काठमाडौं । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौँ डान प्राप्त गर्नुभएको छ । दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौँ डानको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।
श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ तारिखमा भएको सेकेण्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्स र जुलाई ११ देखि १४ तारिखसम्म भएको सेकेण्ड क्लास तेक्वान्दो पुम÷डान प्रमोसन एक्जामिनर कोर्स पनि उत्तीर्ण गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले श्रेष्ठलाई तीनै कोर्सको प्रमाणपत्र प्रदान गर्नुभयो ।
श्रेष्ठले भियतनाममा भएको २३औँ एसियाली तेक्वान्दो/पाँचौँ तेक्वान्दो पुम्से च्याम्पियनसिप/चौथो एसियाली पारा खुला तेक्वान्दो, इण्डोनेसियामा भएको १८औँ एसियाली खेलकुद, युकेमा भएको म्यानचेस्टर २०१९ विश्व तेक्वान्दो, जोर्डनमा भएको अम्मान एसियाली तेक्वान्दो, पाकिस्तानमा भएको पाकिस्तान ओपन तेक्वान्दो जी-२ लगायत १५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । १५ प्रतियोगितामध्ये श्रेष्ठले दुई प्रतियोगितामा उत्कृष्ट निर्णायकको अवार्ड जित्नुभएको थियो । उहाँले जोर्डन र पाकिस्तानमा भएको प्रतियोगितामा उत्कृष्ट निर्णायकको अवार्ड जित्नुभएको थियो ।