काठमाडौं । पछिल्लो समय चीनबाट हुने उच्चस्तरीय भ्रमणहरू बाक्लिएका छन् । चिनियाँ जन-राजनीतिक परामर्शदात्री सभा (सिपिपिसिसी) को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल सोमबार फकिएलगत्तै अर्को उच्चस्तरीय टोली नेपाल आएको हो । गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तको उपप्रमुख एवं पब्लिक सेक्युरिटिज विभागका प्रमुख ये हानपिन नेतृत्वमा पाँच सदस्यीय टोली मंगलबार बिहान सिचुवान एयरबाट काठमाडौं आएको हो । परराष्ट्र मन्त्रालयका अनुसार हानपिन नेतृत्वको टोलीले परराष्ट्रमन्त्री, गृहमन्त्री, गृहसचिवलगायत उच्च अधिकारीहरूसँग भेट गर्नेछ । गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुने गृह मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहनुभएको छ ।
हानपिन नेतृत्वको टोली फर्किएलगत्तै उपविदेश मन्त्रीको टोली नेपाल आउँदै छ । नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन उपविदेश मन्त्री सन वेइतोङ नेतृत्वको टोली आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले उक्त भ्रमणको आवश्यक तयारी गरिरहेको छ ।
चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बाटरले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । चारदिने भ्रमणमा शुक्रबार नेपाल आउनुभएका बाटरले प्रधानमन्त्रीका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्नुभएको थियो । सरकारी पक्षले ती भेटवार्ताहरूमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको उल्लेख गरेको छ । तर, विज्ञहरू चिनियाँ पक्षबाट राजनीतिक तहमा भएको भ्रमणलाई सुरक्षा र राजनीतिक पक्षमा केन्द्रित भएको बताउँछन् । सिपिपिसिसी चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको उच्च राजनीतिक सल्लाहकार संयन्त्र हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्ड र उपाध्यक्ष बाटरबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोगबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल-चीन सीमा क्षेत्रका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो । उहाँले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गर्नुभयोे ।
यस्तै, उपराष्ट्रपति यादवले शुक्रबार उपाध्यक्ष बाटरसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको उल्लेख गर्नुभएको थियो । चीनको ‘सिचुआन विमान’ ले छेन्दु र पोखराबीच चार्टर्ड उडान गरेको तथा छिन्दु र काठमाडौंबीच उडान सुचारु भएकामा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पोखरा र चीनका विभिन्न सहरबीच व्यावसायिक उडान सुरु हुनेमा विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।
पछिल्लो समय चीनले काठमाडौंपछि पोखरा र लुम्बिनीमा आफ्नो गतिविधिलाई बढाउँदै गएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले पोखरामा विभिन्न कार्यक्रम आायोजना गरेको थियो । दूतावासले लुम्बिनीमा समेत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । गत साता मात्र एक उच्च चिनियाँ अधिकारीले लुम्बिनी र काठमाडौंको भ्रमण गरी फर्किएका थिए । चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङ गत बुधबार लुम्बिनी जानुभएको थियो । मन्त्री चेनसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ,चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्युरो प्रमुख हुआंग झिहुई पनि उक्त टोलीमा सहभागी हुनुहुन्थ्यो । चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने एवं नेपाल चीनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ आफू लुम्बिनी भ्रमणमा आएको मन्त्री चेनले बताउनुभएको थियो । मन्त्री चेनले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिनुभएको थियो ।
पूर्वराजदूत विजयकान्त कर्णले नेपालका कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचमा पछिल्लो समय बढी सहकार्य भइरहेको टिप्पणी गर्नुभयो । उहाँले दुई मुलुकको सम्बन्धमा भन्दा पनि दलगत सम्बन्धलाई बढी चासो दिइएको धारणा राख्नुभयो । ‘नेपालले चीनबाट पूर्वाधार निर्माण होस् । नेपालमा आर्थिक समृद्धि होस् भन्ने चाहेको छ । तर, पछिल्लो १५ वर्षदेखि रिङरोडको पहिलो चरण पूरा हुनेबाहेक अन्य क्षेत्रमा चाहेअनुसार काम भएको छैन । त्यसैले चीनले रणनीतिक चासोमा बढी ध्यान दिएको देख्न सकिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच