काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यालय त्रिपुरेश्वरमा सुरु भएको प्रतियोगिताको उद्घाटन राखेपका सदस्य-सचिव टंकलाल घिसिङले गर्नुभएको थियो ।
प्रतियोगितामा विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिकी संयोजक राखेपकी सदस्य पेमा डोल्मा लामाले जानकारी गराउनुभयो ।
एथलेटिक्स, हिृवलचेयर बास्केटबल, बोसिया, क्रिकेट, साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन गोलबल, जुडो, साउण्ड टेबलटेनिस, पारा टेबलटेनिस, पौडी र भारोत्तोलनको प्रतिस्पर्धा हुनेछ । कुल १२५ स्वर्ण, १२५ रजत र १४३ कांस्यका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।
पारा राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै राखेपका सदस्य-सचिव घिसिङले नेपाली खेलाडीहरू पेरिस पारा ओलम्पिकमा छनोट भइरहँदा यहाँ पाराको नाममा झगडा गर्नु दुखद् रहेको गुनासो गर्नुभयो । ‘पारा राष्ट्रिय खेलकुदको विकास, गतिशीलताका लागि नेपाली पारा ओलम्पिक खेलले उचाइ हासिल गर्दै गर्दा हामी पाराका नाममा झगडा गर्नु दुखद् पक्ष हो ।
पेरिस पारा ओलम्पिकमा नेपालबाट सहभागिता जनाउन दुईजना खेलाडी सहभागी हुँदै गर्दा त्यसले एउटा उचाइ हासिल गरेको छ । तर, हामी देशभित्र पाराका नाममा एकअर्कासँग विवाद गर्नु दुखद् पक्ष हो,’ उहाँले भन्नुभयो ।