काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को दशौँ राष्ट्रिय महाधिवेशन आज (सोमबार) पनि जारी छ । महाधिवेशनको दोस्रो दिन आज विभिन्न प्रतिवेदन पेस गर्नुका साथै हलमा प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको महाधिवेशन असार २० गतेसम्म चल्नेछ । तीन वर्षअघि नेकपा एमालेबाट छुट्टिएर गठन भएको नेकपा एसको यो पहिलो महाधिवेशन हो । महाधिवेशनमा देशभरबाट एक हजार आठ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । आइतबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत राजनीतिक दलका शीर्ष नेताहरूले महाधिवेशन सफलताको शुभकामना दिएका थिए । नेकपा एमालेबाट भने कोही प्रतिनिधि पनि सहभागी भएनन् । उद्घाटन समारोहमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूले महाधिवेशनको सफलताको शुभकामना मात्र दिएनन् मुलुकको राजनीतिक परिस्थितिको चर्चा गर्नुका साथै संविधान रक्षा र संशोधनबारे समेत बहस गरे । सहभागी नेताहरू संविधान रक्षामा एकमत देखिए पनि संशोधनको सवालमा भने फरक धारणा सार्वजनिक भए । अधिकांश राजनीतिक दलका शीर्ष नेता सहभागी उद्घाटन समारोहमा घोचपेचसमेत चल्यो ।
संविधान संशोधन गर्नुपर्दैन, कानुन संशोधन गरे हुन्छ : नेपाल
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जनताका आशा र अपेक्षा पूरा गर्न संविधान नै संशोधन नगरी कानुन संशोधन गरे हुने जिकिर गर्नुभएको छ । आइतबार महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘जनतालाई खुसी पार्ने र सन्तुष्टि गर्न सकेका छैनौँ त्यो हामी आफूभित्र खोज्नुपर्ने भएको छ । संविधान नै संशोधन गर्नुपर्छ जस्तो लाग्दैन मलाई । कानुन संशोधन गरे हुन्छ । कानुन निर्माण गरे हुन्छ, नयाँ संरचना गरे हुन्छ । अरू देशको अनुभवबाट पनि सिक्न सकिन्छ ।’ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई हिजो संसद् विघटन गरेर ठीक गरे भन्नेले आज पनि त्यही कदम चाल्नसक्ने भन्दै सचेत रहनसमेत आग्रह गर्नुभएको छ ।
संविधानको रक्षा र व्यवस्थाको सबलीकरण गर्न आवश्यक : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतबार महाधिवेशनमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण महत्वपूर्ण एजेण्डा रहेको उल्लेख गर्दै सभापति देउवाले भन्नुभयो, ‘एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्वपूर्ण, निर्णायक भूमिका निर्वाह गरेको छ । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्वपूर्ण एजेण्डा हुन् ।’ सभापति देउवाले नेपालको राजनीतिमा, मुलुकमा शान्ति स्थापना गर्ने सवालमा, संविधान निर्माणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।
दुई पार्टी एउटै बनाउने प्रयास जारी छ : प्रधानमन्त्री
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास जारी रहेको बताउनुभएको छ । आइतबार महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नेकपा एकीकृत समाजवादी र माओवादीका बीचमा निर्वाचन अगाडि र निर्वाचनपछि र आजका मितिसम्म पनि एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौँ । महाधिवेशनले पनि यसबारे ठोस निर्णय गर्नुपर्छ ।’
‘माओवादीलाई अस्थिर भनेकोमा असन्तुष्टि’
प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीले तयार गरेको राजनीतिक दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा असन्तुष्टि जनाउनुभएको छ । आफू अस्थिर नभएको भए देशमा संविधानसभा, संघीयता र लोकतान्त्रिक गणतन्त्रसमेत नआउने दाबी गर्दै प्रचण्डले भन्नुभयो, ‘तपाईँको दस्ताबेजमा माओवादी केन्द्रलाई बढी अस्थिर भन्नुभएको छ । तर, म यति भन्छु प्रचण्ड अलि अस्थिर नभएको भए संविधानसभा, लोकतान्त्रिक गणतन्त्र स्थापना हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए शान्ति सम्झौता पनि हुँदैनथ्यो ।’
लोकतन्त्र जोगाउन नेताले चिन्ता गर्नुपर्दैन : लामिछाने
गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ ? भन्दै प्रश्न गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्नेक्रममा सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भए पनि व्यवहारमा नदेखिएको टिप्पणी गर्दै भन्नुभयो, ‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ? आमजनता र नेतृत्वको प्राथमिकता अलग-अलग भएकाले लोकतन्त्रमा खतरा भएको हो । लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउँछन्, नेताहरूले चिन्ता गर्नुपर्दैन ।’
लोकतन्त्र स्वेच्छाचारी तन्त्रमा बदलिँदै छ : यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको लोकतन्त्र स्वेच्छाचारी तन्त्रमा बदलिँदै गएको टिप्पणी गर्नुभएको छ । महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्नेक्रममा अध्यक्ष यादवले भन्नुभयो, ‘आज पनि लोकतन्त्र विस्तारै कमजोर भइरहेको छ । लोकतन्त्रको खतरा बाहिरबाट नभएर हामी भित्रैबाट भएको छ । लोकतन्त्र जनताको शासन हो तर दलतन्त्र, नेतातन्त्र र स्वेच्छाचारी तन्त्रमा बदलिँदै छ । संविधान संशोधन र परिमार्जन गर्ने बेला भइसकेको छ ।’ उद्घाटन समारोहमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम प्रिय र पवित्र लाग्ने तर उत्तिकै डर पनि लाग्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रलाई जसरी लैजानुपर्ने हो त्यसरी लैजान नसकिएको बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शर्वेन्द्रनाथ शुक्लाले भ्रष्टाचारविरुद्ध लड्दै संविधान संशोधन गर्नुपर्ने जिकिर गर्नुभयो ।
उपेन्द्र र अशोक एउटै मञ्चमा
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि उपेन्द्र यादव र अशोक राई पहिलोपटक एउटै मञ्चमा देखिनुभएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको महाधिवेशनको उद्घाटन कार्यक्रममा दुवैजना अतिथि भएर एउटै मञ्चमा पुग्नुभएको हो । यादव नेतृत्वको जसपा नेपालबाट सातजना सांसदका साथ अशोक राई गत वैशाख २३ गते अलग हुनुभएको थियो । वैशाख २४ गते राईले आफ्नो नेतृत्वमा जनता समाजवादी पार्टी नै गठन गर्नुभयोे । पार्टीबाट अलग भएपछि दुवैजना यसरी एउटै मञ्चमा उभिनुभएको थिएन । पार्टी विभाजनविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट गर्दा अल्पकालीन आदेश जारी भएको छ । अहिले सो मुद्दा पूर्ण इजलासमा गएको छ ।
नेकपा एमालेद्वारा निम्तो अस्वीकार
नेकपा एमालेले नेकपा एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहको निम्तोलाई अस्वीकार गरेको छ । एमालेबाट अलग भएको तीन वर्षपछि महाधिवेशन गर्दा पनि नेकपा एसको महाधिवेशनमा ओलीसहित एमालेका कोही नेता सहभागी नभएर निम्तो नै अस्वीकार गरेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि महाधिवेशनमा आउन एमालेका अध्यक्ष केपी ओलीलाई लगातार १० पटक फोन गर्दा पनि नलागेको बताउनुभएको छ । तीन वर्षको घाउ आलो भएकै कारणले नआएको हुनसक्ने अनुमान गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पिएहरूलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु । तीन वर्षको घाउ आलो भएर नआउनुभएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’ राप्रपालाई पनि बोलाएको भए पनि नआएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच