काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्मा अनिवार्य उपस्थित हुन र विनियोजन विधेयक बारेका प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन निर्देश गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस विपक्षमा रहेकोले संसद्मा प्रभावकारी उपस्थिति जनाउन जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेट कमजोर र जनताका आकांक्षा सम्बोधन गर्न नसक्ने भएकाले त्यसविरुद्ध संसद्मा मुखरित हुन सांसदहरूलाई निर्देशनसमेत दिनुभयो ।
‘हामी विपक्षी हो । यस्तो बजेटले विकास हुँदैन । हामीले बजेटको विरोध गर्नुपर्छ’, संसदीय दल बैठकमा देउवाले भन्नुभयो । बैठकमा नेताहरूले बजेटका विविध पक्षमा विश्लेषण गर्दै प्रस्तावित बैठक अवास्तविक र लक्ष्य हासिल गर्न योग्य नरहेको अवगत गराउनुभएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अब प्रतिनिधि सभाको आउने बैठकहरूमा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेकाले सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो । ‘आगामी आर्थिक वर्षको २०८१-८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुन्जेल सम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको छ,’ उहाँले भन्नुभयो ।
संसद्मा दलको निर्देशनअनुसार प्रस्तुत हुन सांसदलाई भनिएको लेखकले बताउनुभयो । ‘बजेटमा के पोजिसन राख्ने ? भनेर त्यसैबेला निर्णय गर्छौँ,’ उहाँले भन्नुभयो । प्रतिपक्षको भूमिकामा भएकाले जनताका मुद्दामा मुखरित भएर संसद्मा प्रस्तुत हुन सांसदलाई बैठकले निर्देशन दिएको लेखकले बताउनुभयो । ‘संसद्का पछिल्ला बैठकमा माननीयहरूको उपस्थिति पातलो देखिएको छ । त्यसैले नेपाली कांग्रेसका माननीयलाई संसद्मा उपस्थिति भएर जनताका आवाजलाई उठाउन र प्रतिपक्षको भूमिका क्रियाशीलतापूर्वक निर्वाह गर्न निर्देशन दिएको छ,’ उहाँले भन्नुभयो ।
बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको लेखकको भनाइ छ । ‘यसबारेमा हामीले खर्च कटौतीको प्रस्ताव राखेका छौँ । हामी हाम्रो खर्च कटौतीको पक्षमा उभिन्छौँ,’ उहाँले भन्नुभयो ।
कांग्रेस सांसद प्रदीप पौडेले संसदीय दलमा बजेट केन्द्रित छलफल मात्रै भएको बताउनुभयो । ‘संसद्मा बजेट निर्णयार्थ पेस हुने बेला प्रतिपक्षी दलको रूपमा हामीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल ग¥यौँ’, पौडेलले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँले बजेटलाई ध्वनि मतबाट निर्णय हुन दिने वा मत विभाजन माग गर्ने भन्नेबारे बैठकमा सामान्य छलफल भएको बताउनुभयो । ‘विगतमा एमालेले बजेटमा पनि मत विभाजनबाट निर्णय लिन माग गरेको थियो । हामीले पनि मत विभाजन माग्ने हो कि भन्ने पनि कुरा उठ्यो तर यसबारे थप छलफल हुँदै गर्छ’, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच