काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको चार महिना बितिसक्दा पनि महासमिति बैठकका निर्णयहरू कार्यान्वयन हुन सकेका छैनन् । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरू संसदीय र अन्य भूमिकामा व्यस्त देखिन्छन् तर पार्टीको महत्वपूर्ण तहबाट भएका निर्णय कार्यान्वयन गराउन उदासीन छन् ।
कांग्रेसले गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गरेको थियो । कांग्रेसको विधानमा महासमिति बैठक सबैभन्दा शक्तिशाली निकाय हो । महासमिति बैठकमा पेस भएका विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक लगायतका प्रस्तावहरू प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पारित गर्ने निर्णय सर्वसम्मत रूपमा भएको थियो । एकमहिनाभित्र हुनुपर्ने महासमिति बैठकका निर्णयको अनुमोदन चार महिना बितिसक्दासम्म नहुनुमा पार्टी पदाधिकारीहरू नै जिम्मेवार छन् ।
कांग्रेस महासमिति बैठकका निर्णयलाई नेताहरूले आफूखुसी व्याख्या गर्दै आएका छन् । उपसभापति पूर्णबहादुर खड्काको राजनीतिक प्रतिवेदनमा कांग्रेसले सहमति र सहकार्यको राजनीतिका लागि गठबन्धन जारी राख्नुपर्ने उल्लेख थियो । महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा अब उप्रान्त कांग्रेसले कसैसँग पनि चुनावी तालमेल नगर्ने प्रतिबद्धता थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनमा गठबन्धनप्रति प्रतिबद्धतासँगै कोही पनि नेता एक पटकभन्दा बढी राष्ट्रपति, दुई पटकभन्दा बढी प्रधानमन्त्री, तीन पटकभन्दा बढी मन्त्री र चारपटक भन्दा बढी सांसद बन्न नहुने प्रस्ताव थियो । सबै नेताहरूले महासमिति बैठकले आफ्नो लाइन पारित गरेको दाबी गर्दै आएका थिए । यद्यपि, महासमितिले पारित गरेका प्रस्तावहरूले यथार्थ रूप अझै हासिल गर्न सकेका छैनन् ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पार्टीको महासमिति बैठकले कुनै निर्णय नगरेको दाबी गर्नुहुन्छ । महासमिति बैठकमा विभिन्न प्रस्ताव आए पनि त्यसमा प्राप्त सुझाव समेटेर केन्द्रीय समितिले पारित गर्नुपर्ने भए पनि अहिलेसम्म पार्टीले कुनै निर्णय नलिएको महरको भनाइ छ । ‘कांग्रेसको महासमिति बैठकले कसैको प्रस्ताव पारित गरेको छैन । ती प्रस्ताव केन्द्रीय समितिबाट एक महिनामा छलफल गरेर पारित गर्नुपर्ने थियो तर पदाधिकारीहरूका कारण हुन सकेन’, महरले हिमालय टाइम्ससँग भन्नुभयो । कांग्रेसले महासमिति बैठकका निर्णय मात्रै नभएर केन्द्रीय समितिबाट पारित कार्यतालिका अनुसारका गतिविधि पनि गर्न सकेको छैन ।
पार्टीभित्रको फोहोर सफा गर्नुपर्छ : महामन्त्री थापा
कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रका फोहोर सफा गर्न आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसभित्र फोहोर गर्ने थोरै र सफा गर्नेहरू धेरै भए पनि सफा गर्नेहरूले सम्मानित महसुस नगरेको बताउनुभयो । ‘कांग्रेसभित्र सफाको अंश धेरै छ तर फोहोर गर्नेहरू हाबी भए । अब गाउँगाउँबाट सफा गर्नेहरूलाई खोजी गर्नुपर्छ । फोहोर गर्नेहरूलाई कांग्रेसबाट भाग्ने अवस्था सिर्जना गराउनुपर्छ’, थापाले भन्नुभयो । उहाँले कांग्रेसभित्र नीति र योजना भएकालाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।
फोहोर गर्ने नै पदाधिकारी हुन् : महर
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसमा थुप्रिएको फोहोरको जिम्मा पदाधिकारीहरूले लिनुपर्ने बताउनुभएको छ । हिमालय टाइम्ससँग कुराकानी गर्दै केन्द्रीय सदस्य महरले पदाधिकारीहरूका कारण पार्टीमा फोहोर थुप्रने क्रम बढेको बताउनुभयो । ‘पहिलेभन्दा अहिले फोहोर बढ्दै छ र त्यसको कारण पदाधिकारीहरू नै हो । उहाँहरूको गठबन्धन नटुटेसम्म कांग्रेस सफा हुँदैन । केन्द्रीय समितिको अधिकार खोसेर उहाँहरूले आफूखुसी गर्दा कांग्रेसमा फाहोर बढेको हो’, महामन्त्रीको भनाइप्रति उहाँले कटाक्ष गर्नुभयो । केन्द्रीय समिति बैठकलाई प्रभावकारी बनाउनुको साटो पदाधिकारीहरूले सानो कोटरीबाट पार्टी चलाउन प्रयास गरेकाले पार्टीभित्र विधि, पद्धति र न्याय हराउँदै गएको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच