न्युयोर्कमा कन्सर्ट गर्दै सुशान्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गायक सुशान्त केसीले अमेरिकाको न्युयोर्कमा दर्शक नचाउनुहुने भएको छ । न्युयोर्कस्थित टाइम्स स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युयोर्क’ नामक कार्यक्रममा उहाँले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउनुहुने भएको हो । हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुँदै आएको भेन्युमा पहिलोपटक नेपाली कलाकारकोे कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सुशान्तसहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिकसमेत रहनेछ । कार्यक्रमको आयोजना ठमेल एनवाइसीका तर्फबाट लेलिन कँडेल, जिमी गुरुङ, रोशन गौचनले गर्दै हुनुहुन्छ ।

नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायक-गायिकाझैँ नेपाली गायक-गायिकाले पनि सोही स्थानमा र सोही स्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजकमध्येका एक लेलिन कँडेलले बताउनुभयो ।

कार्यक्रममा १६ वर्षभन्दा माथिका दर्शकले मात्र सहभागिता जनाउन सक्नेछन् । न्युयोर्कको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाका अन्य ११ स्थानमा समेत हुने आयोजक रोशन गौचनले जानकारी गराउनुभयो । कार्यक्रमको मिडिया संयोजक रेशमजंग शाह रहनुभएको छ ।

करिब चार घण्टा चल्ने कन्सर्टमा गायक सुशान्तले ‘सारंगी’, ‘नजिक आऊ’, ‘गाजलु’, ‘हावाले’, ‘बैमानी’, ‘भरिभरि दिन’ ‘भँगेरा’, ‘म तिमीलाई मन पराउँछु’लगायत दर्जन बढी लोकप्रिय गीतमार्फत् दर्शक रिझाउनुहुनेछ । कन्सर्टको टिकट ठमेल एवाइसीबाट उपलब्ध हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *