काठमाडौं । दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको सुपर-८ मा पुग्ने पहिलो टोली बनेको छ । सोमबार राती बंगलादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिका सुपर-८ मा पुगेको हो । विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार तेस्रो जित हो । अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रनमात्रै बनाउन सक्यो । ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । चार समूहबाट शीर्ष दुई-दुई टोली सुपर-८ मा पुग्नेछन् ।
भारतले सुरुवाती दुवै खेलमा आयरल्याण्ड र पाकिस्तानलाई हराएको थियो । टोलीले अमेरिका र क्यानडासँग दुई खेल खेल्न बाँकी छ, यीमध्ये एक खेल पनि जितेमा भारत सुपर ८ मा पुग्नेछ । अमेरिकालाई पनि एक जित आवश्यक छ । अमेरिकाले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । टोलीले अब भारत र आयरल्याण्डको सामना गर्नेछ । क्यानडाले दुवै खेल जित्नुपर्नेछ । अब क्यानडाले पाकिस्तान र भारतसँग खेल्नुपर्नेछ । सुपर-८ मा पुग्न यी दुवै खेल जित्नुपर्नेछ तर त्यसको सम्भावना भने कम छ ।
पाकिस्तानले दुवै खेल ठूलो अन्तरले जित्नुपर्नेछ । पाकिस्तानले आफ्नो सुरुवाती दुवै खेल अमेरिका र भारतसँग हारेको छ । उसले अमेरिकाको हारका लागि प्रार्थना पनि गर्नुपर्नेछ, ता कि दुवै टोलीले चार-चार अंकको बराबरी गर्न सकून् र राम्रो रनरेटमा पाकिस्तान अगाडि जान सकोस् ।
आयरल्याण्डले पनि दुवै खेल ठूलो अन्तरले जित्नुपर्नेछ । आयरल्याण्ड पहिलो खेलमा भारत र दोस्रोमा क्यानडासँग पराजित भएको थियो । टोलीले पाकिस्तान र अमेरिकासँग दुई खेल खेल्न बाँकी छ । दुवै खेलमा ठूलो अन्तरले जित हासिल गरेमात्रै टोली सुपर-८ मा पुग्न सक्नेछ ।
स्कटल्याण्डको इंग्ल्याण्डविरुद्धको खेल अनिर्णित रहृयो, जब कि टोलीले नामिबिया र ओमानलाई ठूलो अन्तरले पराजित गर्यो । यसको अन्तिम खेल १६ जुनमा अस्ट्रेलियासँग हुनेछ । यो जितसँगै टोली सुपर-८ मा पुग्नेछ तर हार्दा पनि छनोटको आशा कायमै रहने छ ।
अष्ट्रेलियाले ओमान र इंग्ल्याण्डलाई हराएर दुई खेल जितेको छ । टोलीले नामिबिया र स्कटल्याण्डसँग दुई खेल खेल्न बाँकी छ । यदि टोलीले एक खेल पनि जित्यो भने ६ अंकसहित छनोट हुनेछ । नामिबियाले अष्ट्रेलिया र इंग्ल्याण्डसँग दुई खेल खेल्न बाँकी छ, दुवै खेल जिते सुपर ८ मा पुग्नेछ । तर, यसको सम्भावना कम छ ।
डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको स्कटल्याण्डसँगको पहिलो खेल निष्कर्षविहीन थियो, जब कि टोली अष्ट्रेलियासँग पराजित भएको थियो । अब इंग्ल्याण्डको नामिबिया र ओमानसँग दुई खेल बाँकी छ, दुवै खेल जिते पनि टोलीले पाँच अंकमात्र जोड्नेछ । यहाँबाट छनोट हुनका लागि स्कटल्याण्डभन्दा आफ्नो रन रेट राम्रो राख्नुपर्ने भएकाले अन्तिम दुई खेल ठूलो अन्तरले जित्नुपर्नेछ ।
ओमान तीन खेल हारेर समूह चरणबाटै बाहिरिएको छ । नामिबिया, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजित भएको थियो । टोलीको अन्तिम खेल इंग्ल्याण्डसँग बाँकी छ । अफगानिस्तानले धमाकेदार सुरुवात गर्दै पहिलो दुई खेलमा युगाण्डा र न्युजिल्याण्डलाई ठूलो अन्तरले पराजित गरेको थियो । टोलीको दुई खेल वेष्ट इण्डिज र पपुवा न्युगिनीसँग छन् । दुवै खेल जिते टोली आठ अंकसहित छनोट हुनेछ । एक खेल जिते पनि टोलीले ६ अंकका साथ आशा जीवित राख्नेछ ।
वेष्ट इण्डिजले पनि दुई खेल जित्नुपर्नेछ । घरेलु टोली वेष्ट इण्डिजले पहिलो दुई खेलमा युगाण्डा र पपुवा न्युगिनीलाई पराजित गर्दै चार अंक जोडेको छ । अब दुई खेल न्युजिल्याण्ड र अफगानिस्तानसँग छन् । यदि वेष्ट इण्डिजले दुवै खेल जित्यो भने टोली छनोट हुनेछ । यदि टोलीले एक खेल पनि जित्यो भने ६ अंकसहित छनोटको आशा जीवितै रहनेछ । युगाण्डाले पपुवा न्युगिनीलाई एक खेलमा पराजित गर्यो तर वेष्ट इण्डिज र अफगानिस्तानसँग हार्यो । न्युजिल्याण्डसँगको एक खेल बाँकी छ, यहाँ जित्न गाह्रो छ तर टोलीले छनोट हुन चाहन्छ भने ठूलो अन्तरले जित्नुपर्नेछ ।
पपुवा न्युगिनीले वेष्ट इण्डिज र युगाण्डासँग दुई खेल हारेको छ । अब अफगानिस्तान र न्युजिल्याण्डसँग दुई खेल बाँकी छन्, दुवै खेल जित्न गाह्रो छ तर छनोट हुन चाहन्छ भने दुवै खेल ठूलो अन्तरले जित्नुपर्नेछ । न्युजिल्याण्डले तीनवटै खेल जित्नुपर्नेछ । पहिलो खेलमा अफगानिस्तानसँग न्युजिल्याण्ड ठूलो अन्तरले पराजित भएको थियो । टोलीले वेष्ट इण्डिज, युगाण्डा र पपुवा न्युगिनीसँग तीन खेल खेल्न बाँकी छ । तीनवटै खेल जितेमात्रै टोली सुपर ८ मा पुग्ने आशा गर्न सक्छ ।
बंगलादेशले दुवै खेल जित्नुपर्नेछ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हराएको थियो तर दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । उसले अब छनोट हुन नेपाल र नेदरल्याण्ड्सविरुद्धको अन्तिम दुई खेल जित्नुपर्नेछ ।
नेदरल्याण्ड्सलाई पनि दुई जित आवश्यक छ । पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई हराएको थियो तर दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । बंगलादेश र श्रीलंकासँग दुई खेल बाँकी छ । दुवै खेल जिते टोली ६ अंकसहित सुपर ८ मा पुग्नेछ ।
नेपालले तीनवटै खेल जित्नुपर्नेछ । अब टोलीले श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । टोलीले तीनवटै खेल जितेमात्रै सुपर-८ मा पुग्ने सम्भावना छ । श्रीलंकाले दुवै खेल ठूलो अन्तरले जित्नुपर्छ । अब टोलीले नेपाल र नेदरल्याण्डसँग दुई खेल खेल्न बाँकी छ । दुवै खेल जिते टोलीले सुपर ८ मा पुग्ने आफ्नो आशा जीवित राख्नेछ । तर, यसका लागि उसले बंगलादेश र नेदरल्याण्ड्सको हारका लागि प्रार्थना पनि गर्नुपर्नेछ ।
नेपालले आज श्रीलंकाको सामना गर्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकपको दोस्रो खेलमा आज (बुधबार) श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार आज बिहान सबा ५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ । पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो । नेपालले यसपछि समूहको अन्तिम दुई खेल भने सेन्ट भिन्सेन्टको आर्नस भेल रंगशालामा खेल्नेछ । दुई खेलमा लेग स्पिनर सन्दीप लामिछानेले पनि खेल्नुहुनेछ । प्रतिश जिसीको स्थान सन्दीप लामिछानेले लिएकाले टोलीमा १४ सदस्यमात्र छनोटका लागि योग्य हुनेछन् । सन्दीप टोलीमा जोडिने क्यानले जनाइसकेको छ । नेपाल र श्रीलंकाले सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्दैछन् । उमेर समूहमा भने पटक–पटक भेट भएको इतिहास छ । सन् २०१६ को यू-१९ एसिया कपमा कामिन्डु मेन्डिसको कप्तानीमा रहेको श्रीलंकासँग नेपाल १ रनले पराजित भएको थियो ।
हाम्रो मनोबल बढेको छ, श्रीलंकालाई हराउने अवसर छ : कप्तान पौडेल
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरका रूपमा रहेको बताउनुभएको छ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको बताउनुभयो । ‘एसोसिएट टिमले टेस्ट राष्ट्रहरूलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ,’ उहाँले भन्नुभयो, ‘हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौँ । हामीले यसका लागि दुई महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौँ र डेढ वर्षदेखि नियमित क्रिकेट खेलेका छौँ । हामीमा सधैँ विश्वास छ ।’ रोहितले श्रीलंकाका स्पिनरहरू राम्रो रहे पनि नेपाल तयार रहेको बताउनुभयो । ‘श्रीलंकामा राम्रा स्पिनर छन् जसले विश्वभर क्रिकेट खेलेका छन् । हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ । तर, सबै २० टोली हेर्दा सन्तुलित नै देखिन्छन् । हामीले बुधबार गएर विश्वसामु आफ्नो प्रतिभा देखाउने हो,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच