काठमाडौं । शनिबार बिहानैदेखि विश्वभरका नेपाली क्रिकेट प्रेमीहरूको ध्यान नेपाल र दक्षिण अफ्रिकाको म्याचप्रति केन्द्रित थियो । बिदा भएको र बिहानको समय भएकाले पनि सबै जनाले यो खेल हेर्ने मौका पाएका थिए । वेस्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल रंगशालामा भएको खेल हेर्न बाक्लै मात्रामा नेपालीहरू त्यहाँ पुगेका थिए । जुन उत्साह हामीले अमेरिकामा भएको खेलमा पनि देखेका थियौँ । एकप्रकारले भन्दा नेपाली दर्शकको भरपुर समर्थन नेपाली क्रिकेट टिमले पाएको थियो । तर, नेपालको सामु थियो विश्वकै दिग्गज टिम दक्षिण अफ्रिका । धेरैले दक्षिण अफ्रिकाले सहजै नेपाललाई हराउने अनुमान गरेका थिए । टेलिभिजनको लाइभमा बोल्ने ‘कमेन्टेटर’हरूले समेत सुरुवातदेखि नै दक्षिण अफ्रिकालाई ठूलो र नेपाललाई सानो टिम भन्दै बोलेको देखियो । तर, त्यसको विपरीत नेपालले शनिबार जुन खेलको प्रदर्शन गर्यो पूरै विश्वको ध्यान नेपाली क्रिकेटप्रति खिचिएको छ ।
इतिहास रच्नबाट चुक्यो
सधैँ खेल जित्नकै लागि खेलिन्छ । तर, नतिजा सधैँ आफ्नो पक्षमा आउँदैन । कहिलेकाहीँ नतिजा उल्टो आउँछ । शनिबार पनि यस्तै भयो । लाखौँ समर्थकलाई निराश बनाउँदै नेपाल बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग मात्र १ रनले हार्यो । आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इण्डिजमा दक्षिण अफ्रिकासँग पहिलोपटक सामना गर्दा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपाल १ रनले पराजित भएको हो । नेपालले सुरुमा कसिकसाउ बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो । जवाफमा २० ओभरमा नेपालले ११४ रन मात्रै बनाउन सक्यो । अन्तिम दुई बलमा रन जोड्न नसक्दा नेपाल ऐतिहासिक विजयको नजिक भएर पनि पराजित भएको हो । अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । सुरुका दुई बल डट खेल्नुभएका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गर्नुभयो र चौथो बलमा दुई रन लिनुभयो । पाँचौँ बल फेरि डट खेल्नुभएका उहाँ अन्तिम बलमा रन आउट हुनुभयो र नेपालले पीडादायी हार व्यहोर्नुपर्यो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाउनुभयो । ४९ बल खेल्नुभएका उहाँले चार चौका र एक छक्का प्रहार गर्नुभयो । यस्तै, अनिल शाहले २७ रन बनाउनुभयो । २४ बल खेल्नुभएका उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो । दीपेन्द्र सिंह ऐरीले ६ रन बनाउनुभयो । यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट हुनुभएको थियो । २३ बल खेल्नुभएका उहाँले एक चौका र एक छक्का प्रहार गर्नुभयो । कप्तान रोहित पौडेल शून्यमै आउट हुनुभयो भने कुशल मल्ल १ रन बनाएर आउट हुनुभयो । गुल्सन झाले ६ र सोमपाल कामीले ८ रन बनाउनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले ४३ रन बनाउनुभयो । ट्रिस्टन्स स्टुब्सले २७, आडन माक्रमले १५ रन बनाउनुभयो । क्विनटन डिकक १०, हेनरिच क्लासेन ३ र डेविट मिर ७ रनमा आउट हुनुभयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले शानदार बलिङ गर्नुभयो । भुर्तेलले चार तथा ऐरीले तीन विकेट लिनुभयो । खेलमा कमब्याक गर्नुभएका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सक्नुभएन ।
हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । सुपर आठमा पुग्ने सम्भावना जीवित राख्न पनि शनिबारको खेल जित्नैपर्ने अवस्थामा नेपाल थियो । समूह चरणमा हालसम्म खेलेका तीन खेल जितेर शीर्ष स्थानमा रहँदै दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेको छ । तीनमध्ये दुई खेल जितेको बंगलादेशले चार अंक जोड्दै आफूलाई बलियो स्थानमा उभ्याएको छ । अब बंगलादेशले नेपालसँग खेल्न बाँकी छ । बंगलादेशले सोमबार नेपालसँग खेल्नेछ । जम्मा एक खेल जितेको नेदरल्याण्ड्स दुई अंकसहित तेस्रो स्थानमा छ । उसले श्रीलंकासँग खेल्न बाँकी छ । नेदरल्याण्ड्ससँग पराजित नेपालले वर्षाका कारण श्रीलंकासँग एक अंक बाँडेको थियो ।
विश्लेषक भन्छन्-‘अनुभवको कमी देखियो’
हुन त नेपालले यस विश्वकपमा पहिलो खेल नेदरल्याण्ड्ससँग खेलिसकेको थियो । वर्षाका कारण अर्को खेल श्रीलंकासँग खेल्नै पाएन । नेदरल्याण्ड्ससँग नेपालले धेरैपटक सामना गरिसकेको थियो र दुवै टिमबीच हारजित चलि नै रहेको थियो । एक अर्थमा भन्दा नेपाल र नेदरल्याण्ड्स लगभग उस्तै अवस्थामा यो विश्वकपमा प्रवेश गरेका थिए । नेपालभन्दा नेदरल्याण्ड्स केही अंकमाथि नै रहेको छ । टेस्ट राष्ट्र श्रीलंकासँग खेल्नै नपाएको नेपालको लागि बलियो टिम दक्षिण अफ्रिकासँग खेल्नु एउटा नौलो अनुभव थियो । तर, विश्वका क्रिकेट विश्लेषकहरू भने नेपालको हार हुनुमा क्षमताभन्दा पनि अनुभवको कमी रहेको औँल्याउँछन् । उनीहरूले नेपालसँग क्षमता र समर्थक दुवै रहेको भन्दै आगामी दिनमा ठूला राष्ट्रसँग खेलाउनुपर्ने बताएका छन् । नेपालले ठूला राष्ट्रहरूसँग खेल्ने अवसर पाएको भए शनिबारको खेल नेपालले आरामले जित्न सक्ने उनीहरूले प्रतिक्रिया दिएका छन् । नेपाल त्यस प्रकारको ‘प्रेसर हृयाण्डिल’ गर्नबाट चुकेको अधिकांशको भनाइ छ ।
दक्षिण अफ्रिका पूर्वफास्ट बलर डेल स्टेनले खेलपछि नेपालको खुलेर तारिफ गर्नुभयो । उहाँको भनाइमा नेपाल जितको हकदार थियो, तर दक्षिण अफ्रिका भाग्यशाली ठहरियो । नेपालको प्रदर्शनका विषयमा उहाँले भन्नुभयो, ‘बेजोड खेल भयो । म अण्डरडगको ठूलो फ्यान हुँ । दक्षिण अफ्रिकाको खेल भए पनि मेरो नेपालप्रति सहानुभूति थियो । उनीहरू जितका हकदार पनि थिए, तर फिनिसिङ लाइनसम्म पुग्न सकेनन् । यदि नेपालले जितेको भए उनीहरू टक अफ दि टाउन हुने थियो । नेपाल टक अफ दी टुर्नामेन्ट हुन्थ्यो । त्यसपछि बंगलादेशविरुद्ध नेपालको म्याच विस्फोटक हुन सक्थ्यो । मैले मनमनै त्यही चाहेको थिएँ ।’
राम्रो खेल्दा पनि जित हासिल गर्न सकेनौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले राम्रो क्रिकेट खेल्दा पनि जित हासिल गर्न नसकेको बताउनुभएको छ । दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछिको पत्रकार सम्मेलनमा उहाँले राम्रो खेल खेले पनि जित्न नसकेको बताउनुभयो । टिमको प्रयासमा भने आफू सन्तुष्ट रहेको उहाँले प्रतिक्रया दिनुभयो । ‘राम्रो क्रिकेट खेल्दा पनि हामीले हा¥यौँ । समग्रमा हामीले एकदमै राम्रो खेल्यौँ । टिम इफोर्टमा गर्व गर्छु र सन्तुष्ट छु,’ उहाँले भन्नुभयो । रोहितले गुल्सन झाको प्रस्तुतिलाई लिएर शंका गर्नुपर्ने ठाउँ नभएको बताउनुभयो ।
गुल्सनले एकडेढ वर्षदेखि राम्रो खेल खेलेको बताउँदै उनीमाथि टिमको विश्वास रहेको बताउनुभयो । बंगलादेश विरुद्धको खेल जित्ने रोहितको दाबी छ । ‘आजको खेल जितेको भए बंगलादेश नकआउट जस्तै हुन्थ्यो । अर्को खेल हामी प्रतिष्ठाका लागि खेल्छौँ । हामी टेष्ट मान्यता प्राप्त देशलाई हराउन चाहन्छौँ । त्यो आज सफल हुन सकेन तर हामी अर्को खेलमा त्यसो गर्छौं’ उहाँले भन्नुभयो ।
नेपालको बलियो पक्ष, कमजोर पक्ष
- टिममा एकता
- समर्थकको साथ
- खेलमा अनुशासन
- मध्यक्रमका ब्याट्सम्यान नचल्नु
- रन बनाउने होडमा सम्हालिन नसक्नु
- अनुभवको कमी
- कमजोर फिल्डिङ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच