स्थानीय पार्टी नेतृत्व पूर्ण स्वतन्त्र छ ।' उहाँले भन्नुभयो, ' समयलाई चिन्न र स्थानीय आवश्यकतालाई बुझेर काम गर्न सक्नुपर्छ ।'
शर्माको निर्वाचन क्षेत्र झापा १ को काँकडभिट्टा खानेपानीमा कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठबन्धन गरेर चुनाव लडेका थिए । उहाँले त्यसलाई नवीन कार्यको संज्ञा दिनुभयो ।
खानेपानीको चुनावमा समीकरण गरेका शक्ति र सबै उम्मेदवारको जीत नहुनुलाई गहिरो क्षतिका रुपमा आफूले लिएको महामन्त्री शर्माको भनाइ छ । उहाँले दल र व्यक्तिभन्दापनि काँकडभिट्टा खानेपानीमा विजयी भएको मन र वातावरणमा बनाउन विजेतालाई सुझाव दिनुभयो ।
उहाँले भावनात्मक रूपमा एकताबद्ध भएर काम गर्न र भिन्न गठबन्धनबाट जितेकालाई पनि साथमा लिएर अघि बढ्न आग्रह गर्नुभयो । यसपटक काँकडभिट्टा खानेपानीलाई १३ करोड ९७ लाख १८ हजार बजेट परेको जानकारी दिँदै शर्माले कांग्रेसको नेता र रोहित बुढाथोकीको भावना त्याग नवनिर्वाचित अध्यक्षलाई शर्माले आग्रह समेत गर्नुभयो ।
स्वच्छ खानेपानीको निरन्तरता, हाम्रो साझा प्रतिबद्धता भन्ने नाराका साथ चुनावी समीकरण गरेको कांग्रेस नेतृत्वको गठबन्धनबाट अध्यक्षमा रोहित बुढाथोकी, सचिव विशाल तामाङ तथा सदस्यद्व्यमा केदारजंग भट्टराई र इन्द्रबहादुर प्रधान विजयी हुनुभएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन उपाध्यक्ष गोविन्द गिरीसहित आठजना निर्वाचित हुनुभएको छ।
यस्तै कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता गोपाल तामाङले काँकडभिट्टा खानेपानीको निर्वाचन आफूहरुले ३३ प्रतिशतमात्रै अंक ल्याएको बताउनुभयो । उहाँले टाउको जित्ने अरु हार्ने समस्या हल गर्नु पर्नेआवश्यकता औंल्याउनुभयो । खानेपानी समुदायको विवेकसँग जोडिएको प्राविधिक कुरा हो । खानेपानीको प्रतिष्ठासँग जोडिएको कुरा भएको र अहिलेको परिणामलाई उपलब्धी र प्रगति भएको मान्नु पर्ने बताउनुभयो ।
हारलाई जति छिटो स्वीकार्यो त्यति छिटो प्रगति गर्ने आधार खुल्ने बताउनु भएको उहाँले कांग्रेसले कहिँ गल्ती नगरेको र गल्ती भेटिए सच्याउन तयार रहेको बताउनुभयो । कांग्रेसको कोही कसैले बेइमानी गरेको भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको तामाङले खानेपानी निर्वाचनको तत्काल समीक्षा गर्न जरुरी भएको बताउनुभयो ।
खानेपानी निर्वाचन समितिका संयोजक समेत रहनु भएका कांग्रेस कोशी प्रदेश सदस्य विमल आचार्य टिमका १२ जनालाई जिताउन नसकेकोमा दुख व्यक्त गर्नुभयो । खानेपानी निर्वाचनमा सबै पार्टी मिलेर जान जटिल थियोे कांग्रेसले एक्लैले जित्ने अवस्था रहेकोले गठबन्धन गरेको उहाँको तर्क छ । पाँच भाइ मिलेर हिड्दा खोला तरिन्छ भनेर अघि बढे पनि धेरै साथी खोलावारी नै रहेको र अरु आठ जनालाई जिताउन नसकेकोमा उहाँले क्षमायाचना गर्नुभयो ।
निर्वाचनमा कसैलाई लाखापाखा र भेदभाव पटक्कै नगरेको स्पष्ट पार्नु भएको आचार्यले शंका उपशंकाको नजरले नहेर्न आग्रह गर्नुभयो । हारजीतलाई शिक्षाको रूपमा र परिणामलाई मार्ग दर्शनका रूपमा लिनुपर्नेमा उहाँको जोड छ । खानेपानी जीवनसँग जोडिएको विषय भएकोले त्यही अनुरुपको व्यवहार गर्न आचार्यले नेतृत्वलाई आग्रह गर्नुभयो ।
कांग्रेस झापा १ क्षेत्रीय सभापति इन्द्र बुढाथोकी राजनीति दल निर्वाचनमा साक्षी बसेको, परिणाममा कोही कतैबाट शंका गर्नु पर्ने ठाउँ नरहेको बताउनु भयो । चुनावी परिणामलाई लिएर नाता, जाति, धर्म , राजनीतिको रंग नदिन र वैमनस्यताको बिजारोपण नगर्न आग्रह गर्नु भएको बुढाथोकीले अहिलेको जीत सामुहिक प्रयासबाट प्राप्त गरेको प्रतिफल भएको बताउनु भयो । नेतृत्वलाई पार्टी रंगबाट मुक्त भएर स्वतन्त्र रूपमा काम गर्न सुझाव दिनुभएको उहाँले गल्ती गरे नछाड्ने चेतावनी दिए ।
महासमिति सदस्य रामबहादुर कट्टेल नेतृत्वले बेइमानी नगरेको तर अपेक्षित परिणाम आउन नसकेको बताउनुभयो । गठबन्धनका उम्मेदवार पराजित भएकोमा दुख र चिन्ता लागेको लागेको उल्लेख गर्नुभएको कट्टेलले कांग्रेसले कहिँ पनि बेइमानी नगरेको बताउनुभयो । कांग्रेसले छलकपट र झालझेल नगरेको दोहोर्याउनु भएको उहाँ प्रमाण ल्याउन चुनौती दिनुभयो । सबै कुरा बिर्सेर नियामित रूपमा खानेपानी वितरण गर्न सुझाउनु भएको कट्टेलले खानेपानी जस पाउने ठाउँ नभएको बताउनुभयो ।
झापा १ निर्वाचन क्षेत्र प्रदेश १ सभापति नेकपा हरि बुढाथोकी निर्वाचनमा पूर्ण सफल नभएपनि नेतृत्व विजयी भएको बताए । उहाँले सेवाभावले काम गर्ने विजेतालाई सुझाव दिनुभयो ।
कांग्रेस मेचीनगर नगर सभापति सुदय पनेरु यसका र उसका मान्छे भन्ने संकृण सोचले कांग्रेस बिग्रेको बताउनुभयो । नजिकै रहनु भएको महामन्त्री शर्मा तर्फ हेर्दै पनेरुले काम गर्न नसक्ने नेताले गुट बनाउने र दुईचार जानको झुण्ड लिएर हिड्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । काँकडभिट्टा खानेपानीको निर्वाचनमा केही कमिकमजोरी भएको छ, त्यसलाई आगामी दिनमा सच्याइने प्रतिबद्धता उहाँले जनाउनु भयो ।
नेकपा एकीकृत समाजवादी मेचीनगर अध्यक्ष हरि तिम्सिना मिश्रित विजय हासिल गरेको तर आफूहरू हाँस्न नसकेको बताउनुभयो । व्यक्तित्वले पनि मत प्रभावित हुने उल्लेख गर्नु भएको उहाँले सैद्धान्तिक मत र जातीय मुद्दाले पनि समस्या भएको उल्लेख गर्नुभयो । उहाँले अबका दिनमा कांग्रेससँग चुनावी गठबन्धन हुन नसक्ने चेतावनी समेत दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला चित्त बुझ्दो परिणाम नआएपनि सुखद हो भन्ने भाष्य स्थापित गर्न सक्नु पर्नेमा जोड दिनुभयो । संगठित भएर चुनाव लड्न इमान्दारिता जरुरी हुने बताउनु भएको उहाँले जीतका लागि समाजसँगको प्रिती र लगानी हुनुपर्ने औंल्याउनु भयो । विजेतालाई उहाँले सबैलाई जोडेर रचनात्मक काम गर्न सुझाव दिनुभयो।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मेचीनगर अध्यक्ष सुकवीर कन्दङ्वा अहिलेको समीकरणलाई आगामी दिन र निर्वाचनमा समेत निरन्तरता दिन जरुरी आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष रोहित बुढाथोकीले आफूले इमानदारीताका साथ मत मागेको र अब पनि साझा बनेर काम गर्ने बताउनु भयो । समाज र समुदायप्रति जवाफदेही भएर काम गर्ने बताउनु भएको उहाँले सबैको साथ सहयोगले खानेपानीलाई नमूना बनाउने लक्ष्य आफ्नो रहेको सुनाउनुभयो । नवनिर्वाचित अध्यक्ष बुढाथोकी आफूले कसैको मन नदुखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच